२०८२ माघ १५ गते बिहिवार
टुप्पैमा पुगेको सत्तारुढ नेकपा एमालेको विवाद मिलाउन अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले बुधबार साँझ होटल मेरियटमा अर्थपूर्ण भेट गरे। साँझ ७ बजेदेखि भएको वार्तालाई राजानीतिक वृत्तमा अर्थपूर्ण मानिएको छ।
२ जेठमा विवाद निरुपणका लागि बनेको कार्यदल भंग भएपछि फुटको डिलमा पुगेको एमालेलाई जोगाउन दोस्रो तहका नेताहरु निरन्तर सक्रिय रहे। उनीहरुको सक्रियताले कार्यदल सोमबार साँझ ब्यूँतिएपछि एमाले एक हुने सम्भावना बढ्दै गएको छ।
पानी बाराबारको अवस्थामा पुगेका ओली र नेपालबीच चपली हाइटमा भेट भएको ५५ दिनपछि पाँचतारे होटलमा मिलन भयो। ओलीले जेठ ८ बिहान दोस्रोपटक प्रतिनिधिसभा विघटन गरेपछि कार्यदल करिब भंग भएको थियो।
५५ दिनअघि चपली हाइटबाट छुटेका यी दुई नेतालाई यसबीचमा एक गराउन दोस्रो तहका नेताहरु सक्रिय थिए। विवाद उत्कर्षमा पुगेर ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने कांग्रेस, माओवादी अभियानमा नेपाल समूह पनि मिसिएको थियो ।
संविधानको धारा ७६(५) अनुसार शेरबहादुर देउवाले प्रधानमन्त्रीका लागि गरेको दाबीमा नेपाल समूहका २३ जना सांसदहरुले हस्ताक्षर गरेपछि विवाद झनै झाँगिएको थियो ।
प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमाथि सर्वोच्च अदालतमा गत सोमबार बहस सकियो। संवैधानिक इजलासमा बहस सकिएलगत्तै सिंहदरबारमा एमाले कार्यदलका सदस्यहरु अचानक भेला हुन थाले । त्यसअघि नेपाल समूहका हार्डलाइनर नेता भीम रावलले आइतबार साँझ बालुवाटार पुगेर प्रधानमन्त्री ओलीसँग एक घण्टा लामो वार्ता गरेका थिए। रावलले ओलीसँग संवाद गरेलगत्तै राजनीतिक तरंग आउने गरी रातारात कार्यदल ब्यूँतियो।
ओलीलाई भेटेपछि एमाले मिलाउन सकारात्मक भएका रावलले कोटेश्वरतर्फको दौडधूप बढाए। ओलीसँगको वार्ताको सन्देश लिएर पुगेका रावलसँग नेता नेपाल कार्यदल फर्काउने कुरामा तयार भए।
नेपाल समूहका तर्फबाट कार्यदलका संयोजक रावलकै सक्रियतामा छलफलले तीव्रता पायो । कार्यदल ब्यूँतिएसँगै विपक्षी गठबन्धनका नेताहरुलाई झस्का परिसकेको थियो। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड त मंगलबार जनकपुरबाट सिधै कोटेश्वरस्थित नेपाल निवास पुगेका थिए । होटल मेरियटको ओली-नेपाल भेटले विपक्षीलाई झनै समस्या बनाइदिएको छ।
विपक्षी गठबन्धनलाई बचन दिएका नेपाल समूहको हस्ताक्षर फिर्ताको मुद्दा यतिबेला पेचिलो बनेको छ। गत शनिबार ७२ घण्टे अल्टिमेटम दिएका ओलीले सहमतिको अन्तिम बिन्दु त्यही हस्ताक्षरलाई बनाएका छन्।
होटल मेरियटमा दुई घण्टा बढी चलेको ओली-नेपाल भेटवार्तालाई अर्थपूर्ण मानिएको थियो। यद्यपि दुई नेताबीच ठोस सहमति जुटेन। मंगलबारबाटै ओली-नेपालले एकताको सन्देश दिनेगरी संयुक्त वक्तव्य जारी गर्ने हल्ला चलेको थियो ।
नेपाल-ओलीसँगै मेरियट होटलमा नेताहरु विष्णु पौडेल, ईश्वर पोखरेल, भीम रावल, सुरेन्द्र पाण्डे लगायत पुगेका थिए। मेरियट पुगेका नेता खिमलाल भट्टराईले हिजै संयुक्त वक्तव्य आउने बताएका थिए। यद्यपि बैठक सकिएपछि सहमति भइनसकेको भन्दै नेताहरु बाहिरिए।
बैठकपछि नेता पौडेलले पनि केही विवरण खुलाएनन्। विवाद मिलाउन सक्रिय नेता रावलले भने सकारात्मक दिशामा अगाडि लैजाने काम भएको बताए । ‘कार्यदलबाट कुराकानी गरिरहेको यहाँहरुलाई थाहा छँदैछ, शीर्ष नेताहरुबीच कुराकानी भयो । सकारात्मक दिशामा कसरी लैजाने भन्नेमा कुराकानी भइरहेको छ,’ उनले सञ्चारकर्मीसँग भने, ‘फेरि कुराकानी हुनेछ । कुराकानीलाई गहिराइमा लानुपर्ने महसुस भएको छ। फेरि पनि कुराकानी गर्ने छौँ । जति पनि वार्ता भइरहेको छ, समस्या समाधानका लागि भइरहेको छ ।’
त्यस्तै, मेरियटमा अर्का नेता सुरेन्द्र पाण्डेले वार्ता सकारात्मक भएको र फेरि भेट हुने बताए । उनले भने अनुसार बिहीबार पुनः कार्यदलको बैठक बसेको छ। उक्त बैठकपछि नेता गोकर्ण विष्टले सहमति नजिक पुगेको भन्दै अब टुंगो लाग्ने दाबी गरे।
स्रोतका अनुसार दुई नेताबीच सहमति भए हिजै संयुक्त वक्तव्य जारी गर्ने तयारी भएको थियो। कार्यदल सक्रिय भएसँगै एकाएक मिल्ने दिशातर्फ गएको नेताहरुले सार्वजनिक रुपमा बताउँदै आएका थिए ।
मेरियट जानुअघि नै कार्यदलमा छलफल भएको मस्यौदाबारे छलफल भएको थियो। छलफलमा मुख्य रुपमा अबको अध्यक्ष माधव नेपाललाई बनाउनेगरी प्रस्ताव अघि सारिएको जनाइएको छ । यसमा ओली भने सकारात्मक नभएकाले निष्कर्षविहीन भएर मेरियटबाट उठ्नुपरेको नेताहरुको बुझाई छ ।
लगभग ‘राजनीतिक’ डिभोर्स गरिसकेका एमाले ओली-नेपालबीच भएको अर्थपूर्ण भेटघाटले एमाले विवाद आजै किनारा लाग्ने धेरैको बुझाइ पनि थियो । तर, कार्यदलमा अझै यसबारे छलफल आवश्यक भएको भन्दै नेताहरु छलफलबाट उठेका छन्। 'के अबको महाधिवेशनपछिको अध्यक्ष म हो ?’, भन्दै आजको भेटघाटमा नेपालले ओलीलाई सोधेका थिए। तर, ओलीले यसबारे अझै कार्यदलमा छलफल हुनुपर्ने बताएका थिए ।
ओलीले नेपाललाई निःशर्त एमालेमा फर्किन नेपाललाई आग्रह गरेका थिए। तर नेपालले भने शर्तसहित एकता नहुने अडान लिएका थिए। उनले बरु 'पावर सेयरिङ' गरेर अघि बढ्नुपर्ने बताएका थिए। तर ओलीले तत्कालै पावर सेयरिङ गरेर जान नसकिने बताएका थिए। ओलीले बैठकमा देउवालाई दिएको हस्ताक्षर फिर्ताको अडान लिइरहे भने नेता नेपालले त्यो ठूलो कुरा नभएको बताउँदै लोकतन्त्रविरोधी गतिविधि सच्याए सबै मिल्ने बताएका थिए।
ओलीले यसअघि नेता नेपाल पक्षलाई सहभागी नगराई पार्टीको दशौँ महाधिवेशन मंसिरमा गर्ने निर्णय लिइसकेका छन्। तर अब पार्टी २०७५ जेठ २ मा फर्किने निर्णय भएसँगै महाधिवेशनको नयाँ मिति तय हुनेछ। आज फेरी ७ बजे कार्यदलको बैठक छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij