२०८२ माघ १२ गते सोमवार
काठमाडौँ । सांसदहरुले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठक प्रारम्भ हुनासाथ सभामुखसँग समय मागेर बोल्दै सांसद दिलेन्द्रप्रसाद बडुले दार्चुला जिल्लाको महाकाली नगरपालिका ५ गल्फाइँ गाउँको पारिपट्टी भारत सरकारले तीन महिनादेखि नेपाल सरकारको सहमति र जानकारीबिना नै एकतर्फी ढंगले नेपाली भूमि मिचेर तटबन्ध निर्माण गरिरहेकाले उक्त कार्य तत्काल रोक्न सरकारको ध्यानाकर्षण गराए ।
शुन्य समयमा बोल्दै सांसद अन्जना विसंखेले कोभिड १९ भाइरसले नयाँ रुपमा जन्म लिएको भन्दै स्वास्थ्य मन्त्रालयले कर्मचारीको व्यवस्थापन र जनताको विषयलाई गम्भीरतापूर्वक लिनुपर्नेमा ध्यानाकर्षण गराए ।
सांसद अमनलाल मोदीले कोभिड १९ को महामारीपछि सरकारले देश विदेशमा रोजगार गुमेका मजदुरहरुलाई रोजगारी दिन नसकेको बताए । उनले मल अभाव भएको पनि बताए । प्रधानमन्त्रीले "रअ"को मान्छे कुन विषयमा भेटेको भन्ने जानकारी नगराइएकोमा पनि उनले असन्तुष्टि पोखे । संसद् पुनस्स्थापनापछि संसद्लाई बिजनेस नदिएर सरकारले संसद्लाई गतिहीन बनाएको पनि उनले बताए ।
सांसद आशाकुमारी विकले बझाङको दुर्गम साहिपाल गाउँपालिकाका जनप्रतिनिधि प्रत्येक वर्ष चामल माग्न सिंहदरबार धाइरहेका भए पनि समस्या समाधान नभएको बताइन् । त्यहाँको खाद्य समस्या समाधानका लागि स्थायी खाद्य डिपो सञ्चालन गर्नु जरुरी रहेको उनको भनाइ छ ।
सांसद इन्दुकुमारी शर्माले महोत्तरीमा फागुन १० गते ६५ वर्षीय मुसाफिर झा र उनकी पत्नी गीतादेवी झाको आफ्नै निवासमा सुतिरहेको अवस्थामा बेड, विछ्यौनासहित रहस्यमय तरिकाले अपहरण गरी बेपत्ता पारिएको घटनाको तत्काल दोषी पत्ता लगाइ कानुनी कारबाही गर्न माग गरिन् । सांसद उमा रेग्मीले महिलाहरुको हत्या, हिंसा र बलात्कारको घटनाको बिगबिगी रहेको भए पनि यस विषय सरकारको प्राथमिकतामा किन परेको भनि प्रश्न गरिन् ।
सांसद एकवाल मियाँले बारा जिल्लाबाट बिरगंजसम्म पुग्ने हाइटेन्शन लाइनको बीचमा २५र३० वटा गाउँ परेकाले जनताहरु त्रासमा रहेकोले हाइटेन्सन लाइनको व्यवस्थापनका लागि सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराए ।
सांसद कृष्णभक्त पोखरेलले सरकारले दुर्लभ वन्यजनतु एकसिंगे गैंडाको गणना सुरु गरेकोमा स्वागत गरे । घाँसे मैदान, बासस्थान, ताल तलैयाको अभाव, चोरी, सिकारी आदिका कारण संकटमा पर्दै गएका प्रकृतिका अमूल्य निधिहरुको रक्षा गर्नु सबैको दायित्व भन्दै उनले एकसिंगे गैंडाको संरक्षणका लागि रणनीतिक योजना बनाइ सरकारले कार्यान्वयनमा ल्याओस् भन्ने सुझाव दिए ।
सांसद खगराज अधिकारीले सरकारलाई दिएको समर्थन फिर्ता लिन डराउने, अविश्वासको प्रस्ताव ल्याउन फेल हुन्छ भनेर डराउने अनि प्रधानमन्त्रीलाई नैतिकता सिकाउने भनेर प्रश्न गरे ।
सांसद गजेन्द्रबहादुर महतले कर्णालीमा अझै पनि बिजुली बत्ति नपुगेर अँध्यारै रहेको भए पनि देशलाई अल्पविकसितबाट विकसितमा पुगेको भनिएकोमा असन्तुष्टि व्यक्त गरे ।
सांसद गंगा चौधरी सत्गौवाले सरकारले गरेको कामको आफ्नै पार्टीले उचित प्रचार नगरेको बताइन् ।
सांसद घनश्याम खतिवडाले सरकारले अगाडि सारेका कामहरु ठेकेदारको लापरबाहीका कारण सम्पन्न हुन नसकेको तर्फ ध्यानाकर्षण गराए । मोरङमा पनि विकास निर्माणको काममा ठेक्का लागेको भए पनि ठेकेदारको लापरबाहीका कारण काम नभएको उनले बताए । प्रश्न छ ।
सांसद जीवनराम श्रेष्ठले काठमाडौं जिल्लामा सडक विस्तारको नाममा डोजर आतंक भएकाले तत्काल रोक्न माग गरे ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij