२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । रौतहटको माछापुच्छ्रे बैंकबाट ग्राहकको रकम गायब भएको प्रकरण सतहमा आएको छ । बैंकको रौतहटस्थित चन्द्रपुर शाखाबाट बृन्दावन नगरपालिका ३ का रामेश्वरराय यादवको ९ लाख रुपैयाँ हराएको पाइएको हो । बैंक खाताबाटै लाखौँ रकम गायब भएको थाहा पाएपछि पीडित पक्षले आइतबार रातिसम्म बैंकको उक्त शाखा घेराउ गरेका थिए ।
भएको के हो ?
आइतबार यादव चेक साट्न भन्दै रौतहतको चन्द्रपुर शाखामा पुगे । खातामा प्रयाप्त रकम रहेको एकिन भएका उनी ८ लाख रुपैयाँको चेक साट्न भन्दै बैंक गएका थिए । तर, जब उनले बैंकको ट्रेलरमा चेक दिए तब उनको खातामा पैसा नै थिएन । आफ्नो खातामा भएको लाखौँ रकम खाताबाटै गायब भएको थाहा पाएपछि यादब मुर्छित भए । ‘मेरो खातामा कति पैसा थियो भन्ने थाहा पाएरै मैले ८ लाखको चेक साट्न बैंक गएको हुँ । शुक्रबार त मेरो खातामा रकम जम्मा भएको म्यासेज नै आएको छ ।’, यादवले भने, ‘तर, आइतबार बैंक पुग्दा खातामा पैसा नै देखिएन । मैले निकालेको पनि छैन र कतै ट्रान्सफर पनि गरेको छैन । अनि बैंकबाटै मेरो पैसा कसरी चोरी भयो ?
पीडित यादवका अनुसार शुक्रबारसम्म उनको खातामा १२ लाख २० हजार रुपैयाँ थियो । बिहीबार बिहान उनले १२ लाख २० हजार रकम भएको नेपाल बैंक लिमिटेडको चेक नम्बर ०१२७६४९९७३ को ९ लाख, सोही बैंकको चेक नम्बर ०१२७६४९९७४ बाट २ लाख २० हजार र ग्लोबल आईएमई बैंकको ००५८०१६७५२ नम्बर चेकको १ लाखको भौचर भरेर माछापुच्छ्रे बैंकमा जम्मा गर्न (क्लिरियन्समा) दिएका थिए ।
शुक्रबारमात्रै आफ्नो खाता नम्बर ७५००६५३८२८०००१४ मा पैसा जम्मा भएको म्यासेज पनि आएको यादवले दाबी गरेका छन् । उनका अनुसार आइतबार ८ लाखको चेक लिएर साट्न बैंक पुग्दा बैंकका कर्मचारीले खाताबाट ९ लाख रुपैयाँ गायब भएको जानकारी दिएका थिए । शुक्रबारसम्म खातामै रहेको पैसा रहस्यमय तरिकाले हराएपछि आइतबार पीडित पक्षले बैंकको रौतहटस्थित चन्द्रपुर शाखा घेराउ गरेका थिए । आइतबार बिहान रकम हराएको थाहा पाउने बित्तीकै बैंक घेराउ गर्न पुगेका उनीहरुले साँझसम्म नै बैंक घेराउ गरेका हुन् । पीडित पक्षले बैंकबाटै हराएको रकम फिर्ताको माग गरेका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij