Logo

२०७८ मंसिर १२ गते आइतवार

images

‘पैतालामा हिउँ, आँखामा हिमाल’मा निजत्वको गाढा फ्लेवर छ

‘पैतालामा हिउँ, आँखामा हिमाल’मा निजत्वको गाढा फ्लेवर छ

माधव घिमिरे

२६ कार्तिक २०७८
  • 2.1K
    SHARES
  • images
    images
    ‘पैतालामा हिउँ, आँखामा हिमाल’मा निजत्वको गाढा फ्लेवर छ
    images
    images
    images

    राजेन्द्रमान डङ्गोल,एक उम्दा नियात्राकार । पेसाले पर्यटन व्यवसायी डङ्गोलको दोस्रो नियात्राकृति 'पैतालामा हिउँ,आँखामा हिमाल'को यही कार्तिक २७ गते शनिबार, नेपाल टुरिजम् बोर्ड, भृकुटीमण्डपमा विमोचन हुँदैछ। नयाँ कृति लोकार्पणको पूर्वसन्ध्यामा खबर सेन्टरका प्रतिनिधि, कवि तथा समीक्षक माधव घिमिरे 'अटल'द्वारा नियात्रा र नियात्राप्रति डङ्गोलको धारणाबारे गरिएको वार्तालापको सारसङ्क्षेप :

    images
    images
    images

     

    यहाँको दोस्रो नियात्रा कृति ‘पैतालामा हिउँ, आँखामा हिमाल’ २०७८ कात्तिक २७ गतेका दिन लोकार्पण हुँदैछ । ‘यात्राका पाइला’मा भन्दा कुन मानेमा यो पृथक् छ । अनुभूतिसहित छोटकरीमा बताइदिनुस् न ।
    साँच्चै भन्ने हो भने म अझै पनि नियात्रा लेख्न सिक्दै छु । ‘पैतालामा हिउँ, आँखामा हिमाल’मा निजत्वको गाढा फ्लेवर छ । गतिमयतासहितको प्राकृतिक सौन्दर्यवर्णन छ । नियात्रामा सूचनात्मक ग्रहणशीलता, जनजीवन एवम् संस्कृतिको बहुआयामिक पक्ष हाबी गर्न खोजेको छु । कम्तीमा नियात्राका सिद्धान्तहरुलाई टेकेर लेख्ने प्रयास गरिएको अर्थमा यो कृति अघिल्लोभन्दा पृथक हुनसक्छ भन्ने लाग्छ । 
    त्यसो त यति वेला नियात्रा विधामा बाढी नै आएको छ भनिन्छ । यहाँलाई विशेष मनपर्ने नियात्रा कृति र नियात्राकारको नाम लिनुपर्यो भने ?
    हजुर, हो । नियात्रा लेखनमा स्रष्टाहरुको रुचि बढ्दो छ । यो राम्रो कुरा पनि हो । मैले पढेका नियात्राहरुमध्ये कृष्ण बजगाईंको ‘दाइबुचु’ र भेषराज रिजालको ‘बिसौनी वल्तिर’ मलाई मन परेका नियात्राहरू हुन् । दुवै नियात्राका नियात्राकारहरुले आफूले घुमेका ठाउँको प्रतिच्छाया सुन्दर ढङ्गले कुँदेका छन् र तीनमा प्रयुक्त झर्रो नेपाली शब्दहरुको उचित संयोजनसहित वर्णनात्मक अभिव्यक्ति शैलीले पाठकलाई निरन्तर आकर्षित गरिरहन सक्ने क्षमता प्रदर्शन गरेका छन् भन्ने लाग्छ ।
    यो कृतिमा के त्यस्ता विशेषता यहाँले समावेश गर्नुभएको छ ताकि पाठकले यसलाई कम्तीमा एकपटक पढ्नैपर्छ ?
    यस कृतिमा मैले यात्रा गर्दाका अवस्थामा गरेका निजात्मक अनुभूतिहरुको अलावा प्राकृतिक, राजनीतिक, सांस्कृतिक, ऐतिहासिक, धार्मिक, सामाजशास्त्रीय र अर्थशास्त्रीय आयामसँग सम्बन्धित भोगाइ र बुझाइलाई साहित्यिक कलेवरमा प्रस्तुत गर्ने जमर्को गरेको छु । यी कुरा पाठकहरुका लागि रोचक विषय हुन सक्छन् । 
    आम पाठकका निम्ति भन्दा पनि यहाँको नियात्रा पर्यटन क्षेत्रका पथप्रदर्शकलाई लक्षित गरेर लेख्नुभएको भन्ने आरोप छ । के भन्नु हुन्छ ?
    मेरो नियात्रा यात्रा सहित्यमा रुचि राख्ने सबै पाठकका लागि हो । कुनै वर्ग विशेषलाई लक्षित गरिएको छ भन्ने मलाई लाग्दैन । फेरि पथप्रदर्शकहरु पनि एक अर्थमा पाठक नै त हुन् । 
    नियात्रा र संस्मरण उही र उस्तै विधा हुन् भनिन्छ । यी उही विधा हुन् वा पृथक् ? यहाँको अभिमत ?
    हेर्दा झन्डै उस्तैउस्तै लाग्छन् । तर नियात्रा र संस्मरण नितान्त फरक विषय हुन् । फरक यस मानेमा कि नियात्रा लेखनमा मूलतः गतिमयता हुन्छ भने संस्मरणमा त्यो हुँदैन । 
    यहाँको अनुभवमा नियात्रालाई कसरी परिस्कृत, पठनीय र ओजिलो बनाउन सकिएला ?

    पैतालामा हिउँ आँखामा हिमाल पुस्तक.jpg
    यात्राका दौरानमा देखेका, भेटेका, खाएका र आपसमा गरेका कुराहरुको सपाट वर्णन मात्र भयो भने नियात्रा पठनीय हुँदैन । नियात्राकारले आफू पुगेका स्थान विशेषका आयामहरुलाई उतार्न सक्नुपर्छ भन्ने मलाई लाग्छ । बढीभन्दा बढी सूचनाको प्रवाह गराउन सक्नुपर्छ भन्ने मेरो अभिमत हो । प्रकृति र संस्कृतिलाई नियात्राकारको पञ्चतत्त्वले छुन सकेन र लेखनीमा साहित्यिक रङ छर्कन सकेन भने नियात्रा निरस बन्न पुग्छ । नियात्रामा कल्पना, भावना, भावुकता र कल्पनशीलताको लेप लगाउन सके परिस्कृत, पठनीय र ओजिलो बनाउन सकिन्छ भन्ने मेरो बुझाइ हो । 
    कुनैकुनै नियात्राकारले त ‘हिमालको नियात्रा लेख्ने मै मात्र हुँ’ भन्ने गरेको पनि सुनिन्छ । तपाईंले लेखेका नियात्रा हिमालको कि पहाडको ?
    निकै सान्दर्भिक प्रश्न गर्नु भयो । जो जहाँ गयो, त्यहीँको नियात्रा लेख्ने हो । जस्तो– दौलत विक्रम विष्टको उपन्यास ‘हिमाल र मान्छे’, नियात्राकार भीष्म उप्रेतीको ‘हिमाल, मान्छे र यती’ दामोदर पुडासैनी ‘किशोर’को नियात्रा ‘मायालु हुम्ला’, ‘सरल सहयात्रीको सगरमाथा आरोहणको अनुभव समेटिएको उपन्यास ‘शिखरको ढुङ्गा’ र पर्यटन व्यवसायी मोहन लम्सालले लेखेको फुटकर नियात्रा ‘अन्तस्करणमा बसेको मेरा पिक’ । यीबाहेक अरु पनि होलान् । जहाँसम्म मेरो नियात्राको कुरा छ– म हिमालको फेदीसम्म त पुगेको छु तर हिमाल चढेको छैन । म पुगेको सबैभन्दा बढी उचाइ ५,५४५ मिटरको कालापत्थरसम्म मात्र हो । कालापत्थरलाई हिमाल मानिँदैन । हिमाल चढेको अनुभूति मैले गरेको छैन । फेरि हिमाल चढ्नका लागि त छुट्टै कौशलको आवश्यकता पर्छ । यस अर्थमा मैले लेखेको नियात्रा हिमाली क्षेत्रको मात्र हो ।
    अन्त्यमा, मैले सोध्न छुटाएको र यहाँलाई राख्न मन लागेको विषयवस्तु केही छ कि ?
    अघिल्लो नियात्रा कृति ‘यात्राका पाइला’ (२०७६)लाई पछ्याउँदै ११ वटा मूल शीर्षकमा ३१ वटा फुटकर नियात्रा रचनाहरूको सँगालोको रूपमा प्रकाशित ३९२ पृष्ठको दोस्रो नियात्रा कृति ‘पैतालामा हिउँ, आँखामा हिमाल’ पाठक समक्ष ल्याएको छु । यसमा भएका कमी कमजोरीलाई पहिल्याइ दिएर सल्लाह सुझाव दिनुहुने सम्पूर्ण प्रबुद्ध वर्गप्रति म अभारी हुने थिएँ । 

    images
    प्रकाशित मिति :कार्तिक २६ २०७८ शुक्रवार - ०७:३४:५९ बजे

    माधव घिमिरे

    सम्बन्धित समाचार