राजधानीको बत्तीसपुतलीमा अवस्थित तृप्ता रेष्टुरेण्टमा यही आइतबार साँझ एक भव्य कार्यक्रमबीच खेमराज पोखरेलकृत श्रीवल्ली, विश्वराज अधिकारीकृत 'पिरको आवाज', ललिता दोषीको 'महान् कविज्यू',गायत्रीकुमार चापागाईंको 'गाईजात्रा', मनिषकुमार शर्माको 'हराएको सहर', म्यामराज राईको 'हाम्रो बाटो', किशन पौडेलको 'खुसी', रञ्जुश्री पराजुलीको 'जिउँदो सतीप्रथा', कुमुद शर्मा प्याकुरेलको 'छप्पन भोग' तथा खेमराज पोखरेलले सम्पादन गरेको संयुक्त कृति 'संयोग' गरी दसवटा लघुकथा कृतिहरू लोकार्पित भएका छन् । कृति सार्वजनिकीकरण कार्यक्रमका प्रमुख अतिथि दधिराज सुवेदीले मात्रात्मकरुपमा कृतिका सङ्ख्या वृद्धि भए तापनि गुणस्तरीयताको कसीमा अझै जँच्न नसकेको खुलासा गरे ।

अबको युग छनोट र पठनको युग भएको चर्चा गर्दै कृतिलाई सङ्ख्यात्मक रुपमा बढाउनुभन्दा स्तरीय बनाउन दत्तचित्त हुनुपर्ने राय व्यक्त गरे । त्यसरी नै कृतिकारहरूलाई शुभकामना दिँदै वरिष्ठ प्रगतिशील साहित्यकार निनु चापागाईंले यतिखेरको लेखनले समाजका परिघटनाको प्रतिविम्बन मात्र नगरी तिनको समाधानको गोहो पहिल्याउनु पर्ने खाँचो औँल्याए । वरिष्ठ नाट्यकर्मी अशेष मल्लले कृतिकार र आयोजकलाई शुभकामना व्यक्त गरे ।
मुग्लानमा रहेर पनि नेपाली साहित्य उन्नयनमा अहोरात्र खटिरहेका खेमराज पोखरेलले आगन्तुक सम्पूर्ण पाहुनाहरूलाई स्वागत गर्दै सबैको विश्वास आर्जन गर्न सकेकोमा सन्तोष व्यक्त गरे । समालोचकहरू डा• पुष्करराज भट्ट, गोपाल अस्क, प्रा •डा• देवचन्द्र नेपाल र प्रा•डा• कुमार कोइरालाले प्रकाशित लघुकथाहरूमाथि गहन समीक्षात्मक टिप्पणी गरेका थिए । उनीहरूले लघुकथाको वर्तमान अवस्था र लेखनका सैद्धान्तिक पाटाबारे पनि परिचर्चा गरेका थिए । उक्त विमोचन कार्यक्रमको सहजीकरण लघुकथा समाजका महासचिव तुलसीहरि कोइरालाले गरेका थिए भने समाजका अध्यक्ष श्रीओम श्रेष्ठ 'रोदन'ले कार्यक्रमको बिट मारेका थिए।