२०८२ भाद्र २५ गते बुधवार
रूघाखोकी र ज्वरो बढेपछि इलामका बिद्यालयहरू बन्द गर्न थालिएका छन् । पछिल्ला दिन जिल्लाभरि नै रुघाखोकीसहित ज्वरोका बिरामी बढ्न थालेका छन् ।
केही समयअघि इलाम नगरपालिकाभित्रका निजी सबै विद्यालय बन्द गरिएको थियो । पछिल्लो समय सूर्योदय नगरपालिकामा सञ्चालित पञ्चकन्या अङ्ग्रेजी विद्यालय र एभरल्यान्ड इन्टरनेशनल एकेडेमीमा बन्द गरिएको छ ।
एक साताका लागि विद्यालय बन्द गरिएको हो । परीक्षा सञ्चालन भइरहेका अवस्थामा पनि बिद्यालय बन्द गर्नुपरेको बताइएको छ । चिकित्सकहरूले यसलाई भाइरल समस्या भएको जनाएका छन् ।
गाउँगाउँमा बिरामी हुने क्रम बढेपछि अस्पतालमा बिरामीको चाप बढ्दै गएको छ । ज्वरो आउने, रुघाखोकी लाग्ने, जिउ दुख्ने, हातखुट्टा करकर खाने, छाती र घाँटी दुख्नेलगायतका लक्षण बिरामीमा छ ।
बालबालिकामा समेत क्षणमा ज्वरो आउने क्षणमै ज्वरो घट्ने, शरीरका केही भागमा तापक्रम बढे पनि केही भागमा चिसोपना नै रहनेलगायतका लक्षण देखिएको छ । कतिपय बिरामीमा अधिक टाउको दुख्ने, बान्ता हुने लक्षणसमेत देखापरेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij