२०८२ भाद्र ८ गते आइतवार
यही भाद्र ३ गते शुक्रवार नेपाल प्रज्ञाप्रतिष्ठान कमलादीमा सुविन न्यौपाने 'कान्जिभाइ'कृत कविता सङ्ग्रह 'कमरेडको जनै'को सार्वजनिकीकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै स्तम्भकार,गीतकार तथा युवा राजनीतिकर्मी विश्वप्रकाश शर्माले 'जनैको साँचो' साँच्चिकै रुचिकर कविताहरूको सँगालो भएको जिकिर गरे । यसमा प्रयुक्त विम्ब र प्रतीकहरू नवीन तथा ग्रामीण परिवेशका भएको उनको दाबी थियो । उनले थपे- 'यसले राजनीतिक विकृतिमाथि मात्र प्रहार गरेको छैन अपितु सारा सामाजिक विसङ्गतिहरूप्रति घुयेँत्रो उजाएको छ ।' एक प्रसङ्गमा काठमाडौँमा थुप्रिएको फोहोरप्रति व्यङ्ग्य कस्दै उनले तीन तहका सरकारले यति काम पनि सम्पन्न गर्न नसक्नु घोर लज्जास्पद भएको अभिमत प्रकट गरे ।
राजनीतिक दल र स्वतन्त्रको यत्रो भीडले वञ्चरेडाँडाका जनताका सामान्य माग यथासमयमै पूरा गर्न तथा फोहोरको स्थायी समाधान गर्न नसक्नु राजनीति क्षेत्रकै बेइज्जत भएको उनको राय थियो । यसैगरी विशेष अतिथि चर्चित कवि श्रवण मुकारुङले कविताको बुनोट र बनोटका बारे विशद् परिचर्चा गर्दै सुविनको पहिलो कविता कृति नै अनपेक्षित सशक्त बन्न सकेको बताए । स्वदेश र विदेशका थुप्रै कविहरूको चर्चा गर्दै सुविनले साधना गर्न सके भने त्यस्तै उचाइ चुम्न सक्ने दाबी गरे । त्यसरी नै कवि तथा समालोचक डा• बिन्दु शर्माले कविताको विस्तृत शल्यक्रिया गर्दै कृति हुँदाखाने वर्ग र महिलामैत्री भएको जिकिर गरिन् ।
कवितामा ग्रामीण विम्बलाई अत्यन्तै सशक्त र सान्दर्भिक ढङ्गले प्रयोग गरिएको भन्दै पहिलो कृति नै यति सुरुचिपूर्ण बनाउन सक्नु सुविनको अविराम लगन भएको उनको कथन थियो । केही सीमाबाहेक कृति उत्कृष्ट भएको उनको राय थियो । त्यसरी नै लेखिका तथा राजनीतिकर्मी मानुषी यमी भट्टराईले कृतिले उनको दिमाग नै रन्थन्याएको दाबी गरिन् । राजनीतिकर्मी हुनुको नाताले आफूले निकै पीडा अनुभूत गरेको उनको भनाइ थियो । ठीक त्यसैगरी कृतिकार सुविन न्यौपानेले आफ्नो विचार पुस्तकमै अभिलिखित भएको र विज्ञ पाठकको जिम्मा लगाइसकेकोले थप बोल्न तर्कयुक्त नहुने मत जाहेर गरे । कार्यक्रममा रसुवा जिल्लाका प्रदेशसभा सदस्य प्रेम तामाङले कविलगायत उपस्थित साहित्यकार र साहित्यानुरागीहरूलाई शुभकामना टक्र्याएका थिए ।
कार्यक्रमको अध्यक्षता इन्डिगो इङ्कका प्रबन्धक विष्णु पौडेलले गरेका थिए भने कार्यक्रमको सहजीकरण माधव घिमिरे 'अटल'ले गरेका थिए । 'कमरेडको जनै' इन्डिगो इङ्कले बजारमा ल्याएको हो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij