Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

मध्यपश्चिम विश्वविद्यालयका उपकुलपतिको गाडी तोडफोड

मध्यपश्चिम विश्वविद्यालयका उपकुलपतिको गाडी तोडफोड


  • 4.3K
    Shares

    मध्यपश्चिम विश्वविद्यालयका उपकुलपतिको गाडी तोडफोड

    मध्यपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पसमा आन्दोलनरत विद्यार्थीले उपकुलपति प्रा डा नन्दबहादुर सिंहको गाडी तोडफोड गरेका छन् ।

     विश्वविद्यालयको स्कूल अफ म्यानेजमेन्ट (मुसोम)मा मङ्गलबार अपराह्न आयोजित एक कार्यक्रममा उपकुलपति सिंह सहभागी भइरहेका बेला विद्यार्थीले पार्किङ गरी राखेको गाडी तोडफोड गरेका हुन् । विश्वविद्यालयका रजिष्ट्रार प्रा डा नारायणप्रसाद पौडेलले उपकुलपतिको गाडीमा दुईपटक तोडफोड भएको बताउनुभयो ।

     उहाँका अनुसार मुसोममा अन्तक्र्रिया भइरहेका बेलामा ढुङ्गामुढा गर्नुका साथै निवासमा पार्किङ गरी राखिएको अवस्थामा साँझ बञ्चरो प्रहार गरिएको हो । तोडफोडबाट गाडीको सिसा फुटेको बताइएको छ । उपकुलपति सिंह मुसोममा ‘उच्च शिक्षाका चुनौती र वर्तमान अवस्थामा विश्वविद्यालयमा देखिएका समस्याहरुको समाधानका उपाय’ विषयक अन्तक्र्रियाबाट फर्कने क्रममा प्रहरीसँगको झडपमा परी केही विद्यार्थी घाइते भएका छन् ।

     घाइते हुनेमा मध्यपश्चिम विश्वविद्यालय अखिल (क्रान्तिकारी) का संयोजक टोपेन्द्र पौडेल, निवर्तमान स्ववियु सभापति झक्कबहादुर शाही, टीकाराम ढकाललगायत छन् ।

     विश्वविद्यालयमा चार विद्यार्थी सङ्गठन अनलाइन माध्यमबाट परीक्षा सञ्चालन हुनुपर्ने, छात्रवृत्ति कोटा बढाउनुपर्ने, विश्वविद्यालयका पदाधिकारीद्वारा यसअघि सार्वजनिक अभिव्यक्तिमाथि छानबिन हुनुपर्ने, तत्काल स्ववियु निर्वाचनको मिति तोकिनुपर्नेलगायतका माग राखेर आन्दोलित छन् ।

     केही दिनयता विद्यार्थी रिले अनशनमा छन् । विश्वविद्यालयले एक विज्ञप्ति जारी गर्दै उपकुलपतिलाई लक्ष्य गरी गाडीमा बञ्चरो प्रहार गर्ने अराजक समूहलाई कारबाही गर्न माग गरेको छ । त्यस्तै विद्यार्थी सङ्गठनले आन्दोलनमा दमन गर्ने विश्वविद्यालय पदाधिकारीलाई कारबाहीको माग गरेका छन् ।

     उनीहरुले बञ्चरो प्रहार नगरेको र उपकुलपतिले उल्टै शान्तिपूर्ण आन्दोलनमा हस्तक्षेप गर्न अराजक समूह परिचालन गरेको आरोप लगाएका छन् ।

    प्रकाशित मिति :श्रावण २७ २०७८ बुधवार - १२:१७:१४ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij