२०८२ भाद्र ९ गते सोमवार
काठमाडौ । नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवाद अन्तिम चरणमा पुगेको छ । टुंग्याउन नेताहरु प्रयास गरिरहेका छन् । तर मधेसका केही कार्यकर्ता भने केन्द्रीय कार्यालय सानेपामा रिले अनशन अर्थात धर्नामा बसिरहेका छन् । खासगरी सर्लाहीको क्षेत्र नम्बर १ चन्द्रनगर गाउँपालिकाको वडा नम्बर १, ३ र ५ का कांग्रेस कार्यकर्ता क्रियाशील सदस्यता वितरणलाई लिएर धर्नामा बसेका हुन् ।
तीन वडाका ४ जना सोनेलाल साह, विकाउ मन्सुर, सत्यदेव सिंह र अनिल कर्ण धर्नामा बसेका हुन् । उनीहरुले विधिसम्मत र विधानअनुसार क्रियाशील सदस्यता वितरण भएन भनेर रिले अनशन थालेका छन् । धर्नामा बसेकाहरुले परिवारवादलाई जोगाउने प्रयास गरेको खुलेको छ । उनीहरुको क्षेत्रमा बुझ्दा नयाँलाई प्रवेश गर्न नदिने र आफ्नो परिवार नातागोता र चाकरीबाजलाई मात्र सदस्यता दिलाउनका लागि धर्नामा बसेको खुलेको छ ।
क्षेत्र नम्बर एकका कांग्रेस नेताहरुका अनुसार धर्नामा रहेका विकाउ मन्सुरको मात्रै क्रियाशील सदस्यमा परिवारबाट ९ जना परेका छन् । त्यसैगरी वडा नम्बर १ का सोनेलाल साहको परिवारबाट मात्रै ७ जना क्रियाशील सदस्यताको सूचीमा परेका छन् । आफ्नो परिवारका जम्मै सदस्यलाई क्रियाशील सदस्यता दिलाउने तर अन्य क्रियाशील युवालाई रोक्न धर्नामा बसेपछि सर्लाहीका कांग्रेसी नेता कार्यकर्ता आक्रोशित भएका छन् ।
एक नेताले आक्रोश पोखे, ‘आफ्नो एकल परिवारको राजतन्त्र भन्दा गईगुज्रेको अवस्थामा ९/९ जना परिवारबाट पार्ने तर पार्टीमा आउन खोज्ने एक्टिभ नयाँ क्रियाशील मान्छेलाई नदिने? भनेपछि आफ्नै परिवारका ९/९ जना, ७/७ जना राख्न हुने त्यसले पार्टीलाई मजबुद बनाउन छ कि कमजोर बनाउँछ?’
नेताहरुका अनुसार विकाउ मन्सुर र सोनेलाल साह दुबैकी श्रीमती कांग्रेसको वडा सभापति छन् । मन्सुर र साह आफै पनि यसअघि महानधिवेशन प्रतिनिधि भइसकेका व्यक्ति हुन् । आफू सधै पार्टीको नेतृत्वमा रहेर रजगज गर्ने तर अरुलाई भने पार्टीको सदस्य पनि बन्न नदिने नीति उनीहरुले लिएपछि कांग्रेसमा असन्तुष्टि बढेको छ । यसको जानकारी क्रियाशील सदस्यता छानविन समितिका संयोजक रमेश लेखक र सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाकहाँ पुगिसकेको छ ।
सर्लाहीका अर्का कांग्रेसी नेताले भने, ‘भनेपछि पार्टी सधै मेरो कब्जामा रहोस् मेरो खान्दानको कब्जामा रहोस्, संगठन विस्तार नहोस् गलत नियतले नयाँ मान्छेलाई रोक्ने कोसिस भयो। एक हजार जति पार्टी प्रवेश गरेका छन् । तिनीहरुलाई रोकेर आफूमात्रै आफ्नो खान्दानमात्रै कांग्रेस हुनुपर्छ भन्ने मनसाय उनीहरुमा देखियो । कुन लोकतन्त्र, कुन कांग्रेसको विधानको कुरा गरेको हो?’ यसबारेमा छानविन समितिले स्वतन्त्र छानविन गरेको र यथार्थका आधारमा सम्बोधन गर्ने संयोजक लेखक बताउँछन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij