२०८२ माघ १५ गते बिहिवार
नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङले प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिँदै अरुको पार्टीभित्रको अनुशासन उल्लंघन गराउन काम नगर्न सुझाव दिएका छन् ।
संसद बैठकमा बोल्दै नेता नेम्वाङले आफ्नो पार्टीभित्र अनुशासन र निर्णय अत्यावश्यक गराउनेहरुले अरुको पार्टीभित्र नचाहिने संस्कार स्थापना गर्न खोजेको भन्दै प्रश्न गरेका छन् ।
साथै उनले कांग्रेसँग पुरानो सम्बन्ध रहेको र उक्त सम्बन्ध आगामी दिनमा पनि कायम रहने भन्दै नम्वाङले कुनै अमुख व्यक्तिसँग गठबन्धन गराउने एमालेको संस्कार नभएको टिप्पणी गरे ।
उनले भने, ‘प्रधानमन्त्री ज्यूसँग हाम्रो लामो सम्बन्ध छ । आज म बधाई दिन उभिएको छु । तपाईंको पार्टीसँग तपाईंमार्फत नै सम्बन्ध विस्तार गर्छौं । हामी तपाईंको पार्टीभित्रका कुनै व्यक्तिसँग छुट्टै गठबन्धन बनाउँदैनौं ।’
उनले यस्तो कार्य अलोकतान्त्रिक भएको भन्दै लोकतान्त्रिक मूल्य मान्यता सिकाउने पार्टीले नै यस्तो कार्य गरेको टिप्पणी गरे ।
‘मलाई याद छ । कांग्रेसका साथीहरुले कम्युनिष्टहरु लोकतान्त्रिक मूल्य मान्यता मान्दैनन् भनेर । तर, अहिले तपाईँहरुले नै बेठिक गर्नुभयो’, उनले भने ।
सर्वोच्चको फैसलाले राज्यका अंगहरुबीचको सन्तुलन नै खल्बल्याएको नेम्वाङको टिप्पणी छ । लोकतन्त्र र पार्टी स्वतन्त्रताका लागि लडाईबाट पाएको उपलब्धीमाथि सर्वोच्चको परमादेशबाट अंकुश लगाउने काम भएको उनको भनाइ छ ।
उनले माओवादी केन्द्र र कांग्रेस दुवैलाई अनुशासन र दलीय ह्वीबारे प्रश्न गरेका छन् । उनले भने, ‘तपाई प्रधानमन्त्रीको दावी गर्दैगर्दा दलको निर्णय लिनुभयो, विश्वासको मत दिँदा पनि ह्वीप लगाउनुभयो । तर अन्य दलहरुका सांसदलाई स्वतन्त्रका रुपमा झुण्ड्याइदिनुभयो । तपाईंहरुको पार्टीभित्र अनुशासन चाहिने, ह्वीप लाग्ने तर, अरुको दलमा स्वतन्त्रता हुने ? के तपाईंहरुको लोकतान्त्रिक मान्यता यही हो ?’
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij