ईश्वरी कर्माचार्यकृत संस्मरण, लेख तथा निवन्ध र कविता सङ्ग्रह ‘जीवनको सेरोफेरो’को लोकार्पण कार्यक्रम सम्पन्न भएको छ । काठमाडौंको सामाखुशी टाउनप्लानिङस्थित धौलाश्री सहकारीको सभा हलमा उक्त लोकार्पण कार्यक्रम सम्पन्न भएको हो ।
विमोचन गरिएको कृतिमा लेखक तथा साहित्यकार प्राध्यापक भरतकुमार श्रेष्ठ, डा. कौशिला रिसाल र विष्णुनारायण श्रेष्ठले टिप्पणी गर्नुभएको थियो ।
समाजसेवी तथा ज्येष्ठ नागरिक विष्णुनारायण श्रेष्ठले पानसमा दीप प्रज्वलन गरी उद्घाटन गरिएको कार्यक्रममा सदाबहार बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष किष्मतमणि श्रेष्ठले पुस्तकको बारेमा टिप्पणी गर्दै मेहनतपूर्वक तयार पारिएको पुस्तकले लेखकको साहित्यिक क्षमता प्रदर्शित भएको र पुस्तकमा समावेश संस्मरण खण्डले मावनवीय जीवनका महत्वपूर्ण पक्षलाई उजागर गरेको धारणा राख्नुभयो ।
अर्का टिप्पणीकार प्रा. भरतकुमार श्रेष्ठले पुस्तक महत्वपूर्ण भएको र पुस्तकमा समावेश भएका सामाग्रीका आधारमा प्राध्यापकको दृष्टिले पुस्तकलाई साहित्य भन्न नमिल्ने भएपनि लेखकमा भएको ऊर्जा मननीय रहेको बताउनुभयो ।
डा. कौशिला रिसालले पुस्तकमाथि आफ्नो धारणा राख्दै जीवनका भोगाईहरुलाई जस्ताको तस्तै पस्कन ठूलै साहस चाहिने र पुस्तकमा व्यक्त कुराहरुबाट लेखकमा त्यस्तो साहस भएको पाईएको बताउनुभयो । उमेरका हिसावले आराम गरेर बस्ने उमेरमा झण्डै ४ सय पृष्ठको पुस्तक प्रकाशन गर्न सक्नुले लेखकमा ऊर्जा र युवापन कायमै रहेको पाइएको उहाँको धारणा थियो । नेपाली समाज र परिवेशमा उहाँको जीवन कथा कतै चाखलाग्दो र कतै साहसपूर्ण लाग्ने डा. रिसालको टिप्पणी थियो ।
बेनी समाज काठमाडौंका महासचिव प्रदीप श्रेष्ठले संचालन गर्नुभएको उक्त पुस्तक लोकार्पण कार्यक्रममा सोही संस्थाका उपाध्यक्ष सरद कुमार श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको थियो । बेनी समाजका अध्यक्ष यमबहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा बरिष्ठ साहित्यकार तीaर्थ श्रेष्ठ प्रमुख अतिथि रहनुभएको थियो । अतिथिहरूमा डा. कौशिला रिसाल, नेपाल पत्रकार महासंघका पूर्व महासचिव उजिर मगर, विष्णु नारायण श्रेष्ठ रहनुभएको सो कार्यक्रममा पुस्तकका सर्जक ईश्वरी कर्माचार्यले आफ्नो परिवार, ईष्टमित्र र साथीभाईको प्रेरणामा बन्दाबन्दीको समय पारेर आफूले सिर्जना तयार पारेको र नातिनी डा. श्रेया कर्माचार्यको हौसलामा पुस्तकाकार दिन सम्भव भएको बताउनुभयो । आफू साहित्यको ज्ञाता नभएकोले पुस्तक सिलसिलाबद्ध नभएको र पुस्तकलाई टिपोटको संग्रह भन्ने सकिने उहाँको धारणा थियो ।
कार्यक्रम समापनको क्रममा सभापति याम श्रेष्ठले प्रमुख अतिथि तीर्थमान श्रेष्ठलाई मायाको चिनो प्रदान गर्नुभयो । प्रमुख अतिथि श्रेष्ठले आफ्नो मामाको घर बेनी भएको र यस कार्यक्रमा आउँदा मामाघर आएजस्तो महसुस भएको भन्दै खुशी व्यक्त गर्नुभयो । पुस्तक सायित्यिक लयमा नभएको भएपनि यसले सामाजिक र आर्थिक क्षेत्रमा साम्रो सन्देश र शिक्षा छरेको प्रतिक्रिया दिनुभयो । सोही क्रममा समस्त कर्माचार्य परिवारको तर्फबाट पुस्तकका सर्जक ईश्वरी कर्माचार्यलाई उक्त परिवारका वरिष्ठ सदस्य दशरथ कर्माचार्यमार्फत् सम्मान गरियो ।