२०८२ श्रावण ३१ गते शनिवार
नेपाली साहित्यिक क्षेत्रमा मुक्तकण्ठले प्रशंसा हुने नाम हो– भीष्म उप्रेती । नेपालमा मात्र नभएर दक्षिण एसियाकै साहित्यकारका माझमा चर्चा हुन्छ यो नामको । नेपालमा हातका औँलामा गन्न सकिनेमध्येका एक तेजिला नियात्राकार हुन उनी । वि. सं. २०५५ सालमै नियात्रा विधामा ‘उत्तम शान्ति पुरस्कार’ हासिल गरेका उनले हालै नियात्रा कृति ‘हिमाल, शेर्पा र यती’ पस्केका छन् ।
यात्रा आफैँमा उदेकिलो अनुभव र जीवन्त घटनाक्रम पनि हो जीवनको । सगरमाथा आधार शिविर र कालापत्थरसम्मको पदयात्राको फगत् फेहरिस्त मात्र होइन– ‘हिमाल, शेर्पा र यती’; नियात्राकार भीष्म उप्रेतीको अनुभव, कल्पना, वैयक्तिक बिचार एवम् भावना र कल्पनाशीलताको संश्लेषण पनि हो । उनले खुम्बुका तमाम हिमालहरूसँग साक्षात्कार गरेका छन् । खुम्बुका चट्टानहरूसँग अनुभूति साटेका छन् । खुम्बुको माटोमा देशको अनुभूति गरेका छन् । खुम्बुको हिउँसँग मितेरी गाँसेका छन् । खुम्बुका मनहरूसँग आत्मीयता गाँसेका छन् । खुम्बुको संस्कृतिलाई छामेका छन् । यतीको रहस्यको अन्वेषण गरेका छन् । त्यसैले पनि उनको यो नवीन कृतिको नाम ‘हिमाल, शेर्पा र यती’ यथार्थतः न्यायसङ्गत र चाखलाग्दो लाग्छ ।
एउटै यात्रासित सम्बन्धित नियात्रा हो– भीष्म उप्रेतीकृत ‘हिमाल, शेर्पा र यती’ । एघारदिने यात्राका सन्दर्र्भलाई सिलसिलेवार रूपमा प्रस्तुत गरेका छन् उनले । नियात्राकारले यस कृतिमा यात्रानुभूति, कविता र आख्यानको स्वाद चखाउँदै आफूले गरेको ‘जिओग्राफिकल÷फिजिकल टुर’मा पाठकलाई ‘भच्र्युयल टुर’ गराउने सामथ्र्य राखेर नियात्राको खास अर्थलाई सावित गरेका छन् । नियात्राका नाममा नितान्त विवरणमात्र लादेर यात्रासाहित्यको मूलभूत मान्यतालाई नै खल्बल्याइरहेको वर्तमान यथास्थितिमा उपे्रतीले यो नियात्रामार्फत् वास्तविक नियात्राको आभास दिलाएका छन् ।
अत्यन्त रोचक छ, नियात्राको उठान र बैठान । आइरिस महिलाद्वय कोलेट र कोनेको यात्राको व्यवस्थापन मिलाउने ट्राभल एजेन्ट रवीका साथ यात्रा तय गरेका उनी २०१७ अक्टोबर २२का दिन प्रतिकूल मौसमका कारण काठमाडौँबाट लुक्ला उड्न सक्दैनन् । भोलिपल्ट मात्र अतिरिक्त शुल्क तिरेर उनीहरूसँगै हेलिकप्टरमा लुक्ला टेक्न पुग्छन् नियात्राकार उप्रेती । यात्रा तालिकाअनुसार फिर्ती यात्रा लुक्लाबाट जहाजमै फर्कनुपर्ने भएपनि यात्राको एघारौँ दिन स्याङ्बुचेबाट हेलिकप्टरमा फाप्लु हुँदै फेरि सल्लेरीसम्म पैदल हिँडेर गाडीमा काठमाडौँ फर्कन्छन् ।
लुक्लाबाट सुरु हुन्छ उनीहरूको पदयात्रा । उनी खर्क, छ्योत्र्तेन र गुम्बाहरू पढ्छन् । कोशीसँगै सुसेल्छन् । कोशीले सिर्जेको धुनसँग रमाउँछन् र लार्चे दोभान काटेर नाम्चेको कठिन उकालो उक्लन्छन् । दिङ्बुचे पुगेर उचाइ अनुकूलनका लागि थप रात बिताउँछन् । ब्रिटिस टोली लिएर उही गन्तव्य पुग्ने भोला पनि उनीहरूका सहयात्रीजस्तै बन्छन् । थुप्रै जानकारी हासिल गरेका छन् उनले भोलाबाट ।
अनगिन्ती रोचक प्रसङ्गहरु छन् यस कृतिभित्र । तीमध्ये सहयात्री कोलेट र कोनेका बारेका गरेको टिप्पणी पनि एक हो । कोलेट सोझी, सरल र सहृदयी छिन् भने कोने चतुर र शङ्कालु ।
‘हिमाल, मान्छे र यती’को मूल नायक उनी आफैँ हुन् । गतिशीलता, सूचनात्मकता र निजत्वकोे बेजोड संगम हो यो कृति । उनले अघिल्लो पटक गरेका यात्राका ‘फ्ल्यासब्याक’लाई जोडेकाले पनि यो नियात्रा थप रोचक भएको छ ।
भीष्म को भाषिक पक्षमा पाइने विशिष्ट पक्ष हो– सरल भाषाशैलीय विन्यास र प्रवाहपूर्ण अभिव्यक्ति शैली । उनले यात्राका क्षण र परिघटनालाई उपयुक्त प्रतीक र विम्बहरूको प्रयोग गरेर बोधगम्य बनाएका छन् । नेपाली मानक भाषाको प्रयोगले यो कृतिमा भाषिक विन्यासमा कृतिमताको छनक पाइन्न ।
हिमाली जनजीवन र पर्वतीय पर्यटनको सुन्दर संयोजन हो– ‘हिमाल, मान्छे र यती’ । खुम्बुका हिमाल र शेर्पाबीचको सम्बन्ध र यसको गहिराइलाई अनुभूत गरेका छन् उनले । हिमाली संस्कार, संस्कृति, चालचलन र शेर्पाहरूको न्यानो आतिथ्य सत्कारको उप्रेतीले खुलेर प्रशंसा गरेका छन् । खुम्बुजस्तो विकट परिवेशको चित्रण पाइने यस नियात्रामा स्थानीयताको दिग्दर्शन यथार्थपरक ढङ्गले गरेका छन् । आँखाले देखेका कुरालाई मनले पर्गेलेर बखान गरेको कायदा स्वाभाविक र जीवन्त लाग्छन् । नियात्राकार उप्रेतीको प्राञ्जल र काव्य जडित भाषामा यी तङ्खवहरूको सन्तुलित प्रस्तुतिले नियात्रा पठनीय एवम् सुन्दर बनेको छ ।
उनले खुम्बुको जीवनलाई अति नै नजिकबाट छोएर पीडा र खुशीलाई सहज ढङ्गले अभिव्यक्त गरेका छन् । खुम्बुमा विदेशीको भारी बोकेर यात्रालाई सहज बनाइदिने भरियालाई पथप्रदर्शकले पाएजस्तो सुविधा नपाउनुलाई न्यायपूर्ण मान्दैनन् उनी ।
पाँचौ दिन दिङ्बुचेतर्फ लाग्दै गर्दा उनको आँखा बाटो छेउको एउटा बन्द होटलमा ठोक्किन पुग्छ । पर्यटकीय यामको बेला त्यति अकर्षक होटल बन्द भएको देख्दा जिज्ञासु हुँदै उनी भोलासँग त्यसको कारण जान्न चाहन्छन् । सन् २०१४ मा विदेशी आरोहीलाई सगरमाथा आरोहण गराउने क्रममा क्लाइम्बिङ शेर्पाका रूपमा गएका त्यस होटलका सञ्चालक थानदोर्जीको निधन भएको र पतिको मृत्युले विक्षिप्त भएकी श्रमतीको पनि केही समयपछि निधन भएको थाहा पाउँदा उनी हठात् भावुक भन्न पुग्छन् । कलात्मक ढङ्गमा प्रस्तुत गरेका छन् उनले यो दुखद एवम् संवेदनशील क्षणको । थानदोर्जीकी विधवा बनेर मनमा उठेका भावनाहरूलाई यसरी डायरीमा उतार्छन् उनी–
‘यो ठाउँलाई चटक्कै छोडेर
गइहाल्न पनि सक्दिनँ
आफैँजस्ता यी विधवा हिमालहरूलाई हेरेर
यहाँ बसिरहन पनि सक्तिनँ ।’
स्थापित कवि पनि हुन् नियात्राकार उप्रेती । यसरी ठाउँठाउँमा सुन्दर कविताको पोया थपेर नियात्रालाई थप सुन्दर र रोचक बनाएका छन् उनले ।
यात्राका कैयन् सन्दर्भहरूलाई उनले संस्मरणात्मक कायदामा प्रस्तुत गरेका छन् । यस्तो छ एक दृष्टान्त–
“थामसेर्कु हिमालको धेरै नाम सुनेको हुँ मैले । आजै मात्र देखेँ । नीलो आकाशमुनिको एकदम सफा मौसममा स्फटिकझैँ सेतो हिमालमा घामको सफा किरण पोखिँदाको सौन्दर्य कल्पनाभन्दा बाहिरको थियो । आँखामा, मनमा, भावनामा, अनुभूतिमा र दुःखमा समेत हिमाल बोकिहिँड्ने मलाई त थामसेर्कु हिमालको सौन्दर्य अवर्णनीय लाग्यो भने यहाँबाट त्यति टाढा समुद्रको छेउमा बस्ने कोलेट र कोनेलाई कस्तो लाग्यो होला ! मैले अनुमान मात्र गर्न सक्ने कुरा थियो । उनीहरूले फेर्दाफेर्दैको सास रोकेर फोटो खिचेको अर्थ मैले बुझेँ ।”
कृतिकार उप्रेती सगरमाथा हेर्न, सुम्सुम्यमाउन र अनुभूत गर्न यति आतुर हुन्छन् कि यात्राको आठौँ दिन सगरमाथा आधार शिविरतर्फ जाँदै गर्दा उनी एउटा आरोहीले आरोहण गर्दै हिलारी स्टेप पुगेको कल्पनामा डुब्छन् । आधार शिविर पुगेपछि प्राकृतिक सौन्दर्य र पुत्र वियोगमा परेकी कोलेटले शान्तिको निश्वास फेरेको प्रकरणको प्रस्तुतीकरणले पाठकमा अनुभूतिमय सञ्चार गराउँछ ।
उनले सन् २०१४ अप्रिल १८ का दिन हिमपहिरोमा परेर दिवंगत भएका नेपाली कामदारहरूको प्रसङ्गलाई कोट्याएका छन् । त्यो घटनाका बारेमा भोलासँग सम्पूर्ण जानकारी लिएका छन् उनले । विचित्रको रहस्य मानिएको यतीको सन्दर्भले तन्किएको नियात्रामा भोलाको स्मृतिलाई जोड्दा झनै तन्किएको छ ।
‘हिमाल, मान्छे र यती’ पढ्दा वियोगान्त नाटकजस्तै लाग्छ । पृष्ठ २०७÷८ पुगेपछि नियात्राले नयाँ मोड लिन्छ । यात्रा तालिकाअनुसार आधार शिविरबाट फर्केपछि खुम्जुङ जाने कार्यक्रम हुँदाहुँदै पनि कोलेट र कोनेलाई भरियाको साथ लगाएर नियात्राकार उप्रेती र रवी फेरिचेबाट सीधै नाम्चे आउँछन् । तिनै विदेशीका कारणले नियात्राकारको मनभित्र सुषुप्त रहेको पदयात्राको भोक जगाएको उल्लेख गरेका छन् । उनीहरूकै कारणले गर्दा काठमाडौँबाट लुक्लासम्मको हेलिकप्टरको भाडामा छुट पाएका छन् । उनीहरूसँगै यात्रा गरेका कारण सस्तोमा खाना खान पाएको यथार्थ जाहेर गरेका छन् । यति हुँदा हुँदै पनि कोलेट र कोनेलाई बीचमै छाडेर फर्केको पाठकहरूलाई युक्ति सङ्गत नलाग्न सक्छ । रवी र भीष्मको त्यो निर्णयले कोलेट र कोनेको मनमा नेपालीहरू कति स्वार्थी हुँदारहेछन् भन्ने ठाने होलान् भनेर अनुमान गर्न कठिन हुँदैन । उनीहरूसँगै सुरु गरेको यात्रा उनीहरूसँगै अन्त गरेको भए कति सुन्दर हुन्थ्यो होला ।
साहित्यिक सिर्जनशील क्षमता र कौशलताको दृष्टिले ‘हिमाल, मान्छे र यती’ उनको आफ्नै अघिल्लो कृतिले भन्दा उचाइ पाएको कृति हो । स्मार्ट साइजको कुल २४२ पृष्ठमा पूर्णाकार प्राप्त यस कृतिको २३० पृष्ठमा ११ दिनका यात्रा सन्दर्भलाई ‘दिन एक, ‘दिन दुई’ गर्दै ‘दिन एघार’ गरेर विभक्त गरेका छन् । कुशल शब्दशिल्पी उनले आफ्नै किसिमको वैशिष्ट्यता दिन खोजेको पनि हुन सक्छन् । तर यसको सट्टा उनको अघिल्लो नियात्रा कृति ‘अन्नपूर्णको फेरो’मा जस्तै रोमाञ्चक शीर्षक दिएको भए सुनरूपी नियात्रामा सुगन्ध थपिने थियो ।
नेपालमा आन्तरिक पर्यटन प्रवद्र्धनको अवधारणा आइरहेको परिप्रेक्ष्यमा ‘हिमाल, मान्छे र यती’ले नेपथ्यमा रहिरहेका नेपाली पर्यटनका पक्षलाई समेटेकोले पनि यो कृतिले विशिष्ट अर्थ राख्नेमा दुईमत छैन ।
समग्रमा ‘हिमाल, मान्छे र यती’ले बोलेको महत्वपूर्ण पाटो जीवन भोगाइ नै हो । विद्यमान परिस्थितिमा बाँचेका जीवन, जीवन र जीवनहरूका अनुभूतिलाई एउटै धागोले उन्न सक्नु नियात्राकार उप्रेतीको विशेषता हो । नियात्रा पढ्न सुरु गरेपछि पाठकलाई आफूसँगै हिँडाउन सक्ने कृतिकारको खुबीलाई प्रशंसा नगरिरहन सकिन्न । तथापि परम्परागत शैलीलाई छाडेर नियात्रा लेखनको नयाँ धार समाउन नसक्नु ‘हिमाल, शेर्पा र यती’मा नियात्राकारको सीमा प्रतीत हुन्छ । वर्तमान सचेत पाठकले के आशा गरेका हुन्छन् भन्ने कुरालाई हेक्का राख्नु बहुतै उपयुक्त हुन्छ ।
कमजोर सम्वाद शैलीलाई छाडेर हेर्ने हो भने यो कृतिलाई कसैले पनि निधार खुम्च्याउने साहस गर्न सक्दैन । सिङ्गो नियात्रालाई यो छोटो समीक्षाले न्याय दिन नसक्ला नै । बाँकी गुणदोष छुट्याएर निष्पक्ष र गम्भिरतापूर्वक विवेचना गर्ने अभिभारा पाठकहरूलाई नै सुम्पदै नियात्राकार भीष्म उप्रेतीको साहित्यिक–सिर्जनशीलताले सगरमाथाकै उचाइ चुमोस् भन्ने शुभकामना व्यक्त गर्दछु !
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij