२०८२ आश्विन २७ गते सोमवार
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सार्वजनिक स्थलमा धुम्रपान तथा सूर्तिजन्य पदार्थ सेवन नगर्न फेरि अनुरोध गरेको छ।
आज एक सूचना जारी गर्दै सहायक प्रमुख जिल्ला अधिकारी खड्ग बहादुर श्रेष्ठले सार्वजनिकस्थलमा धुम्रपान र सूर्तिजन्य पदार्थ सेवन गरेको पाइएमा कानुन बमोजिम कारवाही गर्ने बताएका छन्।
प्रशासनले स्वास्थ्य संस्था, बाल कल्याण गृह, शिशु स्याहार केन्द्र, वृद्धाश्रम, अनाथलाय र नेपाल सरकारले तोकेको सार्वजनिक स्थलबाट कम्तीमा एक सय मिटर भित्रको पसलबाट सूर्तिजन्य पदार्थ बिक्री वितरण नगर्न नगराउन पनि भनेको छ।
पार्क, सरकारी कार्यालय,शिक्षण संस्था, सार्वजनिक सवारीसाधन, विमानस्थल, सार्वजनिक शौचालय, चलचित्रघर, रंगशाला, धार्मिकस्थल, प्रतिक्षालय लगायतका सार्वजनिक स्थालमा धुम्रपान तथा सूर्तिजन्य पदार्थ सेवन नगर्न पनि भनिएको छ।
सूर्तिजन्य पदार्थ (नियन्त्रण र नियमन) ऐन आएको १३ वर्ष भइसके पनि यो कार्यान्वयनमा आएको छैन। सार्वजनिक स्थलमा खुला रुपमा धुम्रपान हुने गरेका छन्। त्यसैले प्रशासनले आज सूचना निकाल्दै कारवाहीको चेतावनी दिएको हो।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij