२०८२ माघ ११ गते आइतवार
काठमाडौं । नेकपाको बिबादका बिषयमा निर्वाचन आयोगले निर्णय गर्ने दिन नजिकिदै गर्दा दुवै नेकपाका नेताहरु आन्तरिक रणनितीमा होमिएका छन्। यसै मेसोमा नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रम छरिरहेको बताएका छन् । पेरिसडाँडामा बसेको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओली अहिले पनि साम, दाम दण्ड भेद सवै प्रयोग गरेर जनता र नेकपा नेता कार्यकर्तामाथि भ्रम छर्न तल्लिन रहेको बताएका हुन् ।
‘ओलीले अझै विभिन्न किसिमका भ्रमहरु छरिरहेका छन् । पूर्व एमालेहरु मिल्नुपर्छ । यति मानिस यता आए भनेर व्यापक भ्रम फिजाइरहेका छन् । त्यो भ्रममा नपर्न म सबै केन्द्रीय सदस्यहरुलाई आग्रह गर्छु’, नेपालले बैठकमा भने, ‘यो विचारको लडाई हो ।’
उनले केपी ओली टुक्रेर नेकपाबाट बाहिरिएको भन्दै उनी ओली गएपछि कम्युनिस्ट आन्दोलनको घाँडो समाप्त भएको बताए । ‘घाँडो पन्छिएपछि सबै नेता कार्यकर्ताले खुसी प्रकट गरेका छन्’, नेपालको भनाइ छ । उनले आफ्नो नेतृत्वको पार्टीको पक्षमा दुई तिहाई सदस्य हुँदा पनि निर्वाचन आयोगले आधिकारिकता नदिए चुप लागेर नबस्ने चेतावनी दिए ।
‘हामीसँग दुई तिहाइ छ । यति हुँदा पनि हामीलाई मान्यता दिइएन भने चुप लागेर बस्दैनौँ । जस्तोसुकै आन्दोलन गर्नुपरेपनि गर्न तयार छौँ,’ अध्यक्ष नेपालले थप थप आन्दोलनको संकेत गरेका थिए । श्रोतका अनुसार ओली खेमालाई आयोगले आधिकारिकता दिंदैछ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij