२०८२ भाद्र १० गते मंगलवार
काठमाडौँ । प्रतिनिधिसभा विघटनम्बन्धीको बहसमा सहभागी हुँदै वरिष्ठ अधिवक्ता शम्भु थापाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई सम्माननीय नभने प्रधानमन्त्री केपी ओली रिसाउने टिप्पणी गरेका छन्।
संवैधानिक इजलासमा भइरहेको बहसमा थापाले यस्तो टिप्पणी गरेका हुन्। थापाले भने, ‘राष्ट्रपतिप्रति मेरो पूर्ण सम्मान छ, शब्दैपिच्छे सम्माननीय भनिरहनु पर्दैन। प्रधानमन्त्री, राष्ट्रपति दुवैप्रति मेरो पूर्ण सम्मान छ। बीचमा राष्ट्रपति नहुँदा पनि देश चलेकै हो।’
राष्ट्रपति र प्रधानमन्त्रीले पदमा आफ्नोमात्रै एकलौटी अधिकार छ भनेजस्तो गरेको आरोप थापाले लगाए। ‘प्रधानमन्त्री र राष्ट्रपतिले खुबै मिलेर काम गर्नुभएको छ। संविधानमा नभएको गैरकानुनी काम गरिरहनु भएको छ।
संविधानको पालना नगर्ने भए संविधान नै बनाउनु नपर्ने थापाले बताए। प्रधानमन्त्रीमा शेरबहादुर देउवाको दाबी पुगेको भए पनि राष्ट्रपतिले इन्कार गरेको जिकिर उनको थियो। थापाले भने, ‘१४९ जना सांसदको हस्ताक्षर छ, योभन्दा बढी प्रमाण, आधार ले चाहियो?’
वरिष्ठ अधिवक्ता थापाले बहुमत सदस्यको हस्ताक्षर बुझाउँदा पनि नहुने, फलानो पार्टीको यता लाग्यो भनेर दाबी पुगेन भन्ने, जनताको प्रतिनिधिलाई यो हुन्न त्यो हुन्न भन्ने राष्ट्रपतिलाई ‘हु आर यु’ भन्दै प्रश्न गरे। उनले भने, ‘विश्वासको मतको आधार के हो? सबैलाई बताइदिनुस्। बहुमत सदस्यको हस्ताक्षरलाई मान्यता नदिनु राष्ट्रपतिको संविधानविपरीत काम हो।’
विश्वासको मत नपाएर अल्पमतमा परेको प्रधानमन्त्रीलाई फेरि नियुक्त गर्ने चलन संसारमा कहिँ नभएको बताउँदै थापाले विश्वासको मत नपाएपछि प्रधानमन्त्रीको पद स्वतः समाप्त हुने बताए। ‘संसदमा अल्पमतमा परेको प्रधानमन्त्री कसरी पुनः नियुक्त हुन सक्छ?’ उनले प्रश्न गरे।
संविधानमा राष्ट्रपति स्वतन्त्र हुनुपर्छ भनेर लेख्ने तर व्यवहारमा पार्टीको झण्डा बोक्ने भन्दै थापाले राष्ट्रपति भण्डारीको आलोचना गरे। ‘राष्ट्रपतिलाई संविधानको संरक्षक भन्ने अनि उनैले संविधानविपरीत काम गर्ने भइरहेको छ। राष्ट्रपतिले संविधानको पालना कसरी गर्नुभयो? संविधानको संरक्षण कसरी गर्नुभयो?’ थापाले प्रश्न गरे।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij