Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

माछापालनबाट मनग्य आम्दानी

माछापालनबाट मनग्य आम्दानी


  • 1.9K
    Shares

    माछापालनबाट मनग्य आम्दानी

    बरेङ गाउँपालिका–२ हुग्दीशिरका किसान सन्तबहादुर श्रीसले व्यावसायिक माछापालनबाट सफलता हात पारेका छन्।

    माछा बेचेर श्रीसले गत वर्ष एक लाख रुपैयाँ आम्दानी गरे। विसं २०७० मा सानो पोखरीबाट शुरु गरेका श्रीसले अहिले डेढ रोपनीमा फैलिएका तीनवटा पोखरीमा माछापालन गर्दै आएका छन्।

    “पाँच सय भुरा राखेर माछा पाल्न शुरु गरेँ, कमाइ हुने देखेपछि विस्तारमा लागेँ”, ४० वर्षीया श्रीसले भने।

    पोखरीमा अहिले ग्रास कार्प र कमन कार्प गरी चार हजार भुरा रहेको उनको भनाइ छ। श्रीसले प्रतिकिलो ५०० रुपैयाँमा माछा बिक्री गर्दै आएका छन्।

    “माछाको माग अत्यधिक छ, बजारको कुनै समस्या छैन”, उनले भने, “माछापालनलाई अझै विस्तार गर्ने सोचमा छु।” उनले थप ११ रोपनी जग्गामा माछापालनको योजना बनाएका छन्।

    शुरुमा ६५ हजार रुपैयाँको लागतमा माछापालन शुरु गरेका श्रीसले जिल्ला कृषि विकास कार्यालयबाट २० हजार रुपैयाँ अनुदान पाएका छन्।

    आफ्नै ठाउँमा बसेर कृषि उद्यम गर्न पाउँदा सन्तुष्टि मिलेको उनी बताउँछन्। केही वर्षअघि पोखरामा भएको कृषि तालीमपछि माछापालनतर्फ आकर्षित भएको श्रीसले सुनाए।

    माछापालनसँगै उनले व्यावसायिक रुपमा तरकारी खेती गर्दै आएका छन्। उद्यमीको परिचय बनाएका श्रीसलाई उनकी श्रीमती टीकाकुमारीले सघाउँदै आएकि छन्।

    “हामीले मिलेरै काम गर्छौं, छोराछोरी पढाइमा बाहिर छन्”, टीकाकुमारीले भनिन्, “कृषि पेशामै रमाएर बसेका छौँ, सन्तुष्ट पनि छौँ ।”

    श्रीस दम्पतीको मेहनत देखेर गाउँका अन्यले पनि प्रशंसा गर्ने गरेका छन्। कास्की बेगनासबाट प्रतिभुरा ५० पैसामा ल्याउने गरेको श्रीसले बताए। भुरा ल्याएर पोखरीमा छोडेको पाँच÷छ महिनापछि माछा बेच्न योग्य हुने उनको भनाइ छ।एक्लै ल्याउँदा ढुवानी महँगो परेपछि गाउँका माछापालक किसान मिलेर सँगै भुरा ल्याउने गरेका छन्।

    कम लगानी र मेहनतमा पर्याप्त आम्दानी हुने भएपछि माछापालनतर्फ किसानको आकर्षण बढेको हो। माछापालनसँगै समग्र कृषि उत्पादनमा सिङ्गो बरेङ गाउँपालिकालाई आत्मनिर्भर बनाउने लक्ष्य लिइएको छ।

    जिल्ला कृषि विकास कार्यालयका अनुसार हाल बागलुङमा करिब १५० रोपनी क्षेत्रफलमा व्यावसायिक माछापालन हुँदै आएको छ। कार्यालयले व्यावसायिक माछापालन गर्ने किसानलाई वर्षेनी अनुदान उपलब्ध गराउँदै आएको छ। 

    प्रकाशित मिति :श्रावण २३ २०७९ सोमवार - १२:२५:२१ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij