२०८२ भाद्र ३ गते मंगलवार
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध राहदानी दुरुपयोगको आरोपमा उजुरी परेको छ।
उनलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गर्दै जिल्ला प्रहरी परिसर काठमाडौंमा मंगलबार जाहेरी परेको हो। सिन्धुलीका युवराज पौडेल 'सफल'ले लामिछानेविरुद्ध मंगलबार जाहेरी दिएका हुन्। यसअघि नागरिकतासम्बन्धी मुद्दा पनि युवराजले नै सर्वोच्च अदालतमा दायर गरेका थिए। अदालतले रविको नागरिकता अवैध रहेको भन्दै सांसद र मन्त्री पद पनि खारेज भएको थियो।
सर्वोच्च अदालतले अवैध भनेको नागरिकताकै आधारमा उनले राहदानी बनाएको र जतिबेला उनीसँग दोहोरो पासपोर्ट रहेको भन्दै उनलाई तत्काल पक्राउ गरी छानविन गर्न जाहेरीमा माग गरिएको छ।
रविले २०७० फागुन ९ गते अमेरिकाको नागरिकता लिएका थिए। अमेरिकी पासपोर्टवहाक उल्लेखित रवि लामिछानेले अमेरिकाको नागरिक रहेकै अवस्थामा आफन्त भेट्ने गरी पारिवारिक भिसामा नेपाल आएको बखत सर्वोच्चले अवैध भनेको नागरिकताकै आधारमा राहदानी बनाएका थिए।
जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट २०५० फागुन १० गते जारी १८२२२ नम्बरको पूरानो नागरिकता प्रमाणपत्रकै प्रतिलिपि राहदानी विभागसमक्ष पेश गरी त्यही कायम नरहेको नेपाली नागरिकताको विवरण राखी नेपाली राहदानी लिएर दुरुपयोग गरेको भन्दै अनुसन्धान गरी कारबाही गर्न माग गरिएको छ। रविले राहदानी ऐनको प्रचलित व्यवस्था विपरीत जानी जानी झुटो विवरण दिई २०७२ जेठ १३ गते ०८८३४८३८ नम्बरको नेपाली राहदानी लिएका थिए।
‘रवि लामिछानेले नेपाली राहदानी कानूनको बर्खिलाप हुने गरी नेपाली राहदानी समेत लिई दोहोरो राहदानी राख्ने एवम् दोहोरो राहदानी प्रयोग गरेको र तत्काल प्रचलित राहदानी ऐन, २०२४ को दफा ५ को खण्ड (ख) तथा हाल प्रचलित राहदानी ऐन, २०७६ को दफा २१ को खण्ड (क) ले निषेधित राहदानी सम्बन्धी कसूर गरेको हुनाले कसुरदार निज रवि लामिछानेलाई तत्कालै नियन्त्रणमा लिई उक्त राहदानी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान गरी कानुन बमोजिम मुद्दा चलाई कानुनी कारवाही गरी हदैसम्म सजाय होस् भनी यो जाहेरी दरखास्त पेश गरेको छु’, जाहेरीमा भनिएको छ।
उक्त कसुर अनुसार लामिछानेलाई पाँच वर्षसम्म कैद र हदैसम्म जरिवानासमेत गर्ने गरी कानून बमोजिम मुद्दा चलाउन माग गरिएको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij