२०८२ भाद्र ९ गते सोमवार
काठमाडौं । काठमाडौं उपत्यकामा एसिड आक्रमणमा परेकाहरुको उपचारका लागि ४ वटा अस्पताल तोकिएका छन् । उपत्यकामा रहेको यी ४ अस्पतालमा अब एसिड आक्रमणमा परेकाहरुको निःशुल्क उपचार हुने भएको छ ।
जेठ २९ गतेको मन्त्रिपरिषदको बैठकले पारित गरेको ‘एसिड आक्रमणमा परेका पीडितहरुको उपचार सम्बन्धी कार्यविधि २०६८’ मा अस्पतालहरुलाई तोकेको थियो । जसअनुसार काठमाडौंमा ३ र ललितपुरको १ अस्पताल उपचारका लागि तोकिएका हुन् ।
काठमाडौंमा त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल र कीर्तिपुर अस्पताल तथा ललितपुरको पाटन अस्पतालमा निःशुल्क उपचार हुनेछ ।
पीडितको उपचारमा लाग्ने खर्च सरकारले नै व्यहोर्ने छ। अस्पताललाई उपचारबापतको सोधभर्ना भुक्तानी स्वास्थ्य मन्त्रालयले गर्ने छ।
उक्त कार्यविधिमा एसिड आक्रमणमा परेका पीडितको कस्मेटिक उपचार बाहेकको अन्य एसिड आक्रमणसँग सम्बन्धित सम्पूर्ण आवश्यक उपचार तथा औषधि खर्च सरकारले आजीवन वेहोर्ने जनाइएको छ।
यस्तै स्वास्थ्य संस्थाहरुले पीडितको उपचार सेवा र बिरामीको अवस्था अनुसार उपयुक्त शय्यामा राखेर गर्नुपर्ने उल्लेख छ।
पीडितहरुले आजीवन लगाउनु पर्ने मल्हम हरेक ६ महिनाका लागि डेडिकेटड अस्पतालले नै प्रदान गर्नुपर्ने, पीडित अस्पतालमा रहँदासम्म पीडित र उनका एक जना कुरुवालाई दैनिक खानाका लागि रु दुई सयका दरले प्रति व्यक्ति प्रति दिन तीन पटक खुवाउनुपर्ने, रेफर भएर आउँदा एम्बुलेन्सको खर्च पनि पीडितले तिर्न नपर्ने लगायतका व्यवस्था कार्यविधिमा गरिएको छ।
स्वास्थ्य मन्त्रालयले मन्त्रिपरिषदको २०७७ भदौ २९ को आदेश अनुसार उक्त कार्यविधि बनाएको हो।
हेरौं कार्यविधि
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij