Logo

२०८२ भाद्र २७ गते शुक्रवार

२०८२ भाद्र २७ गते शुक्रवार

शिक्षकलाई पनि निजामतीसरह सेवा सुविधा दिने सहमति, १० दिन पर्यटन काज बिदा

शिक्षकलाई पनि निजामतीसरह सेवा सुविधा दिने सहमति, १० दिन पर्यटन काज बिदा


  • 12.5K
    Shares

    शिक्षकलाई पनि निजामतीसरह सेवा सुविधा दिने सहमति, १० दिन पर्यटन काज बिदा
    images

     शिक्षामन्त्री देवेन्द्र पौडेलले स्थानीय सरकारको शिक्षासम्बन्धी अधिकार कटौती हुने गरी नेपाल शिक्षक महासंघसँग सहमति गरेका छन् । संविधानले माध्यमिक शिक्षासम्मको सञ्चालन र व्यवस्थापनको जिम्मा स्थानीय सरकारलाई दिएको छ । उक्त व्यवस्थाविरुद्ध रहेको शिक्षक महासंघसँग मन्त्रालयले माध्यमिक शिक्षाको अधिकार केन्द्र सरकारमा नै फिर्ता हुने गरी सहमति गरेको हो ।

    शिक्षा मन्त्रालय र महासंघबीच भएको ५१ बुँदे सहमतिमा आधारभूत तथा माध्यमिक शिक्षाको अधिकार स्थानीय सरकारको एकल अधिकार सूचीमा रहे पनि शिक्षा साझा सूचीमा रहेकाले विद्यालय शिक्षालाई संघ, प्रदेश र स्थानीय तहको साझा सूचीमा राख्नुपर्ने उल्लेख छ । त्यसका लागि सरकारलाई सुझाव पेस गर्न शिक्षामन्त्री पौडेल, सचिव यादवप्रसाद कोइराला, विद्यालय शिक्षा महाशाखाका सहसचिव दीपक शर्मा र शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक चूडामणि पौडेलले प्रतिबद्धता जनाएका छन् ।

    महासंघले अघि सारेका ३१ बुँदे मागका सम्बन्धमा गर्नुपर्ने काम र जिम्मेवार निकाय भनेर कार्यविभाजनसहित ५१ बुँदे सहमति गरिएको हो । मागबारे महानिर्देशक पौडेलले मन्त्रालयमा प्रतिवेदन पेस गरेका थिए । प्रतिवेदनका आधारमा स्थानीय तहले संविधानतः पाएका अधिकारसमेत फिर्ता गर्ने सहमति गरिएको हो । केन्द्र सरकारले संघीय शिक्षा ऐन जारी गर्न सकेको छैन । सहमतिमा संघीय शिक्षा ऐन नबन्दै स्थानीय तहले ऐन र कार्यविधि बनाएर गरेका कार्य रोक्ने उल्लेख छ ।

    शिक्षाविद् विद्यानाथ कोइरालाले शिक्षा मन्त्रालय र शिक्षक महासंघबीच संघीयता र विकेन्द्रीकरणको बर्खिलापमा सहमति गरिएको जनाए । यसअघि मन्त्रालयले शिक्षा संरचना र शिक्षा नीति निर्माणमा समेत स्थानीय सरकारको अधिकारमा संकुचन ल्याउने काम गर्दै आएको छ । ‘शिक्षामन्त्रीले शिक्षकहरूसँग गरेको सहमतिले स्थानीय सरकारलाई झनै कमजोर बनाउँछ, हतोत्साहित बनाउन खोजिएको छ,’ कोइरालाले भने, ‘राजनीतिक दल, मन्त्री, सांसद, कर्मचारी कोही पनि विकेन्द्रीकरणको अभ्यास गर्न चाहँदैनन् भन्ने प्रस्ट भएको छ ।’

    शिक्षक महासंघले पालिकाहरूले पूर्वाग्रही ढंगले शिक्षकहरूको सरुवा गरेको दाबी गर्दै रोक्नुपर्ने माग राखेको थियो । मन्त्रालयले शिक्षकहरूको उक्त मागमा पनि सहमति जनाएको छ । स्थानीय तहले गरेका शिक्षक दरबन्दी मिलाउन स्थगन गर्नुपर्ने शिक्षक महासंघको मागसमेत पूरा गर्ने प्रतिबद्धता मन्त्रालयले गरेको छ । शिक्षा मन्त्रालयले संघीय ऐनको मस्यौदा तयार गर्दै छ । कतिपय विषय ऐनमा नै समावेश गर्ने उद्देश्यले सहमति गरिएको छ ।

    शिक्षा विकास तथा समन्वय इकाईको नाम फेरेर जिल्ला शिक्षा कार्यालय बनाउने र कार्यालयको भूमिका बढाउने सहमति भएको छ । शैक्षिक गुणस्तर सुधार गर्नभन्दा पनि शिक्षकको हकहितमा मात्र केन्द्रित भएर सहमति गरिएको शिक्षाविद् कोइरालाले जनाए । ‘शिक्षक, कर्मचारीको हकहितको कुरा गर्दा उनीहरूको जिम्मेवारी र कर्तव्यचाहिँ के हुने भन्ने उल्लेख छैन,’ उनले भने, ‘सहमतिले स्थानीय सरकारलाई कमजोर बनाउन थप मलजल गर्नेछ ।’

    सहमतिमा महासंघमा आबद्धमध्ये ४ जना शिक्षकलाई काजको व्यवस्था गर्ने उल्लेख छ । अहिले दुई जनाका लागि मात्र काजको व्यवस्था छ । महासंघका पदाधिकारीले पदमा रहँदा काज पाउने गरेका छन् । शिक्षकलाई पनि निजामतीसरह सेवा सुविधा दिने सहमति भएको छ ।

    निजामतीमा जस्तै श्रीमान्, श्रीमती दुवै स्थायी शिक्षक भए दुवै जनाले निवृत्तिभरण सुविधा पाउने व्यवस्था गर्ने सहमति गरिएको छ । शिक्षकलाई स्वास्थ्य, दुर्घटना बिमा र १० दिन पर्यटन काज बिदा उपलब्ध गराउन मन्त्रालयले प्रतिबद्धता जनाएको छ । शिक्षक महासंघले महिला शिक्षकलाई ६ महिना प्रसूति बिदा दिनुपर्ने माग अघि सारेको छ । हाल ९८ दिन बिदा पाउँदै आएका छन् ।

    संघ, प्रदेश, स्थानीय तहको ऐन बनाउँदा सम्बन्धित स्थानीय तहमा बन्ने शैक्षिक सरोकारका सबै आयोग, परिषद्, समिति, कार्यदलमा महासंघको प्रतिनिधित्व गर्ने कानुनी व्यवस्था गर्न मन्त्रालय सहमत भएको छ । प्राविधिक धार, विशेष शिक्षा र शिक्षण सिकाइ अनुदानमा कार्यरत शिक्षकका हकमा स्वीकृत दरबन्दी सिर्जना गरी स्थायित्वको प्रक्रियामा अघि बढाउन मन्त्रालयले पहल गर्ने जनाएको छ ।

    ‘निम्न माध्यमिक द्वितीय र प्राथमिक द्वितीयमा सोझै नियुक्ति भएका शिक्षकको पद क्रमशः माध्यमिक तृतीय र निमावि तृतीय हुने गरी समायोजन गरिनेछ, उक्त शिक्षक अर्को तहमा बढुवा भएको छ भने सोहीअनुसारको श्रेणीमा पद समायोजन गर्ने प्रबन्ध मिलाइनेछ,’ सहमतिपत्रमा भनिएको छ । संविधान शिक्षक सेवा आयोग र राष्ट्रिय शिक्षा आयोग गठन गर्न सरकारलाई सुझाव दिने भनिएको छ । संघीय शिक्षा ऐनमा शिक्षण काउन्सिलको व्यवस्था गर्ने सहमति भएको छ ।

    गाउँपालिका, नगरपालिकाका जनप्रतिनिधिले संविधानविपरीतका सम्झौता मान्य नहुने जनाएका छन् । ‘संविधानसम्मत कुरामा सल्लाह गरेर जान सकिन्छ,’ गाउँपालिका महासंघका महासचिव वंशलाल तामाङले भने । 

    प्रकाशित मिति :चैत्र ९ २०७८ बुधवार - १३:२३:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij