२०८२ भाद्र १ गते आइतवार
‘ज्यूँदै मर्छु होला तिमीले छोड्यौ भने
मलाई छोडी अर्कैसँग नाता जोड्यौ भने…….’
देवीस्थानको उकालो छिचोलिने बेलामा यी भावनात्मक शब्दहरू कानमा ठोक्किन आइपुगे । पुर्वेली नवोदित गायिका रोशना राईको लोकप्रिय गीतलाई गुञ्जाइरहेका थिए कुनै पुरुषले ।
भन्ज्याङमा ठिङ्ग उभिइरहेको छ– बुढो लाँकुरी । त्यसैको छाता ओढेको छ– एउटा सानो स्तुपले । त्यही स्तुपको दोस्रो स्टेपमा बसिरहेका थिए एक युवा । उनैको थियो हामीले सुनेको यो इमोशनल नाद ।
सोचेँ– ‘भर्खरका युवा । सायद प्रेमको मुना पनि भर्खरै मात्र पलाएको होला । आफूले माया गरेको मान्छेले छोड्यो भने बाँच्न त कहाँ सहज हुन्छ र !’
विजय बिराछाले यस्तो अनुभव नगरी गीतको रचना गरे होलान् त !
“राम्रै गाउनु हुँदोरहेछ त ?”
“होइन नि ! यसो गुन्गुनाई टोपलेको मात्र !”
“यो चाँपको बोट हो ?”
“होइन ।”
“समी हो त ?”
“होइन ।”
“खस्रु हो ?”
“खस्रु पनि होइन ।”
“फलाँट हो कि त ?
“त्यो पनि होइन ।”
“हो चाहिँ के त ?”
“लाँकुरी ।”
उनै युवा र म बीचको सम्वाद थियो यो ।
यदाकदा सुनेको थिएँ– ‘लाँकुरी’को बोट त ठूलै हुन्छ भनेर । उसो त तीन वर्षअघि नै आइसकेको हो यो चौपारीमा । बेलायत बस्ने साढुभाइले किनेको जग्गा देखाउन भनेर ल्याएका थिए दीपकदाजुले मलाई । हामी तीनै जना यही चौपारीमा बसेर केहीबेर गन्थन मन्थन गरेका थियौँ उतिबेला । वृक्षको नाम चाहिँ सोधेको थिइनँ ।
०००
लगभग दुई घण्टा हिँड्नुपर्छ भनेका थिए माधवजीले तर पन्ध्र मिनेटमै पुग्यौँ हामी । साधन छउन्जेल यो उकालो हिँड्न कसलाई पो जाँगर चल्छ र । आखिर अल्छी प्राणी न हौँ हामी ! अझ काभे्रस्थलीदेखि नै हिँडेको भए त साढे दुई घण्टा लाग्थ्यो होला । देवीस्थानको बस्तीमा छिरेपछि बाइकलाई बाटैमा छाडेर हिँडेका थियौँ हामी तीन ‘नोम्याड’ । यत्तिका लागि भक्तपुरदेखि धाएका थिए अर्का सहयात्री राजु शर्माले ।
त्यही चौपारीलाई नै अन्तिम गन्तव्य बनाएका रहेछन् माधवजीले ।
कत्ति न ‘नयाँ ठाउँमा लान्छु’ भनेका थिए उनले । आइसकेको ठाउँ पो रहेछ ।
“महाशय ! मेरा लागि यो कुनै नयाँ होइन । हजुर नआउँदै म आइसकेको थिएँ यहाँ ।” भनुँ कि झैँ लागेको थियो ।
तर कष्ट गरिनँ ।
“उः त्यो तलको मन्दिर छेउको जग्गा हामीले लिन लागेको नि ! आनाको पाँच लाखको दरले कुरो छिनेका छौँ । जम्माजम्मी पाँच रोपनी छ । लगानी गर्ने हामी बीस जना ।” हातको औँलाले जग्गा देखाउँदै माधवजीले भने ।
लगानी गर्ने त माटोमै हो रहेछ । दुई–पाँच वर्षमै प्रतिफल तेब्बर दिने । यसरी कति मान्छे उँभो लागे, लागे । लगानी गर्नेले त कमाए नै । बीचमा बसेर काम गर्ने (दलेदाई)हरूले पनि कमाउनुसम्म कमाए । जग्गा एउटाको, दाम एउटाको । बोल्दे मात्रै पनि गाँठ आइहाल्ने । के चाहियो र ! त्यसैले त ग्राहकहरूलाई जग्गा देखाउन लाँदालाँदा जुत्ताको तलुवा नै भ्वाङ परिसक्दा पनि कसरत गर्न छाड्दैनन् ती ……दाइहरू । पेशा न हो !
लगानीको प्रतिफल चाख्न पाइने आशाले होला, खुशीका रङहरू तरङ्गित भइरहेको प्रतीत हुन्थ्यो माधवजीको मुहारमा ।
“पहिलेपहिले यही ठाउँबाट किनमेलका लागि असन गएर आउन एक दिन माया मार्नुपथ्र्यो ।” देवीस्थानका मङ्गल तामाङले भनेका थिए ।
अहिले बस्ती बिस्तार हुँदै आयो । सडक खुल्यो । ठाउँ सुगम भयो र, त बिरौटा खेत र घुरेन बारीको दिन आयो । समयलाई कुर्न सके सुदिन आउछ भनेको यही हो ।
ऊ बेलामा पनि यसरी नै जग्गा देखाएका थिए दीपकदाजुको साढुले । आफूलाई त कागलाई ‘बेल पाक्यो हर्ष न विस्मात’ भनेजस्तै त हो । जाबो आधा रोपनी जग्गामा घर बनाएर बस्ने सपना पनि कहिल्यै साकार पार्न सकिएन जीवनमा । कहिल्यै दुई पैसा जोगाड गर्न सकेको भए पो ! जिन्दगी पनि त्यत्तिकै बित्यो गाँठे ! मनमनै धिक्कार्दै थिएँ म आफैँलाई ।
“अबको पाँच वर्षमा त केही नभए पनि आनाको बाह्र लाखमा बिक्छ ।
लगानी गर्ने होइन त राजेन्द्रजी !” सहृदयताका साथ प्रस्ताव गरे माधवजीले मलाई ।
कुरा त सही थियो उनको । म पनि उनीहरूसँगै मिसियून् भन्ने उनको चाहना थियो । अझ भनौँ– मप्रतिको सदाशयता नै थियो । तर भन्नेबित्तिकै बीस लाख लगानी गर्ने क्षमता कहाँ हुनु म बबुरोको ! आफू परियो कोरोनाको कुहिरोमा रुमलिएर अन्धकार भविष्यतर्फ लाग्दै गरेको एउटा सामान्य पर्यटन व्यवसायी । लाख खर्चेर करोडको सपना देख्नु मेरा लागि मन कल्पाइ मात्र हो । ऋण काढ्ने आँट पनि गर्न सकिनँ । फेरि “घाँटी हेरेर हाड निल्नू” भन्छन् । यस्तो अवस्थामा कसैले लगानी गरौं भन्दा पनि ठट्टा गरेजस्तै लाग्दो रहेछ ।
“हुन्थ्यो तर म त्यो अवस्थामा कहाँ छु र !” उनको प्रस्तावलाई नचाहेरै पनि अस्वीकार गर्नु पर्यो मैले ।
०००
एक बथान चरा आएर लाँकुरीको बोटमा बसे । त्यो देख्दा आफ्नै थातथलोको मूलबाटोको वरपीपलको याद आयो ।
सोचेँ– ‘कति उमेर होला यो लाँकुरीको ! देवीस्थानका कति पुस्तालाई देख्यो होला यसले !’
बालापनमा सोच्ने गर्थें– ‘आफू पनि वरपीपलले जस्तै सयौँ बटुवालाई शीतलता दिन पाए …… ! दिनहीनहरूको सेवामा समर्पित हुन पाए…… ! उनीहरूको चह¥याएको घाउमा मलम लगाइदिन पाए….. !” दुर्भाग्यवशः त्यो चौतारो छैन अहिले मेरो गाउँमा । नत्र यसरी नै फरफर पात हल्लाएर चराहरू डाकिरहन्थ्यो होला………. ! थाहा छैन, लाँकुरीले फल दिन्छ कि दिँदैन कुन्नि ! नत्र गुलिया फल चखाएर चराहरूलाई आफूमा भुलाइराख्थ्यो होला….. ! अझ भनौँ– कति चराहरूलाई बास दिन्थ्यो होला ।” जीवनको गोरेटोमा डुल्दाडुल्दै आज फेरि त्यस्तै एउटा चौतारोमा आइपुगेको छु । के मेरा जीवनका यावत् रहरहरू पूरा होलान् त ? लाँकुरीले ब्यतीत गरिरहेको विनोदप्रिय प्रहर देख्दा आफैँलाई प्रश्न तेस्र्याएथेँ मैले ।
लाँकुरीको चौतारो तल्लोपट्टि छ– फराकिलो जमिन । र, त्योभन्दा तल्लो ढिस्कोमा फर्फराइरहेको छ– ठूलो आकारको नेपालको राष्ट्रिय झण्डा । हामी लाँकुरीको बोटलाई छाडेर त्यसैतर्फ लाग्यौँ ।
सिम्रिक रङको भुइँ र गाढा नीलो रङको किनारा । दुई त्रिकोण जोडिएको । माथिल्लो भागमा खुर्पे चन्द्रको बीचमा अष्टकोण र तल्लो भागमा द्वादश कोणयुक्त सूर्य अङ्कित छ । दुवैको रङ छ– सेतो ।
यसका परिरूपक शङ्कर रिमाललाई सम्झेँ मैले । मान्नैपर्छ उनको अवधारणालाई ।
पानी र आकाशको रङ हो– नीलो । आकाश भनेको आफैँमा अनन्त हो । अनन्तकालदेखिको मुलुक हो– नेपाल ।
शुभकार्यमा प्रयोग हुने रङ हो– सिम्रिक । स्त्री सौभाग्यको रङ हो– रातो रङ । क्रान्तिको रङ पनि रातै हुन्छ । शान्ति र पवित्रताको पर्याय– सेतो । यसबाहेक अरू थुप्रै धार्मिक एवम् आध्यात्मिक अर्थहरू बोकेको छ नेपालको झण्डाले । म दाबा गर्छु– यति धेरै अर्थ समेटिने झण्डा यो संसारमा सायदै होला । कम सुन्दर र गौरवपूर्ण छैन हाम्रो राष्ट्रिय ध्वजा अर्थात् नेपालको प्रतीक अर्थात् हाम्रो शान । झण्डासित साटेथेँ मैले मन । ‘झण्डा हेरेर मनमनै गुन्गुनाएथेँ–
‘रातो र चन्द्रसूर्य जङ्गी निशान हाम्रो
जिउँदो रगतसरि यो बल्दो यो शान हाम्रो……’
वैदिक, वैज्ञानिक र व्यावहारिक महत्व नबुझ्दा झण्डै परिवर्तन भएको थियो यति सुन्दर झण्डा । म सोच्थेँ– ‘साँच्चै उनीहरूले नयाँ झण्डा बनाएको भए कुन कुन चिह्न राखेर के के अर्थ लगाउँथे होलान् ?’
अझैसम्म त कतिले बुझेका छैनन् । र, त बेलाबखत जलाइने गरिन्छ राष्ट्रिय ध्वजा । यो देख्दा जलेर खरानी हुन्छ मेरो मन ।
झण्डाको आकारजस्तै लाग्छ त्यहाँबाट देखिएका पहाड र परपरका हिमालका आकृति । र, झण्डाकै रङजस्तै लाग्छ प्रकृतिले फेरिरहने रूप र रङ पनि ।
भिरालो जमिन, देवीस्थानको पातलो तामाङ बस्ती । पूर्व र पश्चिमतर्फ मानवबस्ती फिँजिएको, उत्तरमा जङ्गल र दक्षिणमा काठमाडौँको तस्वीर । मनोहारी लाग्छन् तमाम दृश्यहरू । मरिगए मानेन मनले ठाउँ छोड्न । निकै बेर बितायौँ हामीले त्यहाँ । केही परिदर्शक मात्र थिए चउरमा । सायद कोरोना आतङ्क नफैलिएको भए भरिभराउ हुन्थ्यो होला चउर । त्यस्तै सङ्केत गर्थे वरिपरि फ्याँकिएका पानीका बोत्तल, बिस्कुट र चाउचाउका खोलहरूले ।
यो ठाउँबाट देखिने अद्भुत् दृश्यहरू देख्दा ललितपुरको लाँकुरी भन्ज्याङजजस्तै लाग्दोरहेछ । उहिले बडेमानको लाँकुरीको बोट भएकोले त्यो ठाउँलाई लाँकुरी भन्ज्याङ भनिएको थियो । केही दशकअघि मात्र त्यो बोट मासियो । नेपालको सन्दर्भमा चौपारी मासिनु नौलो होइन । यद्यपि लाँकुरी भन्ज्याङले चिनिन्छ त्यो ठाउँलाई । यो पनि भन्ज्याङ नै हो । फेरि जीवित लाँकुरीको बोट छ त ‘लाँकुरीको भन्ज्याङ’ किन नभन्ने यो ठाउँलाई ? मेरो मनले भन्दै थियो– “ काठमाडौँको ‘लाँकुरी भन्ज्याङ’ हो यो ।”
डेढ महिनाअघि मात्र ललितपुरको लाँकुरी भन्ज्याङ पुग्दाका झझल्का पो बयेंली खेल्न थाले मेरा नयनपटमा–
कम रोमाञ्चक थिएन त्यो यात्रा । हामी तीनमा थप दुई सहयात्री जोडिएका थिए– सुविन न्यौपाने र दीपक लोहनी ।
जुलाइ २४ को दिन । ललितपुरको ढुङ्गेन, लामाटारबाट हात्ती लस्केझैँ लस्कन्छन् उकालोमा पाँच पदाती ।
हाइकिङ सुरु गरेदेखि नै गाउँले परिवेश सुरु भइसक्छ । बाटोमा छ पँधेरो । कोही पानी भर्दै र कोही नुहाउँदै गरेका देखिन्छन् । कोही रित्ता गाग्रा लिएर पँधेरो धाउँदै गरेका त कोही भरेर घर फर्कंदै गरेका । आफैँले काँधमा गाग्रो बोकेर तीनधारे पानी लिन गएको याद दिलायो त्यो दृश्यले । अलिकति तल त्रिशूली गङ्गा बगिरहेछ । तर के गर्नू ! हामीलाई भने पानीको भयानक दुःख थियो । धन्न पृथ्वीनारायण शाहको पालामा एउटा धारा बनेको रहेछ । नत्र के हालत हुन्थ्यो होला !
सडकलाई छलेर सल्लाघारीको छोटो बाटो समातेका थियौँ । आकाश छुने भइसकेका छन् तीस–एकतीस सालतिर रोपिएका गोब्रे सल्लाका बोटहरू । सुरिला सल्लाका बोटहरूले दिने वनको शोभा छुट्टै । फेरि सुवास उस्तै मिठो र हितकर पनि ।
बाटोभरि कतै सल्लीपिरको डसना ओछ्याइएको त कतै वर्षाले टन्नै लेउ लागेको । भिरालोमा टेक्दा उँभो जाला भन्दा झन् उँधो सथ्र्यो ज्यान । सुविन र राजुको जस्तो छरितो ज्यान भइदिए पो ! आफू परियो पचासी किलोको । लेउ लागेको बाटोमा के थामिन्थ्यो र शरीर । दुई झमट त माटो खाएथ्यो च्यापुले । मुस्किलले जोगियो ज्यान !
सिर्सिरे बतासमा भाका हालिरहेका थिए सल्लीपिरले । तल घट्टेखोलाले पनि अलापिरहेथ्यो भैरवी राग । गोब्रे सल्ला र घट्टेखोलाको दोहोरी सुन्दै उकालिएथ्यौँ हामी ।
राम्रो फोटोग्राफर पनि हुन् राजु र सुविन । उनीहरू हामीलाई थाहा नदिईनदिई फोटो लिइरहेका हुन्थे र पछिमात्र देखाउँथे । आआफ्नै सुरमा भएको बेला उनको मोबाइलमा कैद भएका तस्वीरहरू हेर्दा रमाइलो लाग्दोरहेछ ।
बाटोको अगुवा गर्दै थिए उनै दुईले । म बीचमा र मेरो पाइला पछ्याउँदै थिए माधव र दीपकजी ।
उचाइ लिँदै गर्दा हामीलाई छोडेर लुभु ओरालो झर्दै गरेको भान हुन्थ्यो । त्यस्तै लाग्थ्यो उहिलेउहिले म मामाघर जाने क्रमका बहराफेदीको बाटो भएर किटिनीखानी उक्लिँदा । ढिकुरे र तादी फाँट गहिरिँदै जान्थ्यो । खुर्पे चन्द्रले जस्तै क्षितिजमा उभिएर मुखाकृत देखाउँथ्यो लाङटाङ हिमालले । चाँप भन्ज्याङ पुग्दा पूर्णेको जूनजस्तै देखिन्थ्यो लाङटाङ ।
जाहीजुही, गोदावरी, सयपत्री, बाबरी र बाह्रबजे फूलहरू मुस्कुराइरहेका हुन्थे गाउँघरमा । लाहुरबाट फर्केका लाहुरे र लाहुरेनीका बडेमानका ढाकर बोक्ने भरियाहरू तोक्मामा अडेस लगाइरहेका भेटिन्थे बाटोमा । गाइँगुइँ हल्ला चलेको सुनिन्थ्यो– ‘यसपाली त फलानाकी छोरी पनि फर्किछे बम्बईबाट । अब त त्यसले पनि हाल्ने भयो जस्ता ।’ यसरी घरमा जस्ताको छानो हाल्ने जमाना पनि थियो नुवाकोटमा । विडम्बना !
जन्मेदेखि नै रातोमाटो टेकेको र रातो माटोमै खाइखेली गरेर हुर्केको मान्छे म । रातो माटोमै टेकिरहेथेँ त्यतिबेला । यथार्थमा न्यास्रो मेट्दै थिएँ म रातोमाटोको । सम्झँदै थिएँ म सिमेभूमे गर्ने देउराली । हृदयले आमोदी रक्तसञ्चार गराइरहेथ्यो मभित्र ।
पुगियो रिसाल डाँडो ।
डाँडोको अर्को छेउमा थियो– काशी विश्वेश्वर (शिव) मन्दिर र गणेशमान पार्क । त्यतातिर भने गइएन । सबैको अभिप्राय सीधै गन्तव्यतर्फ लम्कने नै थियो ।
केहीबेर हिँडेपछि बाटैमा भेटिए एकल यात्री । गहुँ गोरो वर्ण, खाइलाग्दो ज्यान, चिम्सा आँखा, हातमा लट्ठी र पछाडि झोला भिरेका । निलो टी–सर्ट र हाफ पाइन्ट लगाएका थिए उनले । उनको छेउ पुग्नेबित्तिकै अभिवादनसहित सम्वाद सुरु गरे उनैले ।
“नमस्ते दजुहरू !”
“नमस्ते !”
“लाँकुरी भन्ज्याङ जाँदै हुनुहुन्छ, होइन ?
“हो ।”
“दुइ‘टा बाटो रै‘छ नि त ! कुन हो कुन । अन्त, तपईंहरूलाई देखेर कुरिबसेको नि ! अन्त, दजुहरू कहाँबाट आउनु भ‘को नि ?”
“काठमाडौँबाट ।”
”तपाईं नि ?”
“म चाहिँ दार्जिलिङबाट हो । लकडाउनअघि आएको, फर्कन पाएकै छैन । अहिले सात दोबाटो बस्छु, दिदीकोमा । लकडाउनले कहीँ निस्कन पाइनँ, हो ! अन्त खुलेको बेला हिँड्देको नि !”
उनलाई हाम्रो एउटा ग्रुप फोटो खिचाउन लागायौँ ।
राजुले बाटो सुझाएपछि एकल यात्री एक्लिए हामीबाट । एउटै भाषा र एउटै भेष छ उनको र हाम्रो । समयले राष्ट्रियतालाई मात्र अलग बनाइदिएको हो । भातृप्रेम टुटेको छैन हामीमा । उनीहरूलाई देख्दा लाग्छ– ‘एउटै राष्ट्रियतामा बाँधिरहन पाए भए….. !’ आफ्नै कान्छी औँला हो नि दार्जिलिङ । कालो साम्राज्यले निलेको निल्यै पारिगो‘त !
“लौ अब खाइदिउँ न त आँप !” हठात् झोलाबाट आँप निकाले र सबैलाई एकुन्टा बाँडे माधवजीले ।
थकाइ मार्ने बहाना खोजेका थिए उनले । सँगसँगै भोक र प्यास दुवै मेटाएथ्यो गुलियो आँपले ।
बीस मिनेट जति उकालिएपछि जम्काभेट भयो पोखरी थुम्कोसित । थुम्कोमै छ– आतिथ्यको ढोका खोल्ने अवस्थामा तम्तयार रहेको नवनिर्मित होटल ‘होटल माउन्ट मोनास्ट्री’ । अग्रज पर्यटन व्यवसायी आङ छिरिङ शेर्पाको लगानी हो यो । गत वसन्तमै सञ्चालनमा ल्याउने कुरो थियो । तर कोरोना आतङ्कले पछाडि धकेली दियो, उनको योजना । कोरोनाले सबैभन्दा मारमा पारेको त पर्यटन व्यवसायलाई नै हो । ‘मर्नू न बहुलाउनू’ पारेको छ । परिस्थितिले साथ दिए आगामी नोभेम्बरमा लन्च गर्ने कार्यक्रम छ क्या रे ! शरद ऋतु त निराशामा परिणत भइहाल्यो । आगामी वसन्त पनि निराशामै धकेलिन के बेर ! पर्यटनको भविष्यप्रति चिन्तित थिएँ म ।
यति ठूलो होटल सञ्चालनमा आउनु भनेको पोखरी थुक्कोको मात्र होइन, सिङ्गो लाँकुरी भन्ज्याङकै र मुलुककै निमित्त सुखद संयोग हो । एकातिर स्थानीयले नै रोजगारी पाउँछन्, राज्यले कर पाउँछ भने अर्कोतर्फ पर्यटन व्यवसायमा लगानी गर्नेहरू बढ्दै जान्छन् । सबैले पाउँछन् प्रत्यक्ष, अप्रत्यक्ष फाइदा । ओझेलमा परिरहेको पोखरी थुम्कोकोे भाउ कहाँ पुग्ने होला ! यति हुँदा पनि मान्छेहरू कुरा बुझ्दैनन् । सुनेको थिएँ– चन्दा माग्ने, बाटो बनाइदेऊ भन्ने, पानीको प्रोजेक्टमा पैसा हाल्देऊ भन्नेहरूको लाम नै लागेको थियो रे । ‘माग्ने’ जस्तो गलत नजीर कसरी बस्यो, बस्यो नेपालमा ।
पोखरी थुम्को (१९०० मिटर) कै बराबर उचाइमा छ– भैरवकुण्ड कुण्ड । मान्छेको दाहिने खुट्टाको आकारको यो कुण्डलाई स्थानीयहरू फूलचोकीको पाउको रूपमा पनि विश्वास गर्छन् । यसैको दक्षिण फेदमा छ– गोमती खोलाको मुहान । त्यसको अलि तल छ– घाटाखोल्सो । घाटाखोल्सो भएरै बग्छिन् गोमती । ऊबेला शृङ्ग ऋषि स्नान गर्न यहीँ आउँथे रे । लाँकुरी भन्ज्याङबाट २० मिनेट पर छ उनको गुफा ।
उनै शृङ्ग ऋषिको कामधेनु गाई चर्दै आउँदा सिङाउरी खेलेर पानी निकाली तिर्खा मेटेकी थिइन् रे । गाईले उत्पत्ति गराएको खोला भएकोले गोमती भनिन थालेछ । गोमती बग्दै गएर मिसिन्छे सिस्नेरी खोलामा । यही दोभानलाई भनिन्छ– गोशृङ्गे तिर्थ । शृङ्ग ऋषिको गुफाबाट बग्ने शृङ्गमती खोला अपभ्रंश हुँदै शृङ्गेरी र पछि सिस्नेरी भनिन थालिएको जनमत पाइन्छ ।
महालक्ष्मी नगरपालिका– ९, ललितपुरका वडा अध्यक्ष वासु गौतमले शृङ्ग ऋषिका बारेमा बताएका थिए–
“महाऋषि विभाण्डक पुत्र थिए शृङ्ग ऋषि । अङ्ग देशका राजा रोमपादसँग जोडिएको रोचक कथा, छ उनको । निःसन्तान थिए रे राजा रोमपाद । उनी एकदिन अयोध्या गएका बेला राजा दशरथले उनलाई आफ्नी छोरी शान्तालाई दिएर पठाएछन् । उनले शान्तालाई स्नेहपुर्वक पालनपोषण गरे । रोमपाद एकदिन छोरीसँग कुरा गरिरहेका बेला कुनै समस्या लिएर एक ब्राह्मण दरबार आइपुगे । तर राजाले कुरा नसुनेपछि उनी चित्त दुखाएर फर्केछन् । उनी परेछन् ईन्द्रभक्त । आफ्नो भक्तलाई गरेको व्यवहारबाट रोमपादसँग ईन्द्र रिसाएकोले पानी पारेनन् रे । उम्रेका बाली भटाभट मर्न थालेपछि सङ्कट आइ‘गो । कसरी पानी पार्न लगाउने त ? ठूलै समस्यामा परे रे रोमपाद । उनी शृङ्ग ऋषिकोमा गएर उपाय सोधे । उनले ईन्द्र प्रशन्न गराउन यज्ञ गर्न सुझाए । शृङ्ग आफैँ राजाकोमा गएर यज्ञ गराइदिए । पानी प¥यो । राजा रोमपादले शान्तालाई शृङ्ग ऋषिसँग बिहे गरिदिए ।”
उनले थपे– “अयोध्याका राजा दशरथलाई पुत्रलाभ भएको थिएन । पछि शृङ्ग ऋषिले नै अश्वमेघ यज्ञसहितको पुत्रकामेष्टी यज्ञ गराए । शृङ्ग ऋषिकै प्रतापले जन्मेका थिए राम, लक्ष्मण, भरत र सत्रुघन । वास्तवमा राम, लक्ष्मणका भिनाजु थिए उनी ।”
उनले महाऋषि विभाण्डक र स्वर्गकी अप्सरा उर्वसीको कथा पनि सुनाए । विभाण्डकको तपले देवताहरूको पनि शक्ति कमजोर हुँदै थियो रे । ईन्द्रकै सत्ता पनि डगमगाइसकेको रहेछ । विभाण्डकको तप भङ् गर्नका लागि उनले उर्वशीलाई पठाएछन् । विभाण्डक स्नान गर्न आएको बेला पारेर उवर्शी तलाउमै पुगिन् । अप्सरालाई देखेपछि विभाण्डकमा तीब्र कामवासना उठेछ । फलतः विभाण्डकको तलाउमै विर्यपात भएछ । लौ खत्तम …..!
ऊ बेला दक्षप्रजापतिको श्रापले हरिणको रुपमा जीवन बिताइरहेकी देवकन्याले पोखरीको पानी पिइन् । हरीण गर्भवती भइन् र जन्माइन् शृङ्गलाई । अन्ततः पापमुक्त भएर स्वर्ग फर्किइन् रे । कस्तो अचम्म ! बच्चा जन्माएपछि स्याहार सुसार चाहिँ गर्नु नपर्ने ! आखिर जालझेल न थियो । एकातिर कन्याको पाप कटनी हुने अर्कोतिर विभाण्डकको तप भङ्ग पनि हुने । क्या ‘सिक्वेन्स’ मिलाउन जानेको !
ईन्द्रको जालमा विभाण्डक नपरेका भए के हुन्थ्यो होला । बाफ् रे ! देवताले पनि आफ्नो सत्ता जोगाउन ठूलै राजनीति गर्दारहेछन् । ठ्याक्कै नेपालको वर्तमान राजनीतिसित मेल खाने ।
०००
कोटगाउँको सुन्दर बस्ती आँखामा लिएर पुग्यौँ लाँकुरी भन्ज्याङ । तेर्पे उकालोमा आधा घण्टा पनि लागेन पोखरी थुम्कोबाट । लाँकुरी भन्ज्याङ पुगेपछि भेटियो मानवबस्ती । यही भन्ज्याङले छुट्टयाउँछ– ललितपुर, भक्तपुर, काभ्रेलाई । ‘ट्राई जङ्क्सन’ त भइहाल्यो, ऊ बेला पूर्वी नेपाललाई राजधानीसित जोड्ने नाका पनि थियो– लाँकुरी भन्ज्याङ ।
२१०० मिटरको भन्ज्याङबाट देखिन्छ– उपत्यकाको सग्लो चित्र । अझ आकाश खुलेको बेलामा त मनासलुदेखि महालङ्गुर हिमशृङ्खलासम्मका उच्च हिमशैलहरू देखाइदिन्छ लाँकुरी भन्ज्याङले । यसैका लागि स्वदेशी र विदेशी पर्यटकहरू धाउँछन् यहाँ ।
फराकिलो छ– चउर । चउरभरि कल्याङमल्याङ गरिरहेका छन् नेपाली पर्यटकहरू । कोही नाचगान गर्दै । कोही खाँदै, पिउँदै । कोही वायुमात्र पनि पिइरहेका छन् । कोही तस्वीर खिच्दै, खिचाउँदै । आआफ्नै तालगाँठीमा थिए त्यहाँ पुगेकाहरू । लाग्थ्यो– लकडाउन खुलेको मौका छोपिरहेका थिए उनीहरू ।
न घाम लागेको थियो न त पानी नै पर्न सकेको थियो । आकाशभरि बादलका फाल्साहरू खेल्दै थिए । लाँकुरी भन्ज्याङमा चकचक गरिरहेका मान्छे र आकाशमा खेलिरहेका बादलहरूलाई एकसाथ हेर्दै थिएँ म । एकतमासले हेरिरहँदा मान्छेहरू बादलजस्ता र बादलका आकृति चाहिँ मान्छेका जस्तै लाग्थे । आकाश र धर्ती दुवैमा मान्छेहरू सल्बलाइरहे झैँ भान हुने । सहयात्रीहरू फोटो सेसनमा व्यस्त हुँदै गर्दा म भने बादलरूपी मान्छे र मान्छेरूपी बादलका अनौँठा चित्रहरू मस्तिष्कमा उतार्दै थिएँ ।
०००
“के सोचिरा‘को हो ! पानी पर्लाजस्तो छ । अब त फकौँ होला !” माधवजी बोले ।
झसङ्ग भएँथेँ म ।
अचम्मकै मौसम छ देवीस्थानको । छिनछिनमा पानी परिरहन्छ । गाउँभन्दा तल हम्मेसी परिहाल्दैन ।
तीन बजिसकेको रहेछ ।
“अघि देवीस्थानमा चरिरहेको कुखुराको भालेतिर आँखा लगाउनु भएको थियो । लाने त एउटा ?” राजुले सोधनी गरे मलाई । “लाने भए लैजाउँ न त ! मौसमले पनि चुनौती दिइरहेको छ ।” मैले भनेँ ।
रमाइलो गर्न त म पनि के कम ! एउटा लोकल भाले किनेर लाने भद्र सहमति भयो हाम्रो ।
हामी फर्कंदा उही ठाउँमा बसेर चुरोटको सर्को तानिरहेका थिए ती युवा । देवीस्थान झर्दै गर्दा उही श्रुतिमधुर आवाज गुन्जियो–
‘सपनामा आइरहन्छु झझल्कोमा तिमी नै
मेरो भन्नू शरीरमात्र ढुकढुकीमा तिमी नै
हामी सँगै बसौँ एक्लै जिउँन गाह्रो भो
तिमीबिना एकपल पनि जिउन नै साह्रो भो …..’
भालेलाई काखीमा च्यापेर देवीस्थान छोड्नै लाग्दा फुटिसकेको थियो बादलको घैला ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij