२०८२ माघ ११ गते आइतवार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनःनिर्मित सिंहदरबार तीन मोहडाको उद्घाटन गरे। विसं २०७२ वैशाख १२ गतेको भूकम्पबाट क्षतिग्रस्त प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमेत रहेको देशको प्रमुख प्रशासनिकस्थल सिंहदरबारको पुनःनिर्माण सम्पन्न भएपछि सोमबार उद्घाटन गरेका हुन्।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणद्वारा पश्चिमबाहेकका तीन मोहडाको लागत रु ८७ करोडमा पुनःनिर्माण भएको हो। भूकम्पले भवन क्षतिग्रस्त भएपछि देशको प्रमुख कार्यकारीको कार्यालय सिंहदरबार परिसरमै रहेको तत्कालीन स्थानीय विकास मन्त्रालय रहेको भवनमा सारिएको थियो।
पुनःनिर्माण सम्पन्न भई उद्घाटन भएका मोहडा विसं २०३० को आगलागीमा परेपछि विसं २०३७ मा नयाँ प्रविधि तथा आधुनिक निर्माण सामग्री प्रयोग गरी पुरानै स्वरुपमा पुनःनिर्माण गरिएको थियो। भौतिक प्रबलीकरणपछि अत्याधुनिक सुविधासम्पन्न बनाउन भवनमा आपत्कालीन तथा अग्नि नियन्त्रक संयन्त्र राखिएको छ।

कार्यालयमा २४ सै घण्टा उपलब्ध हुने ताजा हावासहितको वातानुकूलन प्रणालीसमेत जडान गरिएको छ। सिंहदरबार पुनःनिर्माण कार्यान्वयन गराइरहेको प्राधिकरण मातहतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन)का आयोजना निर्देशक श्यामकिशोर सिंहका अनुसार दुई चरणमा ठेक्का व्यवस्थापनमार्फत तीन मोहडाको पुनःनिर्माण भएको हो।
उत्तर, दक्षिण र पूर्व खण्डलाई नयाँ प्रविधि तथा आधुनिक निर्माण सामग्री जस्तै सिमेण्ट, बालुवा, छड, ‘बोण्डिङ केमिकल’ प्रयोग गरी पुरानै स्वरुप नबिग्रिने गरी प्रबलीकरण गरिएको उनले जानकारी दिए। निर्माण कम्पनी शर्मा–न्यू टेक्निकलले प्रथम चरणको काम गरेको तथा शर्मा–माइक्रोटेक–न्यू टेक्निकल जेभीले दोस्रो चरणको काम गरेको एकाइले जनाएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij