२०८२ माघ १२ गते सोमवार
काठमाडौं । नेपाली कांग्रेसको वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूनिकट शीर्ष नेताहरुलाई बोहोराटार बोलाएका छन्। आफूपक्षीय नेताको बैठकका लागि उनले बोहोराटारमा बोलाएका हुन्।
नेता पौडेलले आफूनिकट नेताहरुसँग दिउँसो १ बजेदेखि छलफल गरिरहेका छन्। बैठकमा पार्टी महाधिवेशनको गतिविधि र वर्तमान राजनीतिक परिस्थितिबारे छलफल हुने एकजना नेता अर्जुननरसिंह केसीले बताएका छन्।
पार्टी सभापति शेरबहादुर देउवाले ओली सरकारको विकल्प दिन नमानेपछि पौडेल समूह असन्तुष्ट छ। आजको बैठकले पार्टीको केन्द्रीय समितिको बैठक अविलम्ब बोलाउन देउवाको ध्यानाकर्षण गराउने बुझिएको छ।
शनिबार मात्रै पौडेलले प्रधानमन्त्री ओलीको विकल्प खोज्नुपर्ने बताएका थिए। उनले कांग्रेसले सरकारको नेतृत्वमा अरुलाई अघि बढाएर भए पनि ओलीको विकल्प खोज्नुपर्ने बताएका थिए।
‘अहिलेको संसदमा हाम्रो पार्टीले नेतृत्व लिने बेला भएको छ । संसदमा रहेका पार्टीमध्ये को–कोसँग मिलेर वा अन्य कसैलाई अगाडि बढाएर हुन्छ ओलीलाई प्रधानमन्त्रीबाट हटाउनु पर्छ’, उनले भनेका थिए, ‘ओलीले यत्रो ठूलो उत्पात गरे । उधुम गरे । तिनको विकल्पमा नयाँ सशक्त विकल्प प्रस्तुत गर्नका लागि संयोजकको भूमिका कांग्रेसले खेल्नुपर्छ ।’
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij