२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । कोरोनाविरुद्धको खोप लगाउने अभियान अमेरिकालगायत युरोपेली मुलुकहरुमा सुरु भइसकेको छ । छिमेकी राष्ट्र भारतले तीन दिन पछि १६ जनवरीदेखि खोप लगाउन सुरु गर्ने भएको छ । तर, नेपालमा कोरोनाविरुद्धको खोप कहिले आउँछ भन्ने बारे सरकारले यकिन गर्न सकेको छैन ।
जनताले चिया पिउने अड्डादेखि सरकार, सरकारबाहिर बस्ने विभिन्न राजनीतिक दलका नेताले कोरोनाविरुद्धको खोपको बारेमा चर्चापरिचर्चा गरेको जताततै सुन्न पाइन्छ । तर, सरकारले भने खरिद प्रक्रियालाई अगाडि बढाउन नसकेको जनस्वास्थ्य विद्हरुले बताउन थालेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप ल्याउनका लागि आन्तरिक तयारी पुरा गरिसकेको भन्दै जनतालाई निश्चिन्त रहन पटक–पटक आश्वासन दिँदै आएको छ । छिमेकी राष्ट्रहरुमा कोरोनाविरुद्धको खोप दिन सुरु गर्न लाग्दा नेपालमा भने कुन–कुन कम्पनीबाट कुनकुन खोप आउँदै छ, कहिलेसम्म आइपुग्छ भनेर सरकारले निक्र्योल गर्न सकेको छैन । हालसम्म सरकारले खोप निर्माणमा सफल भएका कम्पनी वा ट्रयालकै क्रममा रहेका कम्पनीसँग कुनै कागजी प्रतिबद्धता नगरिकन निःशुल्क रुपमा सबैलाई खोप दिने बारम्बार भन्दै आइरहेको छ ।
सोमबार स्वास्थ्य मन्त्रालयमा पत्रकार सम्मेलन गर्दैै मन्त्री हृदयेश त्रिपाठीले निःशुल्क रुपमा सबैले खोप पाउने कुरा पुनःदोहोर्याए । यद्यपि कहिलेसम्म जनताले खोप पाउँछन्, पहिलो चरणमा कति खोप आउँछ भनेर स्पष्ट पार्न सकेनन् । विगतमा संक्रमितको पहिचान, नियन्त्रण र उपचारमा व्यवस्थापन फितलो हुँदा स्वास्थ्य मन्त्रालयको चर्को आलोचना गर्ने क्रम जारी छ । कोरोना महामारी संकटकालिन अवस्थामा स्वास्थ्य सामग्री खरिद प्रक्रियामा भ्रष्टाचारको गम्भीर आरोप समेत स्वास्थ्य मन्त्रालयले खेप्दै आएको छ । यस्तै सरकारले निःशुल्क रुपमा सबैलाई खोप उपलब्ध गराउँछ भनेर बारम्बार भनिरहने तर,नेपालमा खोप भित्राउने कुरा पनि आकाशको फल आँखा तरि मर हुने त होइन भन्ने शंका–उपशंका उब्जिन थालेको छ ।
नेपाल सरकार खोप दाताको प्रतिक्षामा बस्दा खोप खरिद प्रक्रियामा ढिलाइ गर्न नहुने इपिडिमियोलो तथा रोग नियन्त्रक महाशाखाका पूर्वप्रमुख डाक्टर बावुराम मरासिनी बताउँछन् । खोप निर्माण नगर्ने धेरै राष्ट्रहरु भएकाले खोप खरिदका लागि प्रतिस्प्रर्धा भइरहेका बेला खोप दाताको आशामा सरकार बस्न नहुँने उनी बताउँछन् । सरकारले खोप कोषका लागि पनि दाताहरुलाई आह्वान समेत गरिरहेको छ ।
कोरोनाविरुद्ध निर्माण भइरहेका धेरै खोपहरु क्लिनिकल ट्रायलको क्रममै भएपनि नेपालले भण्डारण तथा व्यवस्थापन गर्न सक्ने खोप भएको खण्डमा खोप उत्पादक कम्पनीसँग प्रक्रिया अगाडि बढाउन पर्ने उनी बताउँछन् । ‘दाताले उपलब्ध गराएको खोप मानौँ चाडैं नेपालमा आउँला । तर, कम मात्रा उपलब्ध गराएको खोपले केही पनि हुँदैन । त्यसैले खोप खरिद प्रक्रियालाई सरकारले तिव्रता दिनुपर्छ,’ उनले भने, ‘सरकार दाताको प्रतिक्षामा नबसिकन किन्न अगाडि सर्नुपर्छ ।’ उत्पादक कम्पनीसँग खोप बुकिङ गर्नका लागि एडभान्स रकम बुझाएमा सरकारले यो कम्पनीको खोप, यतिमा, यो मितिसम्म आइपुग्छ भन्न सक्थ्यो ।
कोरोनाविरुद्धको खोप चुनावी नारा बन्न सक्छ
वर्तमान समयमा कोरोनाविरुद्धको खोप चुनावी नारा समेत बन्ने देखिएको छ । सरकारमा बस्ने, सरकार बाहिर बस्ने विभिन्न राजनीतिक दलका नेताहरुले चुनावी नारा समेत बनाउँन थालेका छन् । यदि वैशाखमा चुनाव हुने सम्भावना भएमा सबै राजनीतिक दलले खोपलाई नाराको प्रयोग गरेर भोट माग्न सक्ने डा। मरासिनी अनुमान लगाउँछन् ।
यस्तै डा।समीरमणी दिक्षित भन्छन्, ‘वर्तमान सरकारले जनताको मन जित्नका लागि भए पनि चुनाव अगावै फागुन वा चैत्र पहिलो हप्तासम्म खोप खरिद गरेर ल्याएर चुनावी नारा बनाएमा कम्तीमा जनताले खोप त पाउँछन् ।’ तर, वैशाखमा चुनाव भएको खण्डमा खोप खरिद प्रक्रियामा अझै ढिलाइ हुन सक्ने डा।मरासिनीको भनाइ छ ।
कोरोना खोप प्राप्तिका लागि छिमेकी राष्ट्र भारत र चीनमा हात फैलाउन आवश्यक भएको दिक्षित बताउँछन् । सरकारले निजी क्षेत्रलाई पनि खोप खरिद प्रक्रियामा सहभागी बनाउनुपर्ने उनी बताउँछन् । कोभ्याक्समार्फत आउने खोपभन्दा अगाडि खोप ल्याउनु पर्ने उनी बताउँछन् ।
सरकारले कुल जनसंख्याको ७२ प्रतिशत जनतालाई निःशुल्क रुपमा खोप दिने भनेको छ । पहिलाको खोपको प्राथमिकतामा फ्रन्टलाइनमा कार्यररत स्वास्थ्यकर्मी, दीर्घरोगी, वृद्धवृद्ध र कामदारलाई राखेको छ । सरकारसँग २ देखि ८ डिग्री तापक्रममा एक करोड ७० लाख खोप राख्न सक्ने भण्डारण गर्ने क्षमता छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij