२०८२ माघ १५ गते बिहिवार
गृह मन्त्रालयले आफ्नो मापदण्ड लत्याउँदै पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको सुरक्षामा खटिने जनशक्ति बढोत्तरी गरेसँगै अर्का पूर्वप्रधानमन्त्रीको सुरक्षा संख्या समेत थपेको छ ।
पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको सुरक्षामा प्रहरी थपिएको उच्च प्रहरी अधिकारीले बताए । नेपालको सुरक्षामा थप १० जना प्रहरी खटाइएको ती प्रहरी अधिकारीले बताए ।
प्रमुख प्रतिपक्ष दल एमालेभित्रको विवादका कारण नेपाल समूहका २२ सांसदले सत्ता गठबन्धनको पक्षमा संसदमा मत हालेका थिए । पार्टीभित्र आपसी दुश्मनी बढ्दै गएकाले पूर्वप्रधानमन्त्री नेपालका लागि सुरक्षाकर्मीको संख्या थपिएको हो ।
राजनीतिक घटनाक्रममा आएको फेरबदलसँगै अन्य पूर्वपदाधिकारीको सुरक्षामा खटिने संख्या थप्न लागिएको पनि ती प्रहरीले दाबी गरे । ‘प्रचण्ड र नेपालमात्र होइन, अन्य केही नेताको पनि सुरक्षा खतरा बढेको छ,’ उनले भने, ‘यसअघिको निर्णयमा परिमार्जनको तयारी भइरहेको छ ।’
सुरक्षा समितिको ‘थ्रेट’ मूल्यांकनविनै गृहमन्त्री बालकृष्ण खाँणको निर्देशनमा प्रचण्ड र नेपालको सुरक्षाकर्मी थपिएको हो । यद्यपि गृह प्रवक्ता दाहालले भने समितिको निर्णयानुसार नै थपिएको दाबी गरे । ‘बैठकको मिति, को-को उपस्थित थिए भन्ने बताउने कुरा भएन । तर, मूल्यांकन भएरै थपिएको हो,’ उनले भने ।
गृह आफैँले तय गरेको मापदण्ड उल्लंघन भएको विषयलाई भने प्रवक्ता दाहालले ‘सामान्य’ भनी टिप्पणी गरे । ‘सुरक्षाकर्मीको संख्या सधैँ एउटै हुँदैन,’ उनले भने, ‘थपघट हुन्छ । सुरक्षामा यस्तो भइहाल्छ नि ।’
केपी शर्मा ओली सरकारको पालामा अति विशिष्ट तथा विशिष्ट व्यक्तिको सुरक्षासम्बन्धी नयाँ कार्यविधि बनेको थियो । पूर्वपदाधिकारीले पाउने सुरक्षाकर्मीको संख्या कार्यविधिले तोकिदिएपछि मापदण्डभन्दा बढी भएका सुरक्षाकर्मी गत फागुनमा फिर्ता गरिएको थियो ।
तर, नयाँ सरकार आएपछि उक्त मापदण्ड संशोधन नै नगरी एकाएक पूर्वप्रधानमन्त्रीद्वय दाहाल र नेपालको सुरक्षाकर्मी बढाउने निर्णय गरेको हो । सुरक्षा खतराका नाममा अति विशिष्ट र विशिष्टका व्यक्तिको सुरक्षार्थ खटिने सुरक्षाकर्मीलाई घरेलु र व्यक्ति काममा लगाउने गलत अभ्यास रहेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij