२०८२ माघ १५ गते बिहिवार
नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक बालुवाटारमा सुरु भएको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक निर्धारित समयभन्दा झन्डै डेढ घण्टा ढिलो गरी सुरु भएको हो ।
बैठक टेन्टभित्र बसेको छ । प्रधानमन्त्रीको सरकारी निवास परिसर बालुवाटारभित्रै खाली स्थानमा टेन्ट राखेर बैठक गरिएको हो । अरु बेला सवारी–साधन पार्किङ गरिने स्थानमा आज टेन्ट राखिएको हो ।
कोरोना महामारी र स्थान अभावका कारण खुला ठाउँमा बैठक गरिएको बुझिएको छ । एमाले केन्द्रीय कमिटी २४१ सदस्यीय रहेको छ । त्यसमध्ये खनाल–नेपाल समूहले बैठक बहिष्कार गरेको छ । बामदेव गौतम भने बैठकमा पुगेका छन्। ओली पक्षका सबै सदस्य बैठकमा सहभागी भएका छन्।
केही महिना यता नेपाल कम्युनिस्ट पार्टी (एमाले)मा देखिएको विवाद तत्काल मत्थर हुने सम्भावना देखिँदैन । पछिल्ला दिनमा पनि एमालेका दुई समूह अध्यक्ष केपी शर्मा ओली समूह र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरु बारम्बार भेटघाटमा व्यस्त छन् ।
यसरी भेटघाटमा व्यस्त भएका नेताहरु एमालेलाई एक बनाउनुको विकल्प नभएको तर्क गरिरहेका छन् । तर, उनीहरुले जे जस्तो तर्क गरे पनि अहिलेसम्म यो पार्टीमा देखिएको फुट तत्काल समाधान होला भन्ने देखिँदैन ।
दुई समूहका नेताहरुमा देखिएको यो फुटलाई एक बनाउन लागिपरेका दोस्रो तहका नेताहरु बुधबार मात्र पनि विहानै देखि छलफलमा जुटेका थिए । उनीहरु बुधबार अबेर साँझसम्म ललितपुरको एक होटलमा छलफलमा व्यस्त थिए । तर, यसको कुनै निष्कर्ष निस्किएन । बुधबारको छलफललाई उनीहरुले बिहीबारका लागि पनि निरन्तर अगाडि बढाएका थिए ।
अर्कोतिर बुधबार नै ओली समूहको स्थायी कमिटी बैठक बसेको थियो । बैठकले १८ जेठ अर्थात् आज शुक्रबारका लागि केन्द्रीय कमिटीको बैठक बोलाएको छ । बैठक सुरु समेत भएको छ।
अर्कोतिर २ जेठ २०७५ मा एमालेलाई फर्काउने भन्दै ओली समूहले लिएको यो निर्णय ‘नयाँ प्रोडक्ट नभएर नयाँ र्यापर’ मात्र भएको नेपाल समूहका नेताहरुले नै आरोप लगाउन थालेका छन् ।
दोस्रो तहका नेताहरुले व्यापक रुपमा एकताको पक्षमा आवाज उठाइरहँदा पनि एमालेमा ओली र नेपाल फेरि एकै ठाउँमा देखिने सम्भावना अझ कम हुँदै गएको छ । हो, नेपाल समूहका केही नेताहरुले अहिले विभाजनको सम्भावना टर्दै गएको बताउन थालेका छन् । ‘तर, उहाँहरुका माग र उहाँहरुले पार्टीप्रति देखाएको असहिष्णु व्यवहारले झन् समस्या पार्दै गएको छ,’ ओली समूहका एक प्रभावशाली नेताले बताए ।
के यसको अर्थ अब ओली र नेपालको एकता सम्भावना टरेको हो त ?
हामीले यही प्रश्न तत्कालीन एमालेका प्रमुख सचेतक तथा पूर्वगृहमन्त्री खगराज अधिकारीलाई सोध्यौँ । अधिकारीले भने, ‘राजनीतिमा कुनै पनि सम्भावना अहिले नै टरिसकेको हो भन्न मिल्दैन ।’
उनले एमाले एक हुनु पर्ने आजको आवश्यकता भएकाले ओली र नेपालमा केन्द्रित नभएर एमाले एक बनाउनु पर्ने पक्षमा बहसको थालनी भइसकेको र यो बहसलाई सही दिशामा लैजानु पर्ने आजको आवश्यकता भएको पनि बताएका छन् ।
‘पछिल्लो समय दुई नेता वा नेता विशेषका अभिव्यक्ति के आएका हुन् भन्नेले खास अर्थ राख्दैन, एमाले एक हुनु पर्ने अहिलेको समयको माग मात्र होइन, कम्युनिस्ट आन्दोलनलाई कहाँ र कसरी हामीले लैजाने भन्ने निर्धारण गर्ने आवश्यकता पनि हो,’ उनले भने, ‘अनि सबैभन्दा महत्वपूर्ण कुरा त एमालेलाई विधिवत रुपमा लैजानु पर्छ भन्ने हो, त्यो प्रक्रिया सुरु भइसकेको छ । प्रक्रियामा समावेश हुन एउटा व्यक्तिले आफ्नो कारण देखाउनु हुँदैन ।’
अधिकारीले इंगित गरेको यो प्रसंग थियो, बुधबार ओली पक्षको बैठकबारे । यसअघि सर्वोच्च अदालतले ओलीले गठन गरेको महाधिवेशन आयोजक कमिटी अवैधानिक हुने फैसला गरिदिए पछि बुधबार बसेको ओली समूहको स्थायी कमिटी बैठकले शुक्रबारका लागि केन्द्रीय कमिटी बैठक मात्र बोलाएन, यसअघि बनाएका सबै संरचनालाई खारेज गर्दै २ जेठ २०७५ को अवस्थामा एमाले पुर्याएको निर्णय पनि गर्यो ।
‘नेकपा एमालेलाई विधिवत रुपमा हामीले अगाडि बढाउनु पर्छ भन्ने पहिले देखि नै भन्दै आएका हौँ,’ अधिकारीले भने, ‘अदालतको फैसला पनि विधिवत रुपमा एमालेलाई अगाडि लैजानु भन्दै आएको छ । त्यसैले पार्टीमा विधिविधान मान्दिनँ भन्ने कुरा हुँदैन, विधिअनुसार सबै अगाडि बढ्नु पर्छ ।’
नेकपा एमाले अहिले देशको सबैभन्दा ठूलो दल भएकाले पनि अदालतका फैसला आफूहरुले मान्ने र देशमा विधिलाई मान्यता दिन अगाडि बढ्ने अधिकारीले बताएका छन् ।
‘अब अदालतले भनेका कुरा हामी मान्दैनौँ भन्ने हुँदैन,’ अधिकारीले भने, ‘देशको सबैभन्दा ठूलो दलले देशमा विधि तथा कानुन स्थापित गर्नका लािग पनि काम गर्नुपर्छ, त्यही अनुसार हामी अगाडि बढ्नु पर्छ ।’
तर, यो सब प्रक्रियाले के एमालेमा ओली र नेपाललाई एउटै पार्टीभित्र ल्याउन सम्भव होला त ?
यो प्रश्नमा पनि अधिकारीले सम्भावनाको कुरालाई राजनीतिमा एउटा निश्चित परिभाषामा केन्द्रित गर्न नहुने बताए । उनले भने, ‘राजनीतिमा सम्भव र असम्भव भन्ने त के नै हुन्छ र ?’
अनि उनले जोडे, ‘उहाँहरुले भनेका सबै कुराहरु हामीले मानिसकेका छौँ, उहाँहरुले भनेका सबै कुरा पार्टीले मानिसकेको छ । अब उहाँहरु एमालेमा नआउने भन्ने प्रसंग कहाँबाट आउँछ ?’
माधवकुमार नेपाल समूहले राखेका सबै सर्त ओली समूहले मानिसकेकाले पनि अब माधवकुमार नेपाल समूह पार्टीमा एक हुन आउनुको विकल्प नभएको अधिकारी दाबी गर्छन् ।
‘यस्तो अवस्थामा पनि उहाँहरु एक हुन्न भन्नुहुन्छ र आउनुहुन्न भने उहाँहरु एकता विरोधी भएको प्रष्ट हुन्छ,’ अधिकारीले भने, ‘त्यसका लागि उहाँहरुले महंगो मूल्य चुकाउनु पर्ने हुन्छ, त्यसका लागि उहाँहरु तयार हुनुपर्छ ।’
नेपाल समूह एकताको पक्षमा होइन भने त्यो समूहले जनतालाई जवाफ दिनु पर्ने पनि अधिकारीले बताए ।
‘पार्टीको महाधिवेशन यथा समयमा गर्नु पर्ने छ,’ अधिकारीले भने, ‘त्यसैले अब विलम्ब गर्नु हुँदैन, पार्टीलाई एक बनाएर अगाडि लैजानु पर्छ ।’
एकातिर अधिकारी अहिले पार्टी एक बनाउनुको विकल्प नभएको बताउँछन् भने अर्कोतिर नेपाल समूहले ओली समूहका कामहरु आफूहरुलाई षडयन्त्रमा पार्न खोजिएको आरोप लगाउँदै आएका छन् । पछिल्लो समय ओली र नेपालबीच चर्को विवाद बढ्दै गर्दा यी दुवै समूहले आफ्ना मातहतका संगठनहरु मात्र होइन, पार्टीकै समितिहरु पनि अलग अलग बनाएका छन् । अब एकता हुँदा यसलाई कसरी समायोजन गर्ने भन्ने विषयमा पनि यी दुई समूहबीच कुराकानी मिलेको छैन ।
त्यसैले अब ओली र नेपालको एकता जटिल र असम्भव भइसकेको तर्क गर्नेहरु पनि छन् ।
‘मिलाउने हो र पार्टी दीर्घकालीन रुपमा एक बनाएर लैजाने हो भने असम्भव भन्ने केही छैन,’ एमालेका केन्द्रीय सदस्य तथा माधवकुमार नेपाल पक्षका नेता ठाकुर गैरेले भने, ‘अहिलेसम्म भएका विभिन्न विषयको मूल्यांकन तथा समीक्षा गरेर सम्झौता गर्ने हो भने पार्टी एक हुन सक्छ, तर दुवै पक्षले किन सम्झौता गर्ने भन्ने सोच्न थालेको खण्डमा एकता सम्भव छैन ।’
उनले संगठनात्मक एकीकरणको सहमति गरेर समग्र पार्टी मिलाउने बाटो तय गर्दा पार्टी एक हुने सम्भावना अहिले पनि रहेको बताएका छन् ।
‘अब पार्टीलाई कता लैजाने भन्ने कुरा पार्टी अध्यक्षको हातमा छ,’ उनले भने, ‘एकता हुने हो भने उहाँको जिम्मेवारपूर्ण भूमिका आवश्यक छ ।’
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij