२०८२ माघ १५ गते बिहिवार
एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका कार्यदल सदस्यहरुले स्थायी कमिटी बैठक रोक्न गरेको मागलाई अध्यक्ष केपी शर्मा ओलीले अस्वीकार गरेका छन्।
शुक्रबार बालकुमारीस्थित पुष्पलाल स्मृति प्रतिष्ठानमा ओलीले जारी राखेको बैठकमा छिरेर नेपाल पक्षका कार्यदल सदस्यहरुले बैठक रोक्न माग गरेका थिए। तर ओलीले बैठक अगाडि बढ्छ भनेपछि उनीहरु बैठकस्थलबाट बाहिरिएका छन्।
बैठकबाट बाहिरिने क्रममा नेता भीम रावलले पार्टी एकताका लागि बैठक रोक्न माग गरिए पनि अध्यक्ष ओलीले नमानेको बताए।
उनले भने,‘आज हामीले स्थायीसँगै संसदीय दलको बैठक नगर्न आग्रह गरेका थियौँ। ओलीजीले बैठकको पुस्तिकामा हस्ताक्षर गर्नुहोस् अनि बोल्नुहोस् भन्नु भएको थियो। तै पनि हामीले ४ देखि ५ मिनेट आफ्ना माग सुनायौँ। हामीले १० बुँदे सहमति कार्यान्वयन गरौँ भन्यौँ। एकता टुटाउने काम नहोस् भन्यौँ तर उहाँले मान्नु भएन।’
रावलले आफूहरुले ओलीले बालकोट पुग्नासाथ दिएको अभिव्यक्तिले पार्टी एकतालाई अझै संकटमा धकलेको पनि बैठकमा सुनाएको बताए।
उनले भने,‘हामीले ओलीजीको अभिव्यक्तिले गाह्रो परिस्थति ल्याएको भन्यौँ। तर ओलीबाट ठोस कुरा केही पनि आएन। उल्टै बैठक अगाडि बढाउनुहोस् भन्नु भयो।’
बैठक राेक्न नेता रावलसँगै भीम आचार्य, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट बैठकस्थलमा पुगेका थिए। रघुजी पन्त बिरामी भएकाले उनीहरुसँग गएनन्।
नेपाल पक्षका नेताहरुले ओलीसमक्ष राखेका ५ बुँदे माग
१) कार्यदलको सहमति अनुसार बैठक डाक्नु पर्छ।
२) ओली र नेपालबीच वार्ता हुनुपर्छ
३) एमालेलाई खण्डित हुने गतिविधि बन्द गरौँ।
४) राष्ट्रियहितसँग एमाले एकता जोडौँ।
५) कारोना महामारीका बेला मुुलुकलाई थप संकटमा नधेकलौँ
तर ओलीले कुरा नसुनेपछि नेपाल पक्षका नेताहरुले बैठक बहिस्कार गरेका थिए।
अहिले बोलाइएको एमाले स्थायी समिति बैठक स्थगनका लागि गरिएको अनुरोधलाई अध्यक्ष केपी शर्मा ओलीले अस्वीकार गरेपछि वरिष्ठ नेता माधवकुमार नेपाल निकट स्थायी समिति सदस्यहरु बैठकस्थलबाट निस्केर नेपाल निवास पुगेका छन् ।
पार्टी एकतालाई जोगाउने हो भने केही दिनका लागि बैठक स्थगित गर्न निकै जोड गरे पनि अध्यक्ष ओली टसमस नभई उल्टै खाउँला झैँ गरि झम्टिए पछि नेताहरु त्यहा बाट निस्किएका हुन्। अहिले माधव नेपालको घरमा ओलीलाई कसरी सक्ने भन्ने रणनिती बन्दैछ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij