२०८२ माघ ८ गते बिहिवार
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांसद ढाकाकुमार श्रेष्ठसँग बयान लिने भएको छ । रास्वपाको अनुशासन समितिले श्रेष्ठलाई पार्टी कार्यालय बसुन्धार बोलाएर बयान लिन लागेको हो ।
स्वास्थ्य मन्त्री हुन पार्टीको कोर टिमले दुई करोड मागेको भन्दै श्रेष्ठले रकम जोहो गरिदिन मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई आग्रह गरेको अडियो आइतबार सार्वजनिक भएको थियो । रास्वपाले सोही दिन सांसद श्रेष्ठलाई एक सातासम्मका लागि निलम्बन गरेर छानबिन प्रक्रिया अगाडि बढाएको छ । रास्वपा अनुशासन समितिका संयोजक भरतमणि देवकोटाले आज सांसद श्रेष्ठको बयान लिन लागिएको बताए ।
उनले भने, ‘अब हाम्रो बैठक बस्दैछ । आज ढाकाकुमार श्रेष्ठको बयान लिन्छौँ । बयानका लागि पार्टी कार्यालय बोलाएका छौँ ।’
उनका अनुसार सम्भव भएसम्म आजै छानबिन सकेर विधानअनुसार अनुशासन समितिले पार्टीको केन्द्रीय समितिलाई सुझाव दिने छ। समितिको सुझावलाई स्वीकार वा अस्वीकार गर्ने अधिकार केन्द्रीय समितिलाई नै रहेको देवकोटाको भनाइ छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij