२०८२ माघ १५ गते बिहिवार
तनहुँ क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई पराजित गर्दै प्रतिनिधि सभामा विजयी भएपछि नेकपा एमाले सांसद कृष्णकुमार श्रेष्ठ ‘किसान’ राष्ट्रिय राजनीतिमा आए । व्यापारिक पृष्ठभूमिबाट राजनीतिमा आएका श्रेष्ठ एमाले अध्यक्ष केपी शर्मा ओलीको कट्टर समर्थनका रुपमा चिनिए ।
१० वैशाख २०७७ मा जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादव अपहरण काण्डमा मुछिएपछि आलोचित भए । प्रधानमन्त्री ओलीकै निर्देशनमा श्रेष्ठसँगै सांसद महेश बस्नेत र पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले यादवको अपहरण गरेको आरोप लागेको थियो । तथापि दुई पटक संसद विघटन गर्दा श्रेष्ठ ओलीकै समर्थनमा उभिए ।
संसद विघटन बदर गर्दै २८ असारमा आएको सर्वोच्च अदालतको फैसलाअनुसार असार २९ गते कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भए । पार्टी ह्विपका बाबजुद श्रेष्ठले कित्ता परिवर्तन गर्दै आइतबार प्रधानमन्त्री देउवालाई विश्वासको मत दिए ।
ओलीका कट्टर समर्थक मानिएका श्रेष्ठले देउवालाई विश्वासको मत दिएपछि फेरि एकाएक उनको चर्चा चुलिएको छ । ओली समूहले श्रेष्ठलाई अवसरवादीको संज्ञा दिइरहेका छन् भने अन्यले प्रशंसा गरिरहेका छन् । ओलीका कट्टर समर्थक श्रेष्ठले एकाएक किन यस्तो निर्णय गरे त ? भन्छन्, ‘सर्वोच्चको फैसलापछि मेरो वुद्धि फिर्यो । अदालत र तनहुँ क्षेत्र नम्बर १ का जनताको सम्मानमा देउवालाई विश्वासको मत दिएँ ।’
दुई पटकसम्म संसद विघटन गर्दा ओलीकै समर्थनमा उभिएको तर सर्वोच्चको फैसलापछि आफूले विवेक प्रयोग गरेको उनले बताए । ‘२ पटकसम्म संसद विघटन गर्दा अरु विकल्प नभेटेर त्यसो गर्नुभएको हो भनेर प्रधानमन्त्रीकै पक्षमा उभिएँ । फैसलापछि फरक परिस्थिति बन्यो । संसद पाँच वर्ष नै चल्नुपर्छ भन्ने मेरो व्रह्मले देख्यो, वुद्धि फिर्यो,’ श्रेष्ठले भने, ‘तनहुँका जनताले ५ वर्षका लागि भनेर माननीय चुनेर पठाएका हुन् । मेरा मतदाता र जिल्लावासीको सम्मानमा यो निर्णय गरेको हुँ ।’
सर्वोच्चको फैसलापछि संसदीय दलको बैठकमा अनुपस्थित भएर सांकेतिक रुपमा विरोध गरेको उनले बताए । तर नेतृत्व त्यसलाई नजरअन्दाज गरेको भन्दै उनले भने, ‘मेरो असन्तुष्टि के रहेछ, हाम्रो धारणा के रहेछ भनेर बुझ्ने र सोधनी-पुछनी गरिएन । अनि सर्वोच्चको फैसला कदर गरेको हुँ, कुनै लोभ लालचा होइन ।’
महेश बस्नेतहरुसँगै ओली निकट भएर बसेका श्रेष्ठले पार्टीमा अरु व्यक्ति पनि बस्ने अवस्था नरहेको बताए । ‘महेशजीलाई पनि त्यहाँ बस्ने वातावरण छैन, यतै आउनुहुन्छ’ श्रेष्ठले भने, ‘यही बाटोमा नआइ सुख छैन, उहाँहरुलाई पनि कहाँ बस्न दिने वातावरण छ र त्यहाँ ?’
श्रेष्ठले अघि भने, ‘महेश बस्नेत र किसान श्रेष्ठले पार्टीमा के गर्यो, के गरेन भन्ने त सबैलाई थाहा छ नि । संसद बचाइयो, अब पार्टी मिलाउने हो । नत्र अर्को निकाश निस्किन्छ ।’
कोरोना महामारीको अवस्थामा चुनावको सम्भावना नरहेको र जनता बचाउनुपर्छ भनेर पनि देउवालाई विश्वासको मत दिएको उनले बताए । देउवालाई विश्वासको मत दिएपछि स्वभाविक हिसाबले अर्को समूह बनेको र त्यसमै रहेको उनको भनाइ थियो ।
पार्टीले कारबाही गरे समूहमा छलफल गरेर अगाडि बढ्ने बताए । ‘माधव नेपाल हुनुहुन्छ । मभन्दा धेरै वैद्धिक नेताहरुले देउवालाई विश्वासको मत दिनुभएको छ,’ श्रेष्ठले भने, ‘स्वभाविक हिसाबले म पनि त्यही समूहको बनें, उहाँहरुको जे भन्नुहुन्छ, मेरो पनि त्यै हुन्छ ।’
एमाले सांसद श्रेष्ठले अघि भने, ‘अहिले पनि म एमाले नै हो र भोलि पनि एमालेमै रहन्छु । म धेरै कानुन बुझेको मान्छे त होइन । तर कानुनी रुपमा केके हुन्छ, त्यो व्यहोर्नै पर्यो ।’
कतिपयले श्रेष्ठलाई ओलीले मन्त्री हुन नपाएको झोकमा त कतिपयले मन्त्री हुन लोभमा भोट दिएको आरोप लगाएका छन् । तर श्रेष्ठले भने विश्वासको मत दिएँ, मन्त्री बनाऊ भन्दै ढोका ढोका नचाहार्ने बताएका छन् । ‘केपी ओलीलाई साथ दिँदा विभिन्न आरोप लाग्यो । ती आरोपका बाबजुद पनि म अडिक भएर बसिरहें,’ उनले भने, ‘त्यत्रो दुःख गर्दा केपी ओलीले त मन्त्री नबनाएको अब देउवाले बनाउँछन् भन्ने आशा छैन ।’
देउवाले प्रस्ताव गरिहाले पनि समूहमा छलफल गर्ने र त्यसअनुसार मात्र अघि बढ्ने उनले बताए । ‘यदि देउवाबाटै प्रस्ताव आयो भने म उक्लैले निर्णय गर्दिनँ, समूहमा छलफल गर्छु,’ श्रेष्ठले भने, ‘मन्त्री बस्नेभन्दा ठूलो घर अहिल्यै छ, मन्त्री चढ्नेभन्दा ठूलो गाडी अहिले छ । लोभ र लालचाले देउवालाई विश्वासको मत दिएको होइन ।’
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij