Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

आक्रामक ओलीले फागुनमा मात्र के-के गरे ? ओलीका कामको यस्तो बन्यो कुण्डली 

आक्रामक ओलीले फागुनमा मात्र के-के गरे ? ओलीका कामको यस्तो बन्यो कुण्डली 


  • 5.2K
    Shares

    आक्रामक ओलीले फागुनमा मात्र के-के गरे ? ओलीका कामको यस्तो बन्यो कुण्डली 

    काठमाडौं । केही महिना यता देखि प्रधानमन्त्री केपी ओलीको सक्रियता पहिलेको तुलनामा ह्वातै बढेको छ। एकै दिन आधा दर्जन कार्यक्रम भ्याउने गरेका ओली पछिल्ला दिनका हिरो बनेका छन्। 

    हामी काम तीब्रताका साथ अघि बढाइरहेका छौं । काम भएका भयै छन् । उद्घाटन भएका भयै छन् । काम सम्पन्न गरेका गर्‍यै छौं । शिलान्यास गरेका गर्‍यै छौं । ठूल्ठूला आयोजना बन्दै छन् । सुरुङमार्ग बन्दैछन् । डाडाँको माथिमाथि आवश्यकताका बाटा बन्ने छन् । हाइवे डाँडा छेडेर सीधा बाटो बनाउछौं । राजमार्ग चौडा गर्दै छौं । पूर्वपश्चिम रेल चल्दैछ । उत्तर दक्षिण रेलमार्गको सर्भे भइरा’छ ।

    ठूल्ठूला पुल बनेका छन् । ठूल्ठूला सडक बनेका छन् । हुलाकी राजमार्ग लगभग तयार हुन लागेको छ । पुष्पलाल राजमार्ग, मध्यपहाडी राजमार्गको प्रगति उल्लेखनीय छ । मदनभण्डारी राजमार्ग तीव्र प्रगतिमा छ । सुनकोशी–मरिन डाइभर्सन शिलान्यास गर्‍यौं । सुरुङ खन्ने काम प्रारम्भ भएको छ । केही समयपछि सुनकोशी–कमला डाइभर्सन शिलान्यास गर्छौं ।

    यस्ता ठूल्ठूला आयोजना अगाडि बढाइरहेका छौं । हामीलाई काममा ध्यान छ । अर्काथरी यो सरकारले अचम्मै गर्न लाग्यो भनेर आत्तिइसके । काठमाडौंमा पानी झारेकै छ । राजमार्ग चौडा गरेको छ । सुरुङ पनि खनेको छ । बाटा सोझा गरेको छ । फराकिला गरेको छ । रेल कुदाउँछु भनेको छ । रेल किनेर ल्याएकै छ । लिक पनि बनाएकै छ । रोपवे र केवलकार बनाएको बनायै छ । झोलुंगे पुल बनाएको बनाएकै छ । तुइन विस्थापित गरेको गर्‍यै छ । विद्यालय बनाएको बनाएकै छ ।
    एकैदिन ३ सय ९ अस्पताल शिलान्यास गरिसक्यौं ।

    शनिबार मेलम्चीको पानी वागमतीमा खसालिसकेपछि ओलीले गरेको सम्बोधनको एक अंश हो यो । ओलीकै भनाइलाई आधार मान्दा अहिले दिनैपिच्छे ठूल्ठूला काम सम्पन्न भएका छन् । शिलान्यास र उद्घाटन धमाधम हुँदैछन् । फागुन १ देखि २२ गतेसम्मकै कार्यसूची हेर्दा ओली उद्घाटन र शिलान्यासमा व्यस्त देखिन्छन् ।

    “फागुन १० गते महाकालीको दैजीमा थिएँ । त्यहाँ औद्योगिक क्षेत्रको शिलान्यास गर्दै थिएँ,” ओलीले भने, “त्यसयता लगातार शिलान्यास चले । १६ गतेसम्म शिलान्यासको कार्यक्रम सिध्याइयो ।”

    मोतिपुर औद्योगिक क्षेत्रको शिलान्यास गर्न प्रधानमन्त्रीको सट्टा अर्थमन्त्री विष्णु पौडेल र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट पुगेका थिए । त्यहाँ उच्च सुरक्षाका बीच शिलान्यास भयो । पौडेल र भट्टलाई स्थानीयले अवरोध गरेपछि त्यसप्रति लक्षित गर्दै ओली भन्छन्, “विकास विरोधीहरु विभिन्न बहानामा अनेक प्रकारका व्यवधान खडा गर्न पुगे । तैपनि शिलान्यास सम्पन्न भयो ।”

    ओलीकै भाषामा भन्नुपर्दा १६ गते एकैदिन झापामा ५ वटा ठूला सडक पूल उद्घाटन भएको हो, ती पनि निर्माण सम्पन्न भइसकेर । ३१ वटा ठूला सडक पूल शिलान्यास भए, त्यसैदिन ।

    ७ दिनमा ७ ठूला औद्योगिक क्षेत्रको शिलान्यास भयो । दुर्गम ठाउँमा पम्पिङ विधिबाट खानेपानी पुर्‍याइएको छ ।

    व्याप्त राजनीतिक तरलताका माझ प्रधानमन्त्री ओली उद्घाटन र शिलान्यास गर्दै हिँडिरहेका छन् । अनि आफैं भन्दैछन्, “यो सरकारले त उधुमै गरिसक्यो । विकास विरोधीहरु आत्तिइसके ।”

    आफूले साँच्चै काम गर्न सक्ने र आफ्नै दलका मान्छेले त्यसो गर्न नदिएको प्रमाणित गर्न खोजेको ओलीको भनाइले संकेत गर्ने जानकारको दाबी छ । विकास र निर्माणलाई राजनीतिक घटनाक्रममा जोडेर प्रधानमन्त्री स्वघोषित ‘शो अफ’ गरेको तर्क उनीहरुले दिएका छन् ।

    ओलीले आफ्नै पार्टीभित्रको घेराबन्दीबाट मुक्त हुँदा आफूले ‘अचम्मै’ गरेकोसम्म भन्न भ्याएका छन् । राजनीति समस्याको भूमरीमा घुमिरहँदा प्रधानमन्त्री ओलीले ‘तिमीहरु नहुँदा म यसो पो गर्न सक्छु’ भन्ने देखाउने खोजेको पाइन्छ । विश्लेषक भन्छन्, “भोलि अर्को नेतृत्वले सरकार हाँक्दा र प्रतिपक्षमा बस्दा आफूले शिलान्यास गरेका फलाना आयोजना कहाँ पुग्यो भनेर प्रश्न उठाउन पनि ओलीले यसो गरेका हुन् ।”

    “मुख्य काम यसै सरकारको पालामा हुँदैछन्,” मेलम्चीको पानी काठमाडौंमा औपचारिक रुपमा खसाल्दै प्रधानमन्त्री केपी ओलीले भने, “आफ्नै पार्टीभित्र काम गर्न दिएनन् भन्नुपर्थ्यो । अब त प्रमाणित भयो होला नि यो सरकारले काम गर्न सक्ने रहेछ भनेर ।”

    उद्घाटन र शिलान्यास केन्द्रित ओलीको फागुन महिना

    क) शिलान्यास

    फागुन २० : सुनकोशी–मरिन डाइभर्सन शिलान्यास

    फागुन १७ : पोखरामा गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान पोखराको भवन शिलान्यास

    फागुन १६ : झापाको विभिन्न स्थानमा निर्माण हुन लागेका ३१ वटा पुलको शिलान्यास

    फागुन १६ : झापामा चीन–नेपाल मैत्री औद्योगिक पार्क शिलान्यास

    फागुन १० : कन्चनपुरमा निर्माण हुन लागेको दैजी–छेला औद्योगिक क्षेत्रको शिलान्यास

    फागुन १ : लुम्बिनी केबुलकारको शिलान्यास

    फागुन २२ : रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रको शिलान्यास ९अर्थमन्त्री विष्णु पौडेल र उद्योग मन्त्री लेखराज भट्टबाट०

    ख) उद्घाटन :

    फागुन २२ : मेलम्चीको पानीलाई सुरुङमार्ग हुँदै काठमाडौं झार्ने कामको शुभारम्भ 

    फागुन २२ : किसान सूचीकरणको उद्घाटन

    फागुन १८ : झापाको बिर्तामोडमा बी एन्ड सी क्यान्सर अस्पतालको उद्घाटन

    फागुन १८ : झापाको विर्तामोडको हर्चनमा निर्मित ३७ घर संख्याको आवास उद्घाटन

    फागुन १६ : झापामा निर्माण सम्पन्न भएका ४ वटा पुलको उद्घाटन

    फागुन १२ : माटोको डिजिटल नक्सा सार्वजनिक

    ग) निरीक्षण :

    फागुन ९ : नागढुंगा सुरुङगमार्गको निरीक्षण

    माघ १९ : सिंहदरबारको पुनःनिर्माण र धरहरा निर्माणको निरीक्षण

    प्रकाशित मिति :फाल्गुण २४ २०७७ सोमवार - १४:४३:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij