२०८२ भाद्र २ गते सोमवार
काठमाडौँ । पछिल्लो समय स्वदेशमा रोजगारी लगायतको अवसर र वातावरण नहुँदा विदेशिने नेपालीको संख्या बढ्दो क्रममा छ । कोही रोजगारी त कोही अध्ययनका नाममा नेपाल छोडेर जानेको संख्या बढ्दा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दैनिक हजारौको भिड देखिने गरेको छ । यसरी विदेश जानेहरुको अस्थायी र स्थायी बसोबास गरि दुई उदेश्य रहने गरेको छ ।
अध्यागमन विभागको प्रतिवेदन हेर्ने हो भने पछिल्लो चार बर्षमा करिब डेढ लाख जना नेपालीले देश नै त्यागेर विदेशिएका छन् । चार वर्षमा स्थायी रुपमा एक लाख ४७ हजार नेपालीले देश छाडेका हुन् । वर्षेनी स्थायी रुपमा देश छोड्नेको संख्या बढ्दै गएको तथ्यांकमा उल्लेख छ ।
अध्यागमन विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सन् २०२३ मा ७० हजार ९१५ नेपालीले स्थायी रुपमा देश छाडेका छन् । तथ्याङ्क अनुसार सन् २०२० मा ५ हजार १४४ जना नेपालीले स्थायी बसोबासका लागि देश छाडेका थिए । सन् २०२१ मा एक हजार ५४१, सन् २०२२ मा ६९ हजार ३५१ र सन् २०२३ मा ७० हजार ९१५ नेपालीले स्थायी रुपमा देश छाडेका छन् ।
विभागको अनुसार कोरोनाको समयमा देश छाड्नेको संख्या घटेको देखिएपनि सन् २०२२ र सन् २०२३ मा भने ७० हजार भन्दा धेरैले मुलुक छाडेको देखिएको छ । चार बर्षको अवभीमा करिब डेढ लाखले नेपाली नागरिकता त्यागेरै विदेश पलायन भएको तथ्यांकले बताउँछ । स्थायी बसोबासका लागि अमेरिका, बेलायत, जापान, क्यानडा, अष्ट्रेलिया र युरोपलगायतका धेरै मुलुकमा नेपालीहरू जाने गरेका छन् ।
अन्तर्राष्ट्रिय श्रम संगठनले नेपालीहरू किन देश छाड्न आतुर छन् भनेर अध्ययन प्रतिवेदन सार्वजनिक गरेको थियो । राजनीतिक अस्थिरता, राम्रो जीवनशैली तथा बस्ने वातावरण, काम गर्ने वातावरण, सहज रुपमा काम पाउने, राम्रो तलब, स्थायी बसोबासको कार्ड पाउन सहज, परिवार-आफन्त विदेशमा, विदेशमा रहेका साथी र चिनजानहरू कारण रहेको प्रतिवेदनमा उल्लेख छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij