२०८२ भाद्र २५ गते बुधवार
नेपाल शिक्षक महासंघले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एकतर्फीरूपमा संघीय शिक्षा ऐनको मस्यौदा अघि बढाएको भन्दै आपत्ति जनाएको छ ।
महासंघले बुधबार विज्ञप्ति जारी गर्दै शिक्षा मन्त्रालयले एकतर्फीरूपमा नयाँ ऐनको मस्यौदा अगाडि बढाएकोमा आपत्ति जनाएको हो ।
महासंघका अध्यक्ष कमला तुलाधर र महासचिव लक्ष्मीकिशोर सुवेदीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ,‘शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक–कर्मचारीको ट्रेड युनियन अधिकार, लोकतान्त्रिक विधि–पद्धति, चालु ऐनको भावना तथा स्वयम् विभागीय मन्त्रीबाट महासंघसँग प्रकट भएको वचनबद्धता विपरित महासंघसँग कुनै सहकार्य तथा छलफल नै नगरी एकतर्फीरूपमा नयाँ ऐन अघि बढाएको छ ।’
महासंघले २०७८ फागुन ९ गते मन्त्रालयसँग गरिएको ५१ बुँदे सहमतिका अधिकांश बुँदाहरू नयाँ बन्ने शिक्षा ऐनमा अनिवार्य समावेश हुनुपर्ने बताएको छ । शिक्षा मन्त्रालयबाट छलछाम तथा षडयन्त्रपूर्ण कार्य भएको भन्दै महासंघले त्यसको विरोध गरेको छ ।
मन्त्रालयबाट अख्तियार गरिएको शिक्षक–कर्मचारी विरोधी रवैयालाई निस्तेज गर्न तथा विगतका सबै सहमतिलाई अक्षरश: लागू गराउन चाँडै नयाँ शिराबाट निर्णायक आन्दोलमा अघि बढ्ने उद्घोष पनि महासंघले गरेको छ ।
मन्त्रिपरिषद्को बैठकले विधेयकलाई विधेयक समितिमा पठाउने निर्णय गरेको थियाे । त्यसकाे जानकारी मंगलबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले गराएका थिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij