२०८२ माघ १५ गते बिहिवार
पार्टी निर्णय विपरीत गएर प्रधानमन्त्री शेरबहादुर देउवालाई संसदमा विश्वासको मत दिने सांसदहरु पार्टीमा नरहने वा कारवाहीमा पर्ने एमालेले जनाएको छ।
च्यासलमा बसेको स्थायी कमिटी बैठकको निर्णय सुनाउँदै एमाले प्रवक्ता प्रदीप ज्ञवालीले भने, ‘यसअघिको निर्णयले पनि एमाले प्रतिपक्षमा बस्ने र सरकारलाई समर्थन वा विश्वासको मतको पक्षमा मतदान नगर्ने निर्णय गरेको थियो। आजको बैठकले पनि सोही निर्णय गरेको छ। पार्टीको संस्थागत निर्णय विपरीत गएर विश्वासको मतको पक्षमा मतदान गर्ने नेताहरु पार्टीमा रहनु हुने छैन।’
आइतबार हुने संसदको बैठकमा प्रधानमन्त्री देउवाले विश्वासको मत लिने तयारी छ। एमालेको नेता नेपाल पक्षका सांसदहरुले पक्षमा मत दिने भएपछि देउवाले विश्वासको मत लिने तयारी गरेका हुन्।
आफूहरुले पार्टी एकता जोगाउनका लागि प्रयास गरिरहेको र आइतबार बिहान पनि नेता नेपालसँग सोही प्रयोजनका लागि भेटवार्ता भएको ज्ञवालीले बताए। तर नेता नेपाल पार्टी एकताको पक्षमा नदेखिएको र अर्कै बाटो हिँड्न चाहेको प्रष्ट भएको उनले बताए।
ज्ञवालीले भने, ‘उहाँले मैले निर्णय गरिसकेको छु भन्नुभयो। उहाँ पक्षकै साथीहरुले प्रयास गरिरहनु भएको छ, त्यसले केही काम गर्यो भने होला नत्र उहाँ अर्कै बाटो हिँड्न चाहेको स्पष्ट भयो।’
उनले भने, ‘उहाँ पार्टी एकतावद्ध बनाउन इच्छुक देखिनु भएन। तर जस्तो सुकै अवस्थामा पनि लडाईँ निरन्तर हुने छ। जनमतबाट नभइ फरक प्रक्रिया र विधिबाट आएकाले सरकारप्रति एमालेको समर्थन नरहने, पार्टीको आधिकारिक निर्णय यहि हो। यो विपरीत जानेहरु पार्टीमा रहने कुरा हुँदैन।’
विश्वासको मतदानपछि थप छलफल हुने बताएका उनले संसदको पहिलो दिन नै विश्वासको मत लिनुमा एमालेमा भइरहेको एकता प्रयास भाँड्ने नियत देखिएको पनि बताए।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij