२०८२ माघ १५ गते बिहिवार
प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री भएको एक हप्ता नपुग्दै संसद्मा विश्वासको मत लिने भएका छन् । संसद्को आठौं अधिवेशन सुरु दिन आइतबार नै देउवाले विश्वासको मत लिने तयारी गरेका हुन् ।
विश्वासको मतको लागि संसद् सचिवालयमा कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रस्ताव दर्ता गराइसकेका छन् ।
संसदको अधिवेशन आजै दिउसो चार बजे सुरु हुँदैछ । देउवाले आजै बस्ने दोश्रो बैठकमा बिश्वासको मत लिन लागेका हुन्। देउवाका ज्योतिषी सुरेश चन्द्र रिजालले आज पांच देखि ६ बजेको साईतमा बिश्वासको मत लिन उत्तम हुने साईत जुराएपछि देउवाले आजै बिश्वासको मत लिने टुंगो लागेको कांग्रेस निकट श्रोतको भनाई छ।
उनले असार २७ गतेबाट सुरु भएको गुप्त नवरात्र अन्तर्गत आज नवमी तिथि सूर्य ग्रहको बार आइतबार र तुला राशिमा चन्द्रमा भएको शुभ दिन भएको बताएका छन् । शुभ समय पारेर विश्वासको मत लिएर विदेशी सम्बन्ध सुदृढ पार्नका लागि आजको दिन विशेष कार्य सिद्धिको योग परेको ज्योतिषी रिजालले बताएका छन् । उनले सत्तालाई शक्तिशाली बनाउनका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत लिने तयारीमा गृहकार्य थाल्नु शुभ भएको उल्लेख गर्दै नेपालीले विश्वास गरेअनुसार नै अबको सरकारले काम गर्ने बताएका छन् ।
प्रधानमन्त्री भएपछि देउवाले जम्मा पाँच सदस्यीय मन्त्रिमण्डल मात्रै विस्तार गरेका छन् । तर, थप मन्त्रिमण्डल विस्तार नगरीकनै उनले आजै विश्वासको मत लिन लागेका हुन् ।
२७५ सदस्यीय संसद्मा विश्वासको मत लिनका लागि १३६ सांसदको भोट आवश्यक पर्छ । संसदमा चार सांसद निलम्बित छन् । चार सांसदको पद खाली छ । यस्तोमा निलम्बितलाई कटाएर १७१ सदस्यको बहुमत अर्थात १३६ मत प्राप्त गर्न सके देउवा प्रधानमन्त्रीमा कायम हुनेछन् । नभए संसद विघटन भएर ६ महिनाभित्र देशमा चुनाव गर्नुपर्ने छ ।
प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल एमालेको १२१ सिट छ । यस्तोमा देउवाले बहुमत पुर्याउन पाँचवटासम्म दलको भोट तान्नुपर्नेछ ।
कांग्रेसको ६३ मध्ये ६१ सांसद छन् । माओवादीका ५३ मध्ये चार जना एमालेतिर गएपछि उनीहरुको ठाउँ खाली छ । एक जना सभामुख भएकोले माओवादीले ४८ मत दिन पाउनेछ । जसपाका ३४ मध्ये दुई जना निलम्बित छन् । जसमा उपेन्द्र यादवको पक्षमा यस अघि १२ जना रहेकोमा थप पाँच जना थपिंदा १७ जना पुगेका छन् । स्वतन्त्रका छक्कबहादुर लामा र राष्ट्रिय जनमोर्चा दुर्गा पौडेलले मत प्राप्त गर्दा देउवाको १२८ मत पुग्छ । यस्तोमा बहुमत पुर्याउन अझै ८ मत देउवालाई आवश्यक पर्छ ।
यस अघि प्रधानमन्त्री बनाउनका लागि राष्ट्रपति कार्यालयदेखि सर्बोच्च अदालतसम्मै मत दिएका एमालेका माधव नेपाल पक्षीय २३ सांसदले भोट दिए देउवाले १५१ जनाको बहुमत प्राप्त गर्न सक्नेछन् । तर, नेपाल पक्षका संख्या घटे पनि ८ जनाले भोट क्रम गरे देउवाले विश्वासको मतको लागि आवश्यक १३६ को संख्या पुर्याउन सक्नेछन् ।
पछिल्लोपटक संसद् पुनस्थापना गर्दा सर्वोच्च अदालतले संविधानको धारा ७६(५) अनुसारको सरकारका लागि सांसदलाई ह्वीप नलाग्ने फैसला गरेको छ । यस्तो फैसलापछि जुनसुकै दलका सांसदले पनि ढुक्क भएर भोट क्रस गर्न पाउनेछन् ।
संसद् बचाउनकै लागि विपक्षी प्रधानमन्त्री शेरबहाुदर देउवालाई यस अघि मत दिएका नेपाल पक्षले विश्वासको मत दिने बताउँदै आएको छ । तर, यस अघि जस्तै सबै २३ जनाले नै विश्वासको मत दिने भन्नेबारे अहिलेसम्म अन्तिम टुंगो भने लागिसकेको छैन ।
माधव नेपाल पक्षले भोट दिंंदै नदिए जसपाको महन्ठ ठाकुर पक्षले थप आठ भोट दिए पनि देउवाको सरकार जोगिनेछ । तर, यस अघिदेखि नै केपी ओलीको कित्तामा उभिएको महन्थ पक्षले देउवालाई भोट दिने सम्भावना कम छ ।
देउवाले विश्वासको मतको लागि आवश्यक १३६ सांसदको भोट नपाए दुईपटकसम्म तत्कालीन प्रधानमन्त्री केपी ओलीले विघटन गरेर सर्वोच्च अदालतले पुनस्थापना गरेको प्रतिनिधिसभा विघटनमा पुग्नेछ । त्यसपछि भने ६ महिनाभित्र देशमा चुनाव गर्नेपर्नेछ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij