२०८२ माघ १५ गते बिहिवार
सत्तारुढ नेकपा एमालेको संस्थापन पक्षले पार्टी एकताका लागि भन्दै बुधवार दशौं महाधिवेशन आयोजक कमिटीलाई भंग गर्दै केन्द्रीय कमिटीमा रुपान्तरण गरेको छ। जसलाई उनीहरुले २०७५ जेठ २ कै केन्द्रीय कमिटी ब्युँताइएको रुपमा दाबीसमेत गरेका छन्।
तर असन्तुष्ट पक्षले यसलाई नस्वीकार्ने बताएकाे छ। किनकि, बुधवारको बैठकले जेठ २ मा नभई २०७७ फागुन २८ मा फर्कने निर्णयमात्र गरेको उनीहरुको बुझाइ छ।
उक्त समूहका नेता र बुधवारमात्र स्थायी कमिटी सदस्यमा मनोनित बेदुराम भुसालका अनुसार जेठ २ को केन्द्रीय कमिटीको संरचनामा २०३ जना सदस्य रहेको भए पनि बुधवार ब्युँतिएको केन्द्रीय कमिटीमा २६१ जना छन्। जहाँ पूर्वमाओवादीबाट फर्किएका २० जनालाई समावेश गरिएको छ भने एमाले-मावओवादी एकीकरण हुने भएपछि थपिएका ३८ जनासमेत रहेका छन।
‘जेठ २ मा रामबहादुर थापाहरु एमाले हुनुहुन्थ्यो कि माओवादी हुनुहुन्थ्यो? एमालेको विधानले २०३ भन्दा बढी केन्द्रीय सदस्य राखेकै छैन। नवौं महाधिवेशनबाट २०३ जना निर्वाचित भएका हुन्। जेठ ३ मा एकीकरण हुने हुँदा एमालेबाट ३८ जना एमालेबाट केन्द्रीय कमिटीमा थपिएको हो। तर एकता नै खारेज भएपछि त्यो पनि रहेन। जेठ २ मा फर्किने हो भने एकतापूर्वकै संरचना हुनुपर्छ। अबैधानिक ढंगले बनाइएको कमिटीबाट थपिएका सदस्यसहितको केन्द्रीय कमिटी मान्दैनौं,’ भुसालले भने।
तर संस्थापन पक्षले भने आफूहरुले असन्तुष्ट पक्षको मागबमोजिम नै केन्द्रीय कमिटी ब्युँताएको बताएको छ। र ११ जना नेतामाथि गरिएको कारबाहीले पनि त्यही संकेत दिएको उनीहरुको दाबी छ। तर असन्तुष्ट पक्ष भने केन्द्रीय कमिटी ब्युँताउनु तँ रोए जस्तो गर, म कुटे जस्तो गर्छु भन्ने उखानजस्तो मात्र रहेको बताएको छ।
‘गरे जस्तो पनि गर्ने । पछि मानेन भने केन्द्रीय कमिटीबाट फेरि सबैलाई एकमुष्ट कारबाही गर्ने योजना देखिन्छ,’माधव नेपाल समूहका एक केन्द्रीय सदस्यले भने,’अदालतले महाधिवेशन आयोजक कमिटीले गरेको कारबाहीलाई बैधता नदिएपछि रचिएको प्रपञ्चबाहेक यो केही होइन।’
उनका अनुसार आफूहरुका मागमा पूर्व माओवादीका कुनै पनि नेता समावेश हुनुहुँदैन। ‘जेठ २ मा फर्किएपछि त्यही कमिटीको बैठक बसेर अन्य पार्टीका नेताहरुलाई एमालेमा ल्याउने काम गर्दा हाम्रो कुनै विरोध रहन्न। तर जेठ २ मा फर्किनुअघिनै पूर्वमाओवादीका साथीहरुलाई राखिनुले अध्यक्ष कमरेड फागुन २८ बाट टसमस नहुने प्रष्ट भएको छ, बुधवारका निर्णय आम कार्यकर्ताका आँखामा धुलो छर्नमात्र हो,’एक केन्द्रीय सदस्यले भने।
ती सदस्यका अनुसार अब बिहीवार शीर्ष नेताहरुको बैठक बसेर आवश्यक निर्णय लिनेछ। ‘बिहीवार हाम्रो समूहमा रहनुभएका स्थायी कमिटी सदस्यहरु छलफलमा बस्दै हुनुहुन्छ। उहाँहरुले यस विषयमा आफ्नो आधिकारिक धारणा पनि सार्वजनिक गर्नुहोला,’ती सदस्यले भने,’तर जसरी सानो बच्चालाई ललिपप लेखाएर भुल्याउन खोजेजस्तो अध्यक्षले हामीसँग गरिरहनु भएको छ, यसले राम्रो सन्देश दिएन।’
एमालेले माओवादी केन्द्रसँगको एकतापुर्वको केन्द्रीय कमिटीको बैठक असार १८ गते आव्हान गर्ने निर्णय गरेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij