२०८३ कार्तिक १९ गते बिहिवार
काठमाडौं । नेपाल बार एशोसिएशनका अध्यक्ष वरिष्ठ अधिवक्ता प्रा. डा. विजयप्रसाद मिश्रले न्यायाधीशलाई मेलमिलापकर्ताको जिम्मेवारी दिन नमिल्ने बताएका छन् ।
कानून, न्याय तथा मानव अधिकार समितिमा बिहीवार मेलमिलाप सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथिको छलफलमा उहाँले जिल्ला न्यायधीशलाई मेलमिलापकर्ता बनाउने प्रश्तावप्रति आपत्ति जनाएका हुन् । न्यायधीशलाई मेलामिलापकर्ता बनाउने व्यवस्था संवैधानिक प्रावधान र न्यायिक स्वतन्त्रताको सिद्धान्तविपरित हुने उनको बताएका छन् ।
न्यायाधीशलाई न्यायिक कामबाहेक अन्य जिम्मेवारीमा लगाउन नमिल्ने उनले स्पष्ट पारेका छन् । न्यायाधीशलाई मेलमिलापकर्ताको भुमिकामा राख्ने प्रश्ताव नेपाल बारले अस्वीकार गर्ने उनको भनाई छ । न्यायाधीशको भुमिका विवादमा पक्ष बन्ने नभई कानून, प्रमाण र दुवै पक्षले पेश गरेका तथ्यका आधारमा निष्पक्ष निर्णय गर्ने रेफ्रीको रहेको उनले बताएका छन्।
न्यायाधीशलाई न्यायिक कामबाहेक अन्य जिम्मेवारीमा खटाउने विषयमा विगतमा पनि संवैधानिक र कानुनी प्रश्न उठिसकेको उनले स्मरण गराएका छन् । मध्यस्थता (आर्बिट्रेसन) मा न्यायाधीशलाई संलग्न गराउने विषयमा सर्वोच्च अदालतसम्म विवाद पुगेको उल्लेख गर्दै उनले न्यायिक निष्पक्षतामा असर पर्ने भएकाले यस्तो अभ्यास उपयुक्त नहुने बताएका छन् ।
उनले भने, न्यायाधीशको रोल भनेको रेफ्रीको मात्रै हो । ट्रुथ फाइन्डिङ गर्ने काम सरकारी वकिलको फौजदारी मुद्दामा हो । देवानी मुद्दामा पक्ष आफैले जसले मुद्दा लान्छ, त्योभन्दा बढी रोल संविधानले दिएको देखिएन । न्यायाधीश भनेको एकदमै सबैबाट आइसोलेटेड भएर तथ्य तथ्य विवेक, कानून, प्रमाण, मुद्दामा जुन पक्षले जे ल्याउँछ, त्यो अनुसार विवेक बोल्ने प्राणी हो । यो एक्टिभ न्यायाधीश प्लेयर होइन । यो रेफ्री हो । रेफ्रीलाई प्लेयर बनाउने काम गर्न हुँदैन । संविधानको फन्डामेन्टल प्रिन्सिपलहरूलाई भत्काएर, बिगारेर मैले चेन्ज गरेँ भन्ने हिसाबले अघि बढ्ने भन्ने कुरा ठीक छैन । यो न्यायिक काम होइन । न्यायिक काम नभएको कुरामा प्रधानन्यायाधीशले तोक्न पनि सक्नुहुन्न ।’
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij