२०८२ माघ १५ गते बिहिवार
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठक चलिरहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएपछि पहिलोपटक नेपाल समूहको स्थायी कमिटी बैठक बसेको हो ।
नेता नेपालसहित २२ सांसदले कांग्रेस सभापति देउवालाई विश्वासको मत दिएका थिए । सोमबार बसेको एमाले केन्द्रीय कमिटी बैठकले देउवाको पक्षमा विश्वासको मत दिने सांसदलाई स्पष्टीकरण सोधेको ।
माधव समूहका सांसदले त्यसको जवाफ दिएका छैनन् । यदि कारबाही गरिउको खण्डमा आफूहरु फेरि अदालत जाने माधव समूहका सांसदले हिजै चेतावनी दिएका छन् ।
स्थायी कमिटी बैठकपछि सांसदहरुको पनि बैठक बस्ने बताइएको छ । देउवालाई विश्वासको मत दिएपछि अब माधव समूह पनि सरकारमा सहभागी हुने भएको छ ।
देउवाले सरकारमा सहभागी भए पार्टी विभाजनका लागि आवश्यक कानूनी परामर्शमा सहयोग गर्ने वचन दिएका छन् । माधव समूहभित्रै पनि दोस्रो तहका नेताहरु पार्टी एकता कायम राख्ने पक्षमा छन् भने माधव नेपाल कुनै हालतमा केपी शर्मा ओलीसँग मिल्न नसकिने पक्षमा छन् ।
यस्तै माधवकुमार नेपाल समूहले अध्यक्ष केपी ओली बिनाको एमाले बनाउने कसरत थालेका छन् । मंगलबारको छलफलमा पनि सांसदहरुले ओलीलाई हटाएर एमाले एकता कायम राख्नुपर्ने सुझाव दिएका छन् ।
केही दिन पर्खिए केन्द्रीय कमिटी र संसदीय दलमा समेत आफूहरुको बहुमत पुग्ने भएकाले अध्यक्ष ओलीलाई हटाउने बारेमा छलफल भएको थियो ।
माधव समूहले ओली पक्षबाट १४ सांसद थपिएको दावी गरेको छ । अन्य सांसदहरु पनि आउने क्रम जारी रहेकाले पार्टीमा आफूहरुको बहुमत रहेको छलफलमा दावी गरिएको छ ।
साथै नयाँ पार्टी गठनबारे पनि छलफल भएको छ । आजको बैठकमा पनि ओली बिनाको एमाले बनाउने कि नयाँ पार्टी गठन गर्ने भन्ने विषयमा छलफल भइरहेको छ ।
एमालेको केन्द्रीय समितिको बैठक आज पनि
यसैबीच नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ । दिउँसो तीन बजे च्यासलस्थित तुलसीलाल स्मृति भवनमा बैठक बस्ने केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
उनका अनुसार आज पनि संगठनकै बारेमा छलफल हुनेछ । सोमबारदेखि शुरु भएको केन्द्रीय कमिटी बैठकमा मंगलबार प्रदेशगत रिपोर्टिङ भएको थियो ।
बैठकमा बरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरु भने अनुपस्थित छन् । आजको बैठकबाट माधव नेपाल समूहका सांसदमाथि कारबाही गर्ने सम्भावना छ । ओली माधव नेपाल बिनाको एमाले बनाउने अभियानमा छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij