२०८२ कार्तिक २१ गते शुक्रवार
एनआईसी एशिया बैंक लिमिटेड (NICA) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको खुद नाफा घटेको छ।
एनआईसी एसिया बैंकको नाफामा ४१ प्रतिशतको गिरावट आएको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार साउनदेखि पुस मसान्तसम्म खुद नाफा एक अर्ब ९० करोड ३८ लाख रुपैयाँ छ ।
गत आवको सोही अवधिमा बैंकले ३ अर्ब २७ करोड ३३ लाख ३० हजार रुपैयाँ नाफा कमाएको थियो। बैंकको वितरणयोग्य नाफा ५९ करोड २२ लाख रुपैयाँ ऋणात्मक रहको छ।
यो अवधिमा बैंकको खुद ब्याज आम्दानी १०.१३ प्रतिशतले घटेर ५ अर्ब ५४ करोड १४ लाख १७ हजार रुपैयाँ रहेको छ। यस्तै सञ्चालन मुनाफा २४.१३ प्रतिशतले घटेर ३ अर्ब ५६ करोड १० लाख ४० हजार रुपैयाँ रहेको छ।
१४ अर्ब ९१ करोड ७५ लाख ६६ हजार रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा १५ अर्ब ६७ करोड ८३ लाख रुपैयाँ रहेको छ। बैंकले ३ खर्ब ८१ अर्ब २६ करोड ३२ लाख रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ९३ अर्ब ८० करोड ८४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।
बैंकको प्रतिसेयर आम्दानी २५ रुपैयाँ ५२ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ २०५ रुपैयाँ १० पैसा रहेको छ । बैंकको निष्क्रिय कर्जा बढेको छ। गत आवको दोस्रो त्रैमाससम्म बैंकको निष्क्रिय कर्जा ०.६१ प्रतिशत रहेकोमा हाल बढेर १.१९ प्रतिशत पुगेको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij