२०८२ भाद्र ५ गते बिहिवार
सुर्खेत । कर्णालीमा साढे दुई हजार हेक्टर क्षेत्रफलमा फलफूल खेतीलाई विस्तार गर्न थालिएको छ। यसका लागि प्रदेशका सुर्खेत बाहेकका नौ जिल्ला छनोट गरिएको छ। प्रदेशका नौ जिल्लामा रहेका २० वटा स्थानीय तहमा स्याउ, सुन्तला, ओखरजस्ता फलफूल खेतीलाई २ हजार ६ सय हेक्टर क्षेत्रफलमा विस्तार गर्न थालिएको हो।
किसानको आम्दानी वृद्धि गर्न नौवटा जिल्लामा फलफूल खेती विस्तार गर्न लागिएको हो। यो कार्यक्रमबाट प्रदेशमा फलफूलको उत्पादन बढ्ने र यसले किसानको जीवनस्तरमा पनि सुधार आउने अपेक्षा गरिएको छ। पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना कार्यान्वयन एकाइ सुर्खेतले कर्णालीका २० वटा पालिकामा यो कार्यक्रम सञ्चालन हुने जनाएको छ।
हाल कृषि विकास निर्देशनालयमा आयोजना कार्यान्वयन एकाइ स्थापना गरिएको छ। आयोजनाका व्यवस्थापक एवं कृषि विकास निर्देशक चित्रबहादुर रोकायाले मुख्य गरी स्याउ, सुन्तला, ओखर, पिकानट्स र बदाम खेती विस्तार गरिने बताए। उनले भने, ‘कर्णालीमा फलफूलको सम्भावना धेरै छ, अहिले पनि किसानले फलफूलबाटै जीविकोपार्जन गर्दै आएका छन्। तर, अब हामीले यसलाई थप विस्तार र व्यावसायिक बनाउने छौं, प्रदेशका नौवटा जिल्लामा अब फलफूल खेतीलाई विस्तार गर्दैछौं।’
अब प्रदेशमा स्याउ १ हजार ४ सय ५० हेक्टर, सुन्तला ३ सय ५० हेक्टर, ओखर ६ सय हेक्टर, पिकानट्स एक सय हेक्टर र बदाम खेतीलाई एक सय हेक्टर गरी प्रदेशभर थप दुई हजार ६ सय हेक्टर क्षेत्रफलमा फलफूल खेती विस्तार गरिनेछ।
उनका अनुसार साविक कर्णालीका जुम्ला, डोल्पा, हुम्ला, मुगु र कालिकोटमा स्याउ र ओखर खेती विस्तार हुनेछ। यस्तै दैलेख, जाजरकोट, सल्यान र रुकुमपश्चिममा भने सुन्तला, बदाम र पिकानट्स खेती विस्तार हुनेछ। काष्ठफल र फलफूलको क्षेत्रमा मात्र केन्द्रीय परियोजना भएकाले कर्णालीमा यस खेतीको विस्तार, उत्पादन र बजारीकरण बढाउने लक्ष्य लिइएको छ। यस खेतीका लागि निजी, सहकारी र ठूला कम्पनीहरूले सहकार्य गर्नुपर्नेछ। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij