Logo

२०८२ फाल्गुण ३० गते शनिवार

२०८२ फाल्गुण ३० गते शनिवार

करदातालाई जागरुक बनाउन ‘आनसुकी घरबेटी बा’ सडक नाटक

करदातालाई जागरुक बनाउन ‘आनसुकी घरबेटी बा’ सडक नाटक


  • 4.3K
    Shares

    करदातालाई जागरुक बनाउन ‘आनसुकी घरबेटी बा’ सडक नाटक

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाले करदाता सचेतना अभियानलाई प्रभावकारी बनाउन आजबाट ‘सडक नाटक’ सुरु गरेको छ । पहिलो चरणमा काठमाडौँ क्षेत्र भित्रका १० स्थानमा सडक नाटक देखाउने काठमाडौँ महानगरपालिका राजस्व विभागका प्रमुख डाक्टर शिवराज अधिकारीले जानकारी दिनुभयो । ‘करदातालाई दबाब दिएर होइन कर तिर्नु नागरिक दायित्व हो र करमा आनासुकीको पनि महत्व हुन्छ भन्ने सकारात्मक सन्देशसहित आनासुकी घरबेटी बा ‘सडक नाटक’ सुरु गरेका हौँ,’ अधिकारीले भन्नुभयो, ‘कर तिर्ने वातावरण सिर्जना होस भन्ने हेतूले काठमाडौँ महानगरपालिकाले करदाता सचेतना अभियानलाई प्रभावकारी बनाउन पहिलो चरणमा हामी काठमाडौँ क्षेत्र भित्रका वसन्तपुर, कालिमाटी, कलंकी, चावहिल, गौसाला, नयाँबानेश्वरलगायतका विभिन्न १० स्थानमा सचेतनासहित सडक नाटक गर्छौ ।

    प्रभावकारी भयो भने स्थानहरु थप गर्ने तयारी छ ।’ अधिकारीले कोभिडका कारण चालु आर्थिक वर्षमा राजश्व संकलनको प्रक्षेपण नै कम गरेको भन्दै प्रक्षेपण अनुरुप कर संकलन गर्ने उदेश्यले यस्तो अभियान सञ्चालन गरेको जानकारी दिनुभयो । ‘यस्तो महामारीका बेला करदातालाई दबाब दिने भन्दा पनि सचेतनामुलक अभियान सञ्चालन गरेर राजश्व असुली गर्ने उदेश्य अनुरुप यसो गरेका हौँ,’ उहाँले भन्नुभयो, ‘हामीले यस अघि पनि आर्थिक कारोबार बढी हुने क्षेत्रका बजारको अनुगमन गरेका थियौँ । कर तिर्नेलाई धन्यवादपत्र र नतिर्नेलाई के–कारणले कर तिर्न सम्भव भएन भनी जानकारी गराउन सबै विवरणसहित विभागमा हाजिर हुने पत्र थमाएका थियौँ ।’ विभागका प्रमुख अधिकारीले करदातालाई जागरुक बनाउन काठमाडौँ महानगरपालिकाले इतिहासमै पहिलो पटक ‘सडक नाटक’ अभियान सञ्चालन गरेको जानकारी दिनुभयो ।

    ‘नाटक करीब २० मिनेटको हुन्छ । पहिलो चरणमा आर्थिक कारोबार बढी हुने क्षेत्रका बजारमा नाटक देखाउछौँ,’ उहाँले भन्नुभयो, ‘हामीले नाटकमा करदातलाई जागरुक गराउन र तपाईँहरुले राज्यलाई तिर्ने करको सदुपयोग कसरी हुन्छ भन्ने देखाउन प्रहशनको पनि व्यवस्था गरेका छौँ ।’ करीब २० मिनेटको नाटकमा घरधनीलाई बहाल नतिरी भाग्ने भाडाको घर वा कोठामा बस्नेलाई खोजी भाडा उठाउन हिडेको घरबेटी जसले महानगरलाई कर नतिरेका कारण आफैँ कानुनको परिबन्दमा परेको कथा नाटकमा देखाइएको अधिकारीले जानकारी दिनुभयो । ‘कर केही समय छल्न सकिन्छ । तर, कुनै न कुनै दिन कानुनको फन्दामा परिन्छ,’ कथाको सन्देशबारे अधिकारीले भन्नुभयो, ‘कानुनी कारवाहीमा पर्ने त्यो समय आउनु अघि थोरै–थोरै कर तिर्दै गए सम्मानजनक जीवन बाँच्न सकिने नाटकले देखाउन खोजेको सन्देश हो ।’

    उहाँले कोभिडका कारण यो वर्ष व्यवसाय करमा २० प्रतिशत र होटल, मनोरञ्जनसँगै पर्यटनसँग सम्वन्धित क्षेत्रलाई ५० प्रतिशत छुट दिएको जानकारी दिनुभयो । ‘होटल, मनोरञ्जनसँगै पर्यटनसँग सम्वन्धित क्षेत्रलाई हामीले असारसम्म नै छुट दिएका छौँ,’ उहाँले भन्नुभयो, ‘सम्पत्ति करमा १० प्रतिशत छुट दिएका छौँ । त्यो चैत मसान्तासम्म मात्रै हो । सम्पत्ति करमा पनि होटललाई असारसम्म ७५ प्रतिशत छुट दिएका छौँ ।’ उहाँले बहाल करमा कोभिडका बेला एक महिना घरभाडा छुट दिएका घरधनीलाई असारसम्म करमा १० प्रतिशत छुट दिएको पनि जानकारी दिनुभयो ।

    प्रकाशित मिति :बैशाख ३ २०७८ शुक्रवार - १६:४४:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij