२०८२ भाद्र १ गते आइतवार
काठमाडौं । राष्ट्रिय क्रिकेटर कुन्दन सिंह राजपूतको निधन भएको छ । महोत्तरी जलेश्वरका कुन्दनको आइतबार निधन भएको प्रदेश २ क्रिकेट संघले जानकारी दिएको छ ।
लामो समयदेखि कुन्दन मृगौला रोगी थिए । मृगौला फेल भएपछि उनको उपचारका लागि देश तथा विदेशबाट आर्थिक सहयोग जुटिरहेको थियो । तर विभिन्न समस्याबाट गुज्रिँदै आएका कुन्दनको आइतबार निधन भएको हो ।
मृगौला फेल भएकै बेला कुन्दनलाई कोरोना भाइरस (कोभिड–१९)को संक्रमणसमेत भएको थियो । तर उनले कोरोना भाइरसलाई भने जितेका थिए ।
प्रदेश २ क्रिकेट संघले क्रिकेट पदाधिकारी, खेलाडी तथा उनलाई बचाउन लागिपरिरहेका अभियन्तामा गहिरो दुःख परेको भन्दै परिवारजनमा समवेदना प्रकट गरेको छ ।
कुन्दनले २०१८ को प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता खेलेका थिए । प्रदेश २ बाट ओपनर ब्याट्सम्यानको रुपमा उनले प्रधानमन्त्री कपमा तीन खेल खेलेका थिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij