२०८२ भाद्र ९ गते सोमवार
काठमाडौ । बच्चामा हुने जन्मजात दोष र विभिन्न अनुवांशिक रोगका कारण वर्षेनी नेपालमा सयौं शिशुले ज्यान गुमाउने र कतिपय जन्मजात अपाङ्ग वा विकलाङ्ग हुने गरेका छन् ।
जन्मजात देखिने कतिपय रोगको उपचारका लागि घरखेत बेच्दा पनि बच्चालाई बचाउन नसकेका घटनाहरु भेटिन्छन् ।
त्यसको समाधानका लागि नेपालको सरकारी अस्पतालमा नै पहिलोपटक ‘प्रि–नेटल स्क्रिनिङ टेस्ट’ अर्थात् प्रसव अवस्थापूर्व नै पेटभित्र रहेको बच्चाको स्वास्थ्य अवस्था परीक्षण गर्ने प्रविधि शुरु भएको छ । गर्भभित्र नै के कस्तो अवस्था छ भनेर पत्ता लगाउन सकिने भएको छ ।
थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पतालले ल्याएको प्रि–नेटल स्क्रिनिङ टेस्टले आमाको पेटमा रहेको शिशुमा अनुवांशिक समस्या रहे नरहेको पत्ता लगाउने अस्पतालकी निर्देशक डा. संगीता मिश्राले बताउनुभएको छ ।
विश्वमा विभिन्न शारीरिक समस्या लिएर जन्मिने शिशुको संख्या हेर्ने हो भने यसको भयावह अवस्था देखिन्छ ।
हरेक वर्ष अनुमानित ७९ लाख नवजातहरू कुनै न कुनै स्वास्थ्य समस्या लिएर जन्मिने गरेको अध्ययनले देखाएको छ । यीमध्ये करिब ३० लाख शिशुको मृत्यु हुने र ३२ लाखले दीर्घकालसम्म अपाङ्गताको समस्या भोग्ने गरेको अध्ययनको निष्कर्ष छ ।
करिब १० महिनाअघि बच्चामा जन्मजात निम्तिने दोष र यसको परिणामको बारेमा गरिएको अध्ययनले नेपालमा प्रति एक हजारमध्ये औसत ५.८ जनामा जन्मजात कुनै न कुनै शारीरिक समस्या देखिने गरेको देखाएको छ ।
बीएमसी जर्नलमा प्रकाशित सो अध्ययनले उमेर नपुगी जन्मिएका बच्चाहरूमा यस्तो समस्या बढी हुने औंल्याएको छ । यी समस्याको समाधानका लागि पनि यो प्रविधिले सहयोग गर्ने अस्पतालको भनाइ छ ।
प्रि–नेटल स्क्रिनिङ टेस्ट एक किसिमको प्रविधि हो । यो परीक्षणमा गर्भ रहेको निश्चित समयमा आमाको रगतको परीक्षण र भिडियो एक्सरे गरेर आएको नतिजालाई एउटा सफ्टवेयरमा राखेर विश्लेषण गरिन्छ ।
जसले बच्चामा डाउन सिन्ड्रोम र अन्य प्रकारका अनुवांशिक समस्याको जोखिम कति छ भन्ने देखाउँछ । जस्तैः न्युरल ट्युब डिफेक्ट, एडवर्ड सिन्ड्रोम आदि ।
डा. मिश्राका अनुसार प्रि–नेटल स्क्रिनिङ टेस्ट अन्तर्गत् पनि एउटा स्क्रिनिङ र अर्को डायग्नोस्टिक टेस्ट गरिन्छ । स्क्रिनिङ टेस्टले केवल बच्चा कत्तिको जोखिममा छ ? भन्ने पत्ता लगाउँछ भने डायग्नोस्टिक टेस्टले बच्चामा कुन रोग देखिएको छ ? भन्ने देखाउँछ ।
डा. मिश्राका अनुसार ‘यदि गर्भमा रहेको कुनै बच्चा उच्च जोखिममा देखियो भने बल्ल डायग्नोस्टिक टेस्ट गरिन्छ ।’ डायग्नोस्टिक टेस्ट गर्दा गर्भबाट थोरै पानी निकालेर टेस्ट गरिन्छ ।
यसमा गर्भपतनको जोखिम हुने भएकोले शुरुमै डायग्नोस्टिक टेस्ट गरिँदैन । समस्या छ है भन्ने देखिएपछि छै डायग्नोस्टिक टेस्ट गर्दा राम्रो हुने उहाँको भनाई छ ।
बच्चा जन्मिएपछिपनि बचाउन सकिने वा अपाङ्ग हुने निश्चित देखिएमा डायग्नोस्टिक टेस्ट गरेर गर्भपतन गराउन नै राम्रो भएको उहाँको भनाई छ । यो कानूनले समेत अधिकार दिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij