२०८२ माघ १२ गते सोमवार
काठमाडौं । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई सर्वोच्च अदालतले बदर गरिदिएपछि सत्ताको केन्द्रमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस थियो।
नेकपा नाम विवादसम्बन्धी फागुन २३ गतेको सर्वोच्चको फैसलापछि राजनीतिक परिदृष्य फेरिएको छ। सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्रलाई साविककै अस्तित्वमा फर्काइ दिएपछि सत्ताको निर्णायक तहमा अहिले संसदको चौथौ दल जनता समाजवादी पार्टी (जसपा) आइपुगेको छ।
तर, सत्ता गठबन्धनमा को सँग सहकार्य गर्ने विषयमा अनिर्णित बनेको जसपाभित्र कलह बढ्दै गएको छ।
पार्टीको सांगठनीक विषयकासाथै धुमलिएको राजनीतिक परिस्थितिलाई निकासदिन सत्ता सहकार्यबारे टुंगोमा पुग्ने उद्देश्यका साथ बिहीबार जसपाको कार्यकारिणी समितिको बैठक बोलाइएको थियो।
साढे ११ बजे बालकुमारीस्थित पार्टी कार्यालयमा बोलाइएको बैठकमा भागलिन कतिपय कार्यकारिणी सदस्य पुगिसकेका थिए भने कतिपय पुग्ने तरखरमा थिए। बिहीबारको बैठकले अहिलेको राजनीतिक जटिलता अन्त्य गर्न पार्टी पक्कै ठोस निष्कर्षमा पुग्ला भन्ने अधिकांश कार्यकारिणी सदस्यहरूलाई लागेको थियो।
तर, ‘तयारी नपुगेको’ भन्दै अन्तिम समयमा बैठक स्थगित भएको सूचना कार्यकारिणी सदस्यहरूलाई पठाइयो। पार्टी कार्यालय पुगिसकेकाले त्यहीँ सूचना पाए। त्यहाँ नपुगेका सदस्यहरूलाई फोनबाट जानकारी गराइयो। झन्डै एक साताअघि केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाउने निर्णय गरेको जसपालाई वास्तवमै तयारी पुगेको थिएन र ?
कार्यकारिणी समिति बैठक बस्नुअघि जसपाको पदाधिकारी बैठक बसेको थियो। संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई, अध्यक्षद्वय महन्थ ठाकुर तथा उपेन्द्र यादव, वरिष्ठ नेता राजेन्द्र महतो र अशोक राइलाई जसपाले पदाधिकारी तोकेको छ।
पदाधिकारी बैठकमा अध्यक्ष यादवले केही लिखित दस्तावेज पेश गरेर छलफलको प्रस्ताव गरे। यादवको प्रस्तावमा पार्टी समायोजनका साथै वर्तमान राजनीतिक परिस्थिति खासगरेर सत्ता सहकार्यका लागि प्रधानमन्त्री ओलीसँग सहकार्य नगर्नेतर्फ लक्षित थियो।
लिखित दस्तावेजमाथि छलफल गर्ने अध्यक्ष यादवको प्रस्ताव वरिष्ठ नेता महतोलाई मन परेन। र, विरोध गरे। अध्यक्ष यादव र वरिष्ठ नेता महतोबीच पदाधिकारी बैठकमै चर्काचर्की भयो।
‘अहिले यस्तो प्रस्तावमाथि छलफल गर्नुपर्दैन,’ महतोको भनाइ उद्धृत गर्दै जसपा स्रोतले भन्यो, ‘यही विषयलाई लिएर दुवै नेताबीच चर्काचर्की भयो। र, अन्तिम समयमा आएर बैठक नै स्थगित गर्ने निर्णय भयो।’
सरकार गठनका लागि निर्णायक भएयता जसपाभित्र दुई धार प्रष्ट रूपमा प्रकट हुँदै आएको छ। जसपाभित्रका पूर्वराजपाका ठाकुर, महतोलगायतका नेताहरू प्रधानमन्त्री ओलीसँगै सहकार्य गरेर जानुपर्ने पक्षमा उभिएका छन्। तर, संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई, अध्यक्ष यादवलगायतका नेताहरू ठीक विपरित ध्रुवमा छन्।
सत्ता सहकार्यका लागि जसपाले रेशम चौधरीको रिहाइ, संविधान संशोधन, कार्यकर्तामाथि लगाइएका मुद्दा फिर्ता र लालआयोगको प्रतिवेदन सार्वजनिकलगायतका शर्त अगाडि सारेको छ। यी मागहरू ‘चेक’ मा होइन ‘नगद’ मा सम्बोधन गरिनुपर्ने उसले भनेको छ। विगतमा धोका पाइसकेकोले आफूहरूले उठाएको माग तत्काल पूरा हुनुपर्ने जसपाको भनाइ छ।
र, अहिले हाताहात मागको सम्बोधन सरकारको नेतृत्व गरिरहेका ओलीले मात्रै गर्नसक्ने भएकोले ठाकुर र महतोको झुकाव त्यसतर्फ देखिएको छ। यद्यपि, ओलीलाई सहयोग वा समर्थन गर्ने प्रस्ताव ठाकुर र महतोले पार्टीभित्र आधिकारिक रूपले लगेका छैनन्।
यता, भट्टराई र यादव ओलीसँग कुनै हालतमा सहकार्य नगर्ने आफ्नो अडान पटक–पटक दोहर्याउँदै आइरहेका छन्। प्रतिनिधिसभा विघटन गर्ने ओलीलाई प्रतिगमनकारी भनेर पार्टीले निर्णय गरिसकेकोले सहकार्य गर्न नहुने पक्षमा भट्टराई र यादव छन्।
ओलीसँग लगनगाँठो कसेर जसपा सतीजान कुनैपनि हालतमा तयार नरहेको अध्यक्ष यादव बताउँछन्।
‘पार्टीले निर्णय गरेको छ कि, ओलीले असंवैधानिक काम गरे, आलोकतान्त्रिक काम गरे, प्रतिगमन गरे। जब ओली प्रतिगमनकारी हुन् र उनले संघीय गणतन्त्रलाई समाप्त पार्नकै लागि संसद भंग गरेका हुन् भने ओलीसँगको सहकार्यबाट के प्राप्त हुन्छ ?’, जसपाभित्र दुई धार देखिएको प्रश्नको जवाफमा यादवले भने।
ओलीलाई सहयोग गर्नु वा सहकार्य गर्नु मधेश आन्दोलनलाई धोका दिनुबाहेक अरू केही नहुने उनको भनाइ छ।
यादव ओलीसँग सहकार्यको विपक्षमै देखिएका बेला जसपा नेता लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लसम्मलित कार्यदल सरकारी कार्यदलसँग निरन्तर संवाद गरिरहेको छ।
तर, कर्ण र शुक्लसहितको कार्यदलबारे पार्टीलाई कुनै जानकारी नरहेको अध्यक्ष यादवको भनाइ छ।
ओलीसँगको सहकार्यविरुद्ध उभिएका जसपा अध्यक्ष यादवका लागि अहिले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ फेभरेट बनेका छन्।
ओलीलाई प्रतिगमनकारी भन्दै आइरहेका यादव लोकतान्त्रिक र परिवर्तनकारी शक्तिसँग मिलेर निकास दिनुपर्ने बताउँछन्।
लोकतान्त्रिक र परिवर्तनकारी शक्तिसँगको सहकार्य गर्नुलाई ओलीइतर दल कांग्रेस र माओवादी केन्द्रतर्फ उनको संकेत छ।
पूर्वराजपाको छुट्टै बैठक
सत्ता सहकार्यका लागि जसपा नेतृत्वबीच टकराव भइरहेकै बेला काठमाडौंमा पूर्वराजपाको छुट्टै भेला हुनथालेको छ। केन्द्रीय कार्यकारिणी समिति बैठक बोलाइएको अघिल्लो दिन बुधबार साँझ नयाँ बानेश्वरमा नेतृत्वकै उपस्थितिमा पूर्वराजपाको भेला भएको थियो।
यसैगरी, कार्यकारिणी समिति बैठक स्थगित भएपछि बिहीबार साँझपनि नयाँ बानेश्वरस्थित एक होटलमा पूर्वराजपाको भेला भएको छ।
अध्यक्ष ठाकुरले घुमाउरो तरिकाले प्रधानमन्त्री ओलीसँग सहकार्य गरे फाइदा हुनसक्ने संकेत गरेका छन्।
‘हामीले नगदमा माग सम्बोधन गर्न भनिरहेका छौं। तत्काल हाम्रो माग सरकारलेमात्र सम्बोधन गर्न सक्छ। अरूसँग गर्दा फेरि उधारो नै हुन्छ’, ठाकुरको भनाइ उद्धृत गर्दै भेलाका एक सहभागीले भने, ‘उहाँले ओलीकै नाम त लिनु भएन तर, संकेत उतै थियो।’
नेतृत्व तह नै ओली–प्रचण्डको ‘भुलभुलैया’ मा रुमलिन थालेपछि जसपा कतै फुटको संघारतर्फ अघि बढेको हो कि भनेर कार्यकर्ताहरू सशंकित बन्न थालेका छन्।
ओली र प्रचण्डतर्फ जाने भनेर नेतृत्वमा देखिएको टकरावका कारण पार्टी नै विभाजन हुने हो कि भन्ने शंका बढेर गएको जसपाका एक युवा नेताले बताए।
तर, जसपाका केन्द्रीय कार्यकारिणी सदस्य एवं प्रदेश २ का प्रदेशसभा सदस्य परमेश्वर साह पार्टीभित्र अन्तरसंघर्ष चलिरहेपनि जसपा कुनै हालतमा नफुट्ने दाबी गर्छन्।
‘नेतृत्व तहमा मतमतान्तर देखिएकै हो। तर, विभाजनको कुनै सम्भावना छैन,’ साहले भने, ‘पूर्वराजपाका कारण जसपा कुनै हालतमा फुट्दैन्।’
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij