२०८२ माघ ७ गते बुधवार
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारका विरुद्ध र सुशासनका पक्षमा श्रम संस्कृतिको विकास गर्न आह्वान गरेका छन्। समाजवादी संस्कृति निर्माणको कार्यभारलाई केन्द्रमा राख्दै सुशासनका पक्षमा श्रम संस्कृतिको विकास गर्न उनले आह्वान गरेका हुन्।
सोमबार प्रधानमन्त्रीनिवास बालुवाटारमा आयोजित पुष्पलाल राष्ट्रिय पुरस्कार २०८० समर्पण समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो धारणा राखेका हुन्। जनताको त्याग र बलिदानबाट निर्मित संविधानले समाजवादउन्मुख राज्यनिर्माणको संकल्प गरिसकेकाले सिर्जनाहरूसमेत समाजवादको वैचारिक एवं सांस्कृतिक आधार निर्माणमा केन्द्रित रहनुपर्नेमा उनको जोड थियो।
‘जनताको निकै ठूलो त्याग र बलिदानबाट निर्मित संविधानले समाजवाद उन्मुख राज्य निर्माणको संकल्प गरिसकेका कारण सिर्जनाहरू समेत समाजवादको वैचारिक एवं सांस्कृतिक आधार निर्माणमा केन्द्रित रहनु पर्नेमा सायद कसैको विमति नहोला ।
समाजवादी संस्कृति निर्माणको कार्यभारलाई केन्द्रमा राख्दै भ्रष्टाचारका विरुद्ध र सुशासनका पक्षमा श्रम संस्कृतिको विकास गर्नसमेत यहाँहरूबाट महत्वपूर्ण योगदान हुनेछ,’ उनले भने।
प्रधानमन्त्रीले पुष्पलालले नेपालको राजनीतिक आन्दोलन मात्र नभई सिंगो देशको आन्दोलनमा समेत विशिष्ट योगदान गरेका उल्लेख गरे।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij