२०८२ माघ १६ गते शुक्रवार
कांग्रेसमा मन्त्रीका लागि दाबेदार नै धेरै भएपछि मन्त्रिपरिषद् विस्तारमा सकस परेको छ । तर, छिट्टै मन्त्री चयन गर्न प्रधानमन्त्री शेरबहादु देउवालाई निरन्तर दबाब परेको छ ।
२९ असारमा प्रधानमन्त्री चुनिएका देउवाले ३ साउनमा विश्वासको मत लिएका थिए । तर, विश्वासको मत लिएको पनि १० दिन बित्न लाग्दा पनि अझै सरकारमा मन्त्री थपिन सकेका छैनन् ।
मन्त्रीका लागि कांग्रेसमा मात्रै होइन माओवादीमा पनि उत्तिकै दाबेदारको ताँती लागेको छ । जसपाको उपेन्द्र यादव पक्षमा पनि मन्त्रीका बन्नका लागि धेरै सांसदहरु लबिङमा लागिरहेका छन् । देउवा मन्त्री चयन छिटाे गर्नुपर्ने गरी पछिल्लाे केही दिनयता माओवादी अध्यक्ष प्रचण्डसँग संवादमा छन् ।
जसपाकाे आधिकारिकता मिलेपछि उसले पनि अब मन्त्रीमा पठाउनेकाे नाम टुंगाे लगाउने तयारी गरेकाे छ । अब शुक्रबारसम्ममा मन्त्रिपरिषद् विस्तार गर्ने गरी छलफल अघि बढेकाे प्रधानमन्त्री निकट स्राेतकाे भनाइ छ ।
कांग्रेसमा संस्थापनबाट सचेतक पुष्पा भुसाल, डा. नारायण खड्का, मीन विश्वकर्मा, डा. डिला संग्रौलासहितका नेताहरुले यसपटक मन्त्रीका लागि निक्कै दाबेदारी गरेका छन् । यी चारमध्ये दुई जनालाई मन्त्री बनाउन देउवा तयार रहेको बुझिएको छ ।
प्रमुख सचेतक बालकृष्ण खाँण गृहमन्त्री भइसकेका छन् । यस्तोमा अर्को नेतालाई प्रमुख सचेतक बनाउने अवसर देउवालाई छ । प्रमुख सचेतकमा मीन विश्वकर्मालाई ल्याउने तयारी देउवाले गरेको बुझिएको छ ।
यसपटक पूर्व संस्थापनबाट सिनियर नेताहरु प्रकाशमान सिंह र सुजाता कोइरालाले नै दाबी गरेका छन् । उपप्रधानमन्त्री र अर्को कुनै प्रभावशाली मन्त्रालय पाए सरकारमा जान यी नेताले दबाब बढाएको बुझिएको छ ।
पूर्व संस्थापनबाट महामन्त्री डा. शशांक कोइराला स्वास्थ्य मन्त्री बन्ने चर्चा चलाइएको छ । तर, शशांक निकट स्रोत संस्थापनबाट महाधिवेशनलाई प्रभाव पार्ने रणनीति स्वरुप यस्तो चर्चा गरिएको बताउँदै आएको छ ।
पूर्व संस्थापनबाट डा. मिनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडु, संजय गौतम, राजन केसी, तेजुलाल चौधरी, प्रमोद यादव, प्रकाश रसाइली स्नेहीको नाम चर्चामा छ । लालकाजी गुरुङ मोहन आचार्यलेसमेत मन्त्रीका लागि ताकेता गरेका छन् । पूर्व संस्थापनले बढीमा तीन मन्त्री मात्रै पाउने अवस्था छ । तर पूर्व संस्थापनले चारवटा मन्त्रालयमा दाबी गर्दै अाएकाे छ ।
यता सिटौला पक्षबाट गगन थापा, उमाकान्त चौधरी र भीमसेनदास प्रधान मध्ये एकलाई मन्त्री बनाउनैपर्ने दबाब देउवालाई छ । युवा नेता थापालाई स्वास्थ्य मन्त्री बनाउन दबाब भए उमाकान्त पनि अर्का दाबेदार हुन् । नेता कृष्णप्रसाद सिटौलाले गगनलाई भन्दै चौधरीलाई प्राथमिकतामा राखेको कांग्रेस स्रोत बताउँछ ।
तर, गठबन्धन सरकार भएकोले देउवालाई सन्तुलन मिलाएर मन्त्री चयन गर्न यसपटक निक्कै सकस पर्ने देखिएको छ ।
नजिकिंदो महाधिवेशनलाई लक्षित गर्दै देउवाले यसपटक मन्त्री चयनलाई प्राथमिकता दिएका छन् ।
देउवाले गृहमा बालकृष्ण खाँण र कानुनमा ज्ञानेन्द्र बहाद्र कार्कीलाई मन्त्री चयन गरिसकेका छन् । दुई दिन अघि देउवाले स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई ल्याएका थिए । यी तीनै जना देउवा निकटका हुन् । कांग्रेस महामन्त्री समेत रहेका बिपी पुरा शशांक देउवाको गतिबिधी संग पछिल्ला दिनमा चिढिएका छन्।
अर्को पक्षका भए पनि मन्त्री दिएर महाधिवेशनमा आफूतिर तान्ने दाउमा देउवा छन् । महाधिवेशन सुनिश्चिता भएपछि मात्रै मन्त्री चयन गर्ने नियतले उनले आफ्नो समूहका मात्रै मन्त्री सुरुमा चयन गरिएको कांग्रेस स्रोत बताउँछ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij