२०८२ भाद्र ९ गते सोमवार
कारागार भित्रकी एक युवतीमाथि बलात्कार गरेको आरोपमा तुलसीपुर कारागारका तत्कालीन चौकीदार खुमबहादुर चौधरीविरूद्ध मुद्दा दर्ता भएको छ।
बलात्कार मुद्दामा दोषी ठहर भई जेल सजाय भोगिरहेका उनीमाथि अर्की युवतीलाई बलात्कार गरेको मुद्दा लागेको हो। जिल्ला अदालत दाङले २०७२ साल मंसिर ६ गते चौधरीलाई ६ वर्ष कैद सजाय सुनाएको थियो।
उक्त फैसलापछि लुकेर बसेका उनलाई झन्डै डेढ वर्षपछि पक्राउ गरेको थियो।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक पर्वत केसीका अनुसार जेल सजाय भोगिरहेकी २० वर्षीया युवतीमाथि चौधरीले बलात्कार गरेको आरोप छ।
बैंकिङ कसूर मुद्दामा सजाय भोगिरहेकी ती युवतीमाथि गत कात्तिक १७ गते प्रशासनिक भवनको भान्सा कोठामा बलात्कार गरेको उजुरी परेको उनले बताए। पीडित युवती पनि महिला कारागार भित्रकी चौकीदार नै थिइन्।
चालचलन राम्रो भएका व्यक्तिलाई कारागारभित्र चौकीदार नियुक्त गर्ने चलन छ। चौकीदारलाई अन्य कैदीबन्दी भन्दा बढी स्वतन्त्रता प्रदान गरिएको हुन्छ।
दुबै जना चौकीदार भएकाले उनीहरूले कारागारभित्र रेखदेख गर्नेदेखि प्रशासनिक भवनमा समेत आउजाउ गर्थे। त्यही मौकामा चौधरीले ती युवतीमाथि बलात्कार गरेको आरोप छ।
पानी तताउने बहाना बनाएर भान्साको चुकुल लगाएर बलात्कार गरेको पीडित युवतीले जाहेरीमा उल्लेख गरेकी छन्।
यसबारे किटानी जाहेरी परेपछि अनुसन्धान सकेर कात्तिक २८ गते सरकारी वकिल कार्यालयमार्फत् जिल्ला अदालतमा मुद्दा दर्ता गरेको प्रवक्ता केसीले बताए।
उनका अनुसार युवतीको उमेरको हिसाबले ७ देखि १० वर्ष थप कैद सजाय, पीडितलाई क्षतिपूर्ति तथा जरिवाना माग दाबी गरिएको छ। जाहेरी परेसँगै खुमबहादुर चौधरीलाई चौकीदारको जिम्मेवारीबाट हटाएर पुस पहिलो हप्तामै जिल्ला कारागार घोराहीमा स्थानान्तरण गरिएको थियो।
पीडितले कारागारमै सजाय भुक्तान गरिहेको हुँदा बयानका लागि इलाका प्रहरी कार्यालय ल्याए पनि सोधपुछपछि कारागारमै पठाइएको इप्रका तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले जानकारी दिए।
यस मुद्दाको फैसला आउन बाँकी नै रहेको उनले बताए।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij