दैलेखको विद्यालयमा सामान खरिद गर्न भन्दै रकम हिनामिना गरेको आरोपमा विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ । आठविस नगरपालिका वडा नं. ८ मा रहेको श्री गणेश आधारभूत विद्यालय, विशालामा आईसीटी व्यवस्थापनका लागि सामान खरिद गर्न भन्दै विद्यालयको रकम हिनामिना गरेको आरोपमा विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको हो ।
आरोप लाग्नेमा वडा अध्यक्ष तथा गणेश आधारभुत विद्यालय, विशालाका विद्यालय व्यवस्थापन समितिका सदस्य मुक्ति प्रसाद उपाध्याय, सोही विद्यालय, व्यवस्थापन समितिका अध्यक्ष सन्तक बहादुर कामी र विद्यालयका प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका सदस्य सचिव अनिल कुमार शाही गरी तिन जना विरुद्ध आरोप पत्र दायर गरीएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए । उनीहरुले नक्कली बिल भरपाई तथा दाखिला प्रतिवेदन तयार गरी भुक्तानीको लागि आठविस नगरपालिका, दैलेखमा रकम माग गरेको भन्ने उजुरीका आधारमा अनुसन्धान हुँदा पक्ता लागेको भण्डारीले बताए ।
उज्यालो सोलार वितरण कार्यक्रमको रकम भुक्तानीको वहाना गरी आ.व.२०७६।०७७ मा विद्यालयमा आईसीटी व्यवस्थापनको लागि विद्यालयमा वजेट विनियोजन नै नभएको अवस्थामा बिभिन्न मितिमा आईसीटी व्यवस्थापन गर्न सोलार खरिद गर्न कोटेशन आव्हान गर्ने, कोटेशन छनौट गर्ने र सामाग्री नै खरिद नगरी खरिद गरी सकेको भनी विद्यालय व्यवस्थापन समितिको निर्णय गरी सोही निर्णयको आधारमा झुट्टा बिल कागजात तयार गरी हुँदै नभएको कामलाई कार्य सम्पन्न भएको भनी सिफारिससमेत गरी रकम नगरपालिकाकालोलाई रकम भुक्तानिका लागि चार लाख ९८ हजारको बिल पेश गरेका थिए ।
 
                     
                         
                                             
                                                     
                                                 
                                                 
                                                 
                                     
                                     
                                     
                                    
 
                         
                         
                         
                         
                        