२०८२ भाद्र २५ गते बुधवार
आन्दोलनरत नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समिति र सरकारबीच वार्ता लम्बिदै गएको छ । विद्यालय कर्मचारीको मागप्रति सरकार सकारात्मक नहुँदा वार्ता लम्बिएको हो ।
विभिन्न माग राख्दै भदौ १ गतेदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्दै आएका विद्यालय कर्मचारी एक पटक अनौपचारिक छलफल र दुई पटक वार्तामा बस्न पाएका छन् । तर वार्ता निष्कर्षविहीन हुँदै आएको छ ।
विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समिति र सरकारी पक्षबाट वार्ता टोली गठन गरिएको छ । आज (२० भदौ) शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक तथा सरकारी वार्ता टोलीका संयोजक चुडामणि पौडेलको संयोजकत्वमा विद्यालय कर्मचारीसँग भक्तपुरमा वार्ता भएको थियो । वार्तामा शिक्षक महासंघका र अर्थ मन्त्रालयका अधिकारीहरू पनि थिए ।
आन्दोलन परिचालन समितिका संयोजक बब्बन कुमार मिश्रले उक्त बैठकमा अर्थ मन्त्रालयले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई विद्यालय कर्मचारीको मागको क्याल्क्युलेशन गरेर अर्थ मन्त्रालमा पठाउन आग्रह गरेको बताए ।
मिश्रले भने, ‘आज शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा विद्यालय कर्मचारी परिषद्, राष्ट्रिय समितिको वार्ता टोली र सरकारी पक्षको वार्ता टोलीबीच वार्ता भयो । अर्थ मन्त्रालय र नेपाल शिक्षक महासंघका अधिकारी पनि हुनुहन्थ्यो । अर्थ मन्त्रालयले शिक्षा मन्त्रालयलाई विद्यालय कर्मचारीको मागको क्याल्क्युलेशन गरेर पठाउन भनेको छ ।’
मिश्रको भनाइमा शिक्षा मन्त्रालयले विद्यालय कर्मचारीको मागको क्याल्क्युलेशन गरेर अर्थ मन्त्रालयमा पठाउने र अर्थ मन्त्रालयले निष्कर्ष दिएपछि सरकारले पुनःवार्तामा बोलाउने छ । सरकारले अब कहिले वार्तामा बोलाउँछ त्यसबारे टुंगो नभएको मिश्रले बताए । (वेबटिभी खबर)
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij