२०८२ भाद्र ३ गते मंगलवार
प्रहरी हुँ भनेर ठगेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले एक जनालाई पक्राउ गरेको एसपी सिताराम रिजालले जानकारी दिए।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक जुगल गाउँपालिका-४ बस्ने २३ वर्षीय जीवन श्रेष्ठ छन्। उनले आफूलाई प्रहरीको परिचय दिएर वैदेशिक रोजगारको लागि विदेश जाने सिलसिलामा ठगीमा परेकालाई नै ठगेको आरोप छ।
उनले पीडितलाई ठग्ने व्यक्तिलाई पक्राउ गर्छु भनेर विश्वासमा लिएको प्रहरीले जनाएको छ।
एसपी रिजालका अनुसार उनले पक्राउ गर्नुपर्ने व्यक्ति सिराहमा रहेको र स्याटलाइटबाट खोज्नुपर्छ भनेर पीडितलाई फकाएका थिए । स्याटलाइट खरिद गर्न साढे ११ हजार लाग्छ भनेर गौशालामा भेटेर रकम पनि लिएका थिए।
यस्तै गाडी पनि बिग्रिएको भन्दै थप पाँच हजार रुपैयाँ लिएको एसपी रिजालले बताए। पैसा लिएर पनि काम नगरेपछि पीडितले उनीसँग रकम फिर्ता मागेका थिए।
तर उनी फरार भएपछि पीडित प्रहरी परिसरमा पुगेका थिए। ठगी गरेको खुलेपछि परिसरले श्रेष्ठलाई पक्राउ गरी ठगी सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ।
थप अनुसन्धानको लागि काठमाडौं जिल्ला अदालतबाट पाँच दिन हिरासतमा राख्न अनुमति लिएको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij