२०८२ कार्तिक २१ गते शुक्रवार
काठमाडौं । नबिल बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा तीन अर्ब २० करोड ३० लाख रुपियाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत बर्षको सोही अवधिको भन्दा ६.२८ प्रतिशत कम हो ।
बैंकले आइतबार चालु आर्थिक बर्षको पहिलो छ महिनाको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गर्दै आफ्नो स्थिति सार्वजनिक गरेको हो । बैंकले गत आर्थिक वर्षको पहिलो छ महिनामा तीन अर्ब ४१ करोड रुपियाँ खुद नाफा कमाएको थियो ।
बैंकको खुद ब्याज आम्दानी बढे पनि इम्पेरमेन्ट चार्ज बढेका कारण खुद नाफा घटेको हो । नविल बैंकको खुद ब्याज आम्दानी ५.२४ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी १५।७२ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा ५.७५ प्रतिशत बढेको छ । साथै, सञ्चालन मुनाफा ६.१८ प्रतिशत घटेको छ ।
छ महिनामा बैंकको निष्क्रिय कर्जा १.४६ प्रतिशतबाट घटेर १.२० प्रतिशतमा सीमित भएको छ । तर इम्पेरमेन्ट चार्ज भने एक अर्ब ८८ करोडको बढेर एक अर्ब ९७ करोड पुगेको छ । नविल बैंकको गएको पुस मसान्तसम्मको वितरणयोग्य मुनाफा एक अर्ब ८ करोड ७८ लाख रुपियाँ रहको छ ।
बैंकको प्रतिशेयर आम्दानी १ रुपियाँ ५९ पैसा घटेर २३ रुपियाँ ६८ पैसामा झरेको छ। त्यसैगरी, पुस मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात २०.८३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २०४ रुपियाँ ४४ पैसा रहेको छ।
कुल २७ अर्ब ५ करोड ६९ लाख रुपियाँ चुक्ता पूँजी रहेको नविलको जगेडा कोषमा २८ अर्ब २५ करोड ७७ लाख रुपियाँ छ भने चार खर्ब २८ अर्ब ८३ करोड रुपियाँ निक्षेप संकलन गरी तीन खर्ब ६२ अर्ब ८७ करोड रुपियाँ कर्जा लगानी गरेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij