२०८२ भाद्र २५ गते बुधवार
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अन्तरिक्ष विज्ञान शाखा खोलेर खगोल एवं अन्तरिक्ष विज्ञानसम्बन्धी कामलाई अघि बढाएको छ। नेपाल एष्ट्रोनोमिकल सोसाइटी (नासो) १६औँ वर्ष प्रवेश गरेको अवसरमा आयोजित कार्यक्रममा मन्त्रालयका उपसचिव एवं शाखा प्रमुख सन्तोष शर्माले खगोल एवं अन्तरिक्ष विज्ञानका विषयमा हुने गतिविधिलाई एकीकृत गर्न लागिएको जानकारी दिए। शाखामार्फत् खगोल र अन्तरिक्ष विज्ञान विषयमा काम गर्ने संस्थालाई एकीकृत गरी काम गरिने उनको भनाइ थियो।
नेपालमा खगोल विज्ञानलाई प्रवर्द्धन गर्न नासोले विद्यालय एवं महाविद्यालय तहका विद्यार्थीबीचमा विभिन्न गतिविधि गर्दै आएको छ। कक्षा आठदेखि खगोल विज्ञानसम्बन्धी ओलम्पियाड प्रतियोगिता, चित्रकला, वक्तृत्वकलालगायत कार्यक्रम गर्दै आएको कार्यक्रममा जानकारी गराइएको थियो। यसलेगर्दा खगोल विज्ञानका विषयमा विद्यार्थीमा जिज्ञासा बढाएको छ।नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका सदस्य डा दीनेशराज भुजुले खगोल विज्ञानका विषयमा धेरै विद्यार्थी, अभिभावक र जनसाधारणको पनि ध्यानाकर्षण गराउन नासो सफल भएको बताए।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij